सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । आयोगको आज बसेको बैठकले अन्तिम मतदाता नामावली प्रकाशन गर्ने निर्णय गरेको आयोगकी सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिएकी छन् । आयोगले प्रकाशित गरेको नामावली अनुसार महिला मतदाता ८९ लाख १० हजा ८९६, पुरुष मतदाता ९२ लाख ३७ हजार ५७२ अन्य मतदाता १८६ गरी १ करोड ८१ लाख ४८ हजार ६५४ मतदाता कायम भएका छन् । यसअघि २०८१ ७ २६ गते प्रकाशित मतदाता नामावली अनुसार महिला मतदाता ८९ लाख ३ हजार १९७, पुरुष मतदाता ९२ लाख २५ हजार ४४८ अन्य मतदाता १८७ गरी जम्मा १ कराड ८१ लाख २८ हजार ८३२ मतदाताको अन्तिम मतदाता नामावली कायम भएको थियो । यसअघि प्रकाशित मतदाता नामावलीभन्दा आज प्रकाशित मतदाता नामावलीमा अन्य मतदाता एक जना घटी १८६ कायम भएका छन् । महिला मतदाता ७ हजार ६९९ र पुरुष मतदाता १२ हजार १२४ थप भई भएका छन् । अघिल्लो पटकको तुलनामा यस पटक १९ हजार ८२२ जना मतदाता थप भएका छन् । मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ बमोजिम २०८१ चैत मसान्तसम्ममा १८ वर्ष उमेर पूरा भएका नागरिकहरूको विवरणलाई मतदाता नामावलीमा समावेश गरिएको छ । अनलाइन तथा निर्वाचन कार्यालयमार्फत नामावलीमा त्रुटि सच्याउन, कुनै व्यक्तिको विरोधमा उजुरी दिन, एक भन्दा बढी स्थानमा नाम समावेश भएमा एक स्थानमा मात्र नाम कायम राख्न तथा मृत्यु भएका एवम् नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउने गरी आयोगले सूचना प्रकाशित गरेको थियो । सोही सूचना बमोजिमको सम्पूर्ण प्रक्रिया पूरा भएकोले आयोगबाट अन्तिम मतदाता नामावली प्रकाशन गर्ने गरी आज निर्णय भएको हो । मतदाता नामावली हेर्न आयोगको वेवसाइट धधध।भभिअतष्यल।नयख।लउ मा प्रकाशन गरिएको छ । साथै मतदाता नामावलीमा नाम नभएका र नागरिकता प्राप्त गरेका व्यक्तिले मतदाता नामावलीमा नयाँ नाम दर्ता गर्ने तथा मतदाता नामावलीमा नाम भएका मतदाताले आफ्नो विवरण अद्यावधिक गर्नुपर्ने भएमा अनलाइन तथा सम्बन्धित निर्वाचन कार्यालय मार्फत निरन्तर रूपमा गर्न सकिने व्यवस्था पनि आयोगले गरेको छ ।