सोसल मिडिया
Contact Us
युनिकोड
चैनपुर (संखुवासभा) । ललितपुर महानगर र संखुवासभा जिल्लाको चैनपुर नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । आफ्नो प्रतिनिधिमण्डलसहित चैनपुर आएका ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन र चैनपुर नगरपालिकाका प्रमुख कृष्णकुमार तामाङले भगिनी सम्बन्ध कायम गर्ने समझदारी पत्रमा हस्ताक्षर गरे । महानगर प्रमुख महर्जनले नेतृत्व गरेको ललितपुरको प्रतिनिधिमण्डलमा प्रवक्ता एवम वडा नं.९ का अध्यक्ष राजु महर्जन, वडा नं. १ का अध्यक्ष निर्मल तण्डुकार, महानगरका वरिष्ठ अधिकृत सागर थापा, वडा नं. ११ का वडा सदस्य जुबन तण्डुकार, वडा नं. १८ सदस्य रुक्मिणी महर्जन रहेका छन् । संखुवासभा जिल्लाको दक्षिण क्षेत्रमा अवस्थित प्राचीन, ऐतिहासिक प्राकृतिक सुन्दरले भरिपूर्ण केन्द्रको रुपमा चैनपुर नगरपालिका रहेको छ । कोशी प्रदेशमा अवस्थित ११ वटा वडामा विभाजित चैनपुर नगरपालिकामा २०६८ को राष्ट्रिय जनगणना बमोजिम २८ हजार ७४ जनसंख्या रहेको छ । भगिनी सम्बन्धपछि दुबै पालिकाका असल अभ्यासहरू आदान प्रदान गर्न सहज हुने उल्लेख गर्दै ललितपुर महानगरका प्रमुख महर्जनले भगिनी सम्बध अत्यन्तै महत्वपूर्ण भएको बताउँदै मितेरी सम्बधले दुःख सुख साटासाट गर्ने बताए । उनले भने ‘अब हामी एकै परिवारको भयौं। ललितपुर र चैनपुर दूरीको हिसाबले टाढा भएपनि आत्मिय भयौं, मन मिल्यो।’ अन्य सहरहरु सँग भगिनी सम्बध कायम गरेको बताउँदै प्रमुख महर्जनले भगिनी सम्बन्ध कायम भएका पालिकाहरूलाई योजना दिएको उनले बताए । उनले भने ‘कला, संस्कृति, सम्पदा, वातावरण झल्कने योजनालाई प्राथमिकता दिनुपर्छ। ू चैनपुरको विकासको लागि ललितपुर महनगर, पाटन पनि तयार रहेको बताए । त्यसैगरी उनले हरियाली संरक्षणको बारेमा थप सिक्नुपर्ने बताए। उनले भने, ू चैनपुर, स्वर्गको टुक्रा जस्तै लाग्यो ।’ चैनपुर नगरपालिकाका प्रमुख कृष्णकुमार तामाङले महानगर प्रमुख महर्जन आफ्नो प्रतिनिधि मण्डलसहित भगिनी सम्बन्ध कायम गर्नका लागि चैनपुर आएकोमा खुशी व्यक्त गरे । राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएको ललितपुर महानगरबाट चैनपुरले धेरै कुरा सिक्न सक्ने उनको भनाई थियो । चैनपुर नगरपालिकाका उपप्रमुख एलिना श्रेष्ठले भगिनी सम्बन्धले चैनपुरको विकासलाई थप उचाइ दिने बताइन् । त्यसैगरी कार्यक्रममा खाँदवारी नगरपालिका प्रमुख महेश थपलियाले नेपालकै समृद्ध नगरपालिका ललितपुर महानगरसँग भगिनी सम्बन्ध कायम गर्नु चैनपुरबासीको मात्रै नभई संखुवासभाकै लागि गौरवको विषय भएको बताए । कोशी प्रदेश आर्थिक मामिला मन्त्रालयका पूर्वमन्त्री तुलसी न्यौपानेले यो भगिनी सम्बन्ध जीवन्त रहोस् भन्दै शुभकामना दिए । संखुवा सभाका पूर्वसांसद राजेन्द्र गौतमले ललितपुर महानगर र चैनपुर नगरपालिका बीचको भगिनी सम्बन्ध ऐतिहासिक भएको बताए । कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति सुमन शाक्य लगायतले मन्तव्य राखेका थिए ।