कांग्रेस बैठक बिनानिष्कर्ष टुंगियो

शुक्रबार, कात्तिक २१, २०७७

काठमाडौं । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको विरोध पत्रका विषयमा छलफल गर्न बसेको कांग्रेस शीर्ष नेताको बैठक शुक्रबार पनि बिनानिष्कर्ष टुंगिएको छ । 
शुक्रबारसहित विरोध पत्रमा छलफल गर्न बैठक बोलाइएको चारपटक भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकन्ठमा बसेको बैठकमा दुवै पक्षका नेताहरुले आ आफ्नो पक्षको बचाउ गर्दै बोल्ने बाहेक अन्य प्रगति नभएको बताइएको छ । ‘दुवै पक्षबाट आआफ्नो धारणा आएको छ । विकल्पमा छलफल गर्ने अवस्थामा पुगिसकिएको छैन,’ नेता अर्जुननरसिंह केसीले भने । 
बैठक पौडेल पक्षको १६ बुँदे अवधारणामा केन्द्रित रहेको उपसभापति विमलेन्द्र निधिले जानकारी दिए । संस्थापन पक्षले सहमतिको तर्फ अग्रसर नभएको पौडेल पक्षको भनाइ छ । उपसभापति निधिले अर्काे पक्षलाई प्रश्न गरे, ‘१६ बुँदेमा छलफल गर्न बोलाएपछि जवाफ नदिएर के गर्ने त ? उनीहरुको कुरा मात्रै सुन्ने कि हामीले के गरिरहेका छौं, जवाफ पनि दिने ?’ छलफलमा विवाद समाधानका लागि विकल्पका बारेमा प्रवेश नगरेको नगरेको उनले बताए । 
पार्टी सभापति शेरबहादुर देउवाले विभाग बाहेक अन्य विषयमा छलफल गर्न सकिने बताएका छन् नेता मिनेन्द्र रिजालले सभापतिलाई प्रश्न गरे, ‘विभाग बाहेक अन्य मुद्दा छलफल हुने हो भने त्यहीअनुसार निर्णय किन नगरेको ?’ पौडेल पक्षले समग्र मुद्दामा समाधान निकाल्नुपर्ने बताएको छ । पौडेल पक्ष क्रियाशील सदस्यता वितरणको मुद्दालाई नछाड्ने अडानमा देखिएको छ ।
अन्य दलबाट आएकालाई क्रियाशील सदस्यता वितरण गर्दा विधान मिचिएको पौडेल पक्षले जनाएको छ । महाधिवेशन प्रभावित गर्ने गरी केन्द्रबाट क्रियाशील सदस्यता वितरण गरिएको पौडेल पक्षको ठहर छ । संस्थापन पक्षले विधानको परिधिमै रहेर हालसम्मका निर्णय भएको जनाएको छ । बैठक शनिबार बस्नेगरी स्थगित गरिएको छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०७७  २०:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार