सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणमा आएका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेसँगको भेटवार्तामा दुई देशबीचको सम्बन्धमा देखिएका समस्यालाई टुङगोमा पु¥याउनुपर्ने धारणा राखेको अधिकारीहरूले बताएका छन् । भारतले नेपाली भूभाग लिपुलेकमा सडक बनाएको भन्दै अघिल्लो वर्ष ओली सरकारले दिल्लीलाई कूटनीतिक नोट पठाएयता दुई देशबीचको सम्बन्धमा गतिरोध देखिएको थियो । त्यसबेला चीनतर्फ सङकेत गर्दै नेपालले अर्काे देशको इशारामा सीमाको विषय उठाएको हुनसक्ने अभिव्यक्ति भारतीय स्थलसेनाध्यक्ष नरवणेले दिएपछि विवाद उत्पन्न भएको थियो । नेपाली सेनाको मानार्थ महारथीको सम्मान लिन तीन दिने भ्रमणमा आएका नरवणेलाई प्रधानमन्त्री ओलीले दुई देशबीचका समस्या समाधान गरी आपसी सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन नेपाल इच्छुक रहेको बताएको प्रधानमन्त्रीका परराष्ट्र मामिलाका सल्लाहकार राजन भट्टराईले बताए । भेटवार्तामा ओलीले के भने ? सल्लाहकार भट्टराईका अनुसार रक्षा मन्त्रीको पनि जिम्मेवारी सम्हालिरहेका ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा भारतीय सेनाध्यक्षले करीब ३५ मिनेट भेटवार्ता गरेका थिए । त्यसअघि उनले बिहीवार शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी प्राप्त गरेका थिए । शुक्रवार भएको कुराकानीमा प्रधानमन्त्रीको भनाइ उदृत गर्दै सल्लाहकार भट्टराई भन्छन्, ‘भारत हाम्रो नजिकको छिमेकी भएका नाताले मनार्थ महारथी दिने परम्परागत अभ्यास रही आएको छ । हाम्रो दुईवटा मुलुकबीचको सम्बन्ध राम्रो छ र राम्रो हुनुपर्छ । तर हाम्रा केही समस्याहरू छन् । त्यसलाई वार्ताका माध्यमबाट टुङग्याउनुपर्छ र सम्वादको माध्यमबाट समस्यालाई हल गरेर सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने हाम्रो इच्छा रहेको छ ।’ भारतीय स्थल सेनाध्यक्षलाई भारतको पनि त्यस्तै इच्छा रहेको आफूले पाएको बताउँदै त्यसलाई अघि बढाएर जाँदा नेपाल–भारत सम्बन्ध अझ फराकिलो र बलियो हुनसक्ने राय व्यक्त गरेको बताइएको छ । भट्टराई भन्छन्, ‘भारतीय सेनाध्यक्षले समस्याहरू वार्ताबाट निदान गरेर अघि बढ्ने परम्परा नेपाल र भारतबीच रहिआएको छ यसलाई अघि बढाएर लानुपर्छ भन्ने धारणा राख्नुभयो ।’ नरवणेको नेपाल भ्रमणको केही दिन अघि मात्रै भारतीय गुप्तचर निकाय ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलले काठमाडौं आएर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका थिए । आशा र चिन्ता सुरुमा गुप्तचर निकाय र त्यसपछि सेनाध्यक्षको तहमा भ्रमण भएपछि कतिपय विश्लेषकहरूले नेपाल–भारत सम्बन्ध सुरक्षा संयन्त्र र खुफिया एजेन्सीको तहमा अघि बढेको र त्यसले राजनीतिक र कूटनीतिक सम्बन्धलाई किनारा लगाउनसक्ने चिन्ता पनि व्यक्त गरेका थिए । तर परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यी दुई भ्रमणले नेपाल भारत सम्बन्धमा नयाँ स्थिति निर्माण गरेको र अब नेपाल र भारतबीच छलफलको श्रृंखला अघि बढ्ने अपेक्षा आफूले गरेको बताएका थिए । मानार्थ दज्र्यानी ग्रहण गरेपछि राष्ट्रपति भण्डारी र नरवणेबीच शिष्टाचार भेट भएको थियो । त्यसमा राष्ट्रपति भण्डारीले पनि नेपाल भारतबीच संवाद र समझदारीमा जोड दिएकी थिइन् । उनका सूचना तथा सञ्चार विज्ञ टीका ढकालले सामाजिक सञ्जाल ट्वीटरमा राष्ट्रपति भण्डारीले नेपाल भारतबीचको नजिकको सम्बन्धलाई मित्रवत र बलियो राख्न दुवै देशले निरन्तर मेहनत गर्नुपर्ने धारणा राखेको जानकारी दिएका छन् । तीन दिने भ्रमणमा भारतीय सेनाको विशेष विमानमार्फत काठमाडौं आएका नरवणे शुक्रबार स्वदेश फर्केका छन् । उनले बिहिबार नेपाली सेनाका प्रधानसेनापती पूर्णचन्द्र थापा र उच्च सैनिक अधिकारीहरूसँग छलफल गरेका थिए । भारतीय दूतावासका अनुसार दुवै पक्षले नेपाल र भारतबीचको सैन्य सम्बन्ध र रक्षा सम्बन्धलाई मजबुत बनाउने विषयमा छलफल गरेका थिए भने नेपाली सेनाका उच्च अधिकारीहरूले नरवणेलाई ‘बिफ्रिङ’ दिएको पनि पनि भारतीय दूतावासले जनाएको छ । सैनिक मूख्यालयमा आयोजित कार्यक्रममा भारतीय स्थल सेनाध्यक्षले भारत सरकारको तर्फबाट नेपाली सेनालाई दुईवटा फिल्ड अस्पतालका लागि आवश्यक स्वास्थ्य उपकरणहरू हस्तान्तरण गरेका थिए । नेपाली सेनाको मानार्थ महारथीको दर्जा पाउने उनी १८ औँ भारतीय सेनाध्यक्ष हुन् । सन् १९५० मा सुरु भएपनि बीचमा केही समय रोकिएको उक्त परम्परा अन्तर्गत हालसम्म १४ जना नेपाली प्रधानसेनापतिले भारतीय सेनाको मानार्थ महारथीको सम्मान पाएको नेपाली सेनाले जनाएको छ । सीमा विवादका माझ नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेपछि दुई देशबीचको सम्बन्ध तिक्ततापूर्ण बनिरहँदा भएको भारतीय सेनाध्यक्षको भ्रमणलाई परम्परा धान्ने अभ्यासका रूपमा मात्रै लिन नहुने कतिपय विज्ञहरूले बताएका छन् ।