सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा भएको प्रतिनिधि सभाको विघटनप्रति औपचारिक प्रतिक्रिया जनाउँदै भारतले त्यसलाई नेपालको आन्तरिक मामिला भनेको छ । गत आइतबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनबारे भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले बिहिबार औपचारिक प्रतिक्रिया जनाएका हुन् । यसअघि कतिपय भारतीय विश्लेषकहरूले प्रतिनिधि सभा विघटनले नेपालमा ‘एउटा बलियो वामपन्थी दललाई शक्तिमा रहेको देख्न चाहेको चीनलाई नोक्सान भएको’ भन्ने प्रतिक्रिया दिएका थिए । तर दिल्लीले नेपालमा भएको जननिर्वाचित संस्थाको विघटनबारे कुनै प्रतिक्रिया जनाएको थिएन ।
भारतको प्रतिक्रिया, चीनको सक्रियता भारतीय विदेश मन्त्रालयद्वारा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता श्रीवास्तवले भने, ‘हामीले नेपालका हालैका राजनीतिक घटनाक्रमलाई जानकारीमा लिएका छौं । यी नेपालले आफ्नै लोकतान्त्रिक प्रक्रियाबाट निर्णय गर्नुपर्ने आन्तरिक विषयवस्तुहरू हुन् ।’ ‘एउटा छिमेकी र नेपालको हित चाहने देश भएका नाताले भारत नेपाललाई शान्ति, समृद्धि र विकासको मार्गमा अघि बढ्न सघाउन तयार रहेको छ ।’ प्रतिनिधि सभा विघटनपछि काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपाको असन्तुष्ट खेमाको नेतृत्व गरिरहेका नेता प्रचण्डलाई भेटेकी छन् । काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ता चाङ सीले अमेरिकी अखबार वाल स्ट्रिट जर्नललाई प्रतिक्रिया दिँदै चीनले अरू देशको मामिलामा हस्तक्षेप नगर्ने र नेपालमा जोसुकै सत्तामा रहेपनि चीन र नेपालबीच ूबेल्ट एण्ड रोडू अवधारणा अन्तर्गत भइरहेका विकास सहकार्य अघि बढ्ने प्रतिक्रिया दिएका थिए ।