ओलीलाई गृहमन्त्री थापाको साथ, अझै खुलेनन् वामदेव 

नेकपा विवाद 
बिहीबार, पुस ९, २०७७

काठमाडौं । पार्टी विभाजनको औपचारिक घोषण भइनसके पनि नेताहरुले आफ्नो पक्ष स्पष्ट पार्न थालेका छन् । पार्टी विवादमा तटस्थ जस्तै बनेका गृहमन्त्री रामबहादुर थापा तथा पार्टी नेता वामदेव गौतमले आफ्नो पक्षधरता नखुलाउँदा दुवै पक्षले आफूतर्फ तान्ने प्रयास जारी राखेका छन् । नेकपाको विभाजनमा सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापाले निकटवर्तीलाई आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने निर्णय गरेको जानकारी दिएका छन् । उनीनिकट मानिने लुम्बिनी प्रदेशसभा सदस्य आईपी खरेलले बुधवार राति सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘बादलजी सम्बन्ध तोडिन्न, तपाईसँग सति जान सकिएन । तपाईँको प्रगति होस् ।’
खरेलले बुधवार राति गृहमन्त्री थापाको सचिवालयबाट उनी प्रधानमन्त्री पक्षमा लागेको जानकारी आफूलाई दिइएपछि त्यस्तो लेखेको बताए ।
प्रचण्ड पक्षमा लागेका उनले भने, ‘अहिलेसम्म दिएको साथको निम्ति हामीलाई धन्यवाद दिँदै बादलजी प्रधानमन्त्रीलाई साथ दिने निर्णयमा पुगेको जानकारी उहाँको सचिवालयबाट गराइएको छ ।’

सहकर्मी कता ?
गृहमन्त्री थापानिकट अर्का नेता लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले आफूले पनि त्यस्तै हल्ला सुनेको प्रतिक्रिया दिए । थापाको सचिवलयले त्यसको पुष्टि गरेको छैन । तर सचिवालयका एकजना सदस्यले नाम नखुलाउने शर्तमा भने, ‘अन्तिम निर्णय लिइसकेको छैन । तर, परिस्थिति त्यस्तै बनेको छ ।’  थापा निकट केसीले भने आफू प्रचण्ड नेतृत्वकै बैठकमा सहभागी हुने जानकारी दिए ।  केसीले भने, ‘पार्टी एक नहुँदै फुटेकाले साथीहरूका आआफ्नै विरासत छन् । त्यसैले स्वाभाविक रूपमा म पनि त्यसकै पक्षमा छु । म आज प्रचण्ड नेतृत्वको बैठकमा जान्छु ।’ थापानिकट नेताहरू स्थायी कमिटी सदस्यहरू देवप्रसाद गुरुङ र पम्फा भुसाल यसअघि नै प्रचण्ड पक्षमा लागिसकेका छन् । अर्का नेता उपाध्यक्ष वामदेव गौतम कतै लागेका छैनन् । उनीनिकट धेरै नेता भने ओली पक्षमा लागेको बताइएको छ ।
 

प्रकाशित मिति: बिहीबार, पुस ९, २०७७  ०८:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार