प्रचण्ड–माधव समूहले निर्वाचन आयोगमा बुझायो २८७ केन्द्रीय सदस्यको हस्ताक्षर

बुधबार, पुस ८, २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले मंगलबारको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरू निर्वाचन आयोगमा बुझाएको छ ।
बुधबार केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे र मुक्तिनारायण प्रधानसहितको टोलीले निर्वाचन आयोगमा गई प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्षबाट निस्कासन गरेकोलगायतका निर्णयहरु पेस गरेको हो । नेता पाण्डेका अनुसार आयोगमा बुझाएको पत्रमा नेकपाको ४४७ सदस्यीय केन्द्रीय कमिटीका २९० जनाको नाम उल्लेख गरिएको छ । तीमध्ये २८७ जनाको हस्ताक्षर समावेश छ । पाण्डेका अनुसार अरू ३ जना उपत्यकाबाहिर रहेकाले हस्ताक्षर समावेश नभएको हो ।
बुधबार बसेको प्रचण्ड–माधव समूहको बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गरी अध्यक्षबाट निस्कासन गर्ने र माधवकुमार नेपाललाई अध्यक्ष चयन गर्ने निर्णय गरेको थियो । सोही निर्णय सो समूहले निर्वाचन आयोगमा बुझाएको हो । यसअघि मंगलबार नै केपी शर्मा ओली समूहले केन्द्रीय कमिटीको बैठकबाट ४४७ सदस्यीय केन्द्रीय कमिटीलाई विस्तार गरी ११९९ सदस्यीय बनाएको जानकारी आयोगलाई गराएको थियो ।
छानबिन गरेर छिट्टै निर्णय दिन्छौं ः प्रवक्ता श्रेष्ठ
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दुवै पक्षको निवेदनको जाँचबुझ गर्ने र छानबिन गरेर निर्णय दिने बताए । ‘दुवै पक्षबाट आएको निवेदनको जाँचबुझ गर्ने, छानबिन गर्ने,  दलको विधानमा रहेको व्यवस्थाअनुसार छ कि छैन, राजनीतिक दलहरुसम्बन्धी व्यवस्था अनुसार छ कि छैन भनेर आयोगले हेर्छ’ उनले भने ।
आयोगले यस विषयमा निर्णय दिन ढिला नगर्ने पनि श्रेष्ठले बताए । ‘तत्कालै अगाडि नबढाए निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको काम नै अवरुद्ध हुन सक्छ । त्यसैले यो छिट्टै टुङ्गिन्छ ।’
 

प्रकाशित मिति: बुधबार, पुस ८, २०७७  १७:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार