कांग्रेस केन्द्रीय समितिमा संसद् पुनस्र्थापनाका लागि आन्दोलनको पक्ष र विपक्षमा मत 

संविधानलाई ट्रयाकमा ल्याउन आन्दोलनमा जानुपर्ने नेता पौडेलको भनाइ
मंगलबार, पुस ७, २०७७

काठमाडौं । संसद् विघटन गर्ने सरकारको कदमको विरोधमा कार्यक्रम तय गर्न बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा संसद् पुनस्र्थापनाका लागि सडक आन्दोलनको पक्ष र विपक्षमा मत आएको छ । बैठकमा सहभागी केन्द्रीय सदस्यका अनुसार मंगलबारको बैठकमा बोल्दै बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीको कदमको विरोधमा रहेका सबैलाई गोलबद्ध गर्दै कांग्रेसले सडक संघर्ष गर्नुपर्ने बताए । ‘कांग्रेसको नेतृत्वमा जारी भएको संविधानलाई घाइते बनाइएको छ । यसलाई कांग्रेसले स्वीकार गर्नु हुँदैन । यो कदमको विपक्षमा रहेका सबैलाई गोलबद्ध गरेर हामीले संघर्ष गर्नुपर्छ’ बैठकमा पौडेलले भनेका थिए । पौडेलले कांग्रेसले क्षणिक लाभहानीको हिसाब नगरी सिद्धान्तका लागि लड्नुपर्ने बताएका थिए ।
बैठकमा केन्द्रीय सदस्य एनपी साउदले भने सरकारले घोषणा गरेको चुनावको अवसरलाई उपयोग गर्नुपर्ने बताएका थिए । सभापति शेरबहादुर देउवानिकट साउदले अहिले बहुमत कार्यकर्ताहरु चुनावको पक्षमा रहेको भन्दै चुनावमा जानुपर्ने बताएका थिए । उनले संसद् पुनस्र्थापनाको माग लिएर सडक प्रदर्शनमा जान नहुने बताए । मंगलबारको बैठकमा जम्मा चारजनाले बोलेका थिए । बैठकमा बोल्दै केन्द्रीय सदस्य नारायण खड्काले यो विषयमा अदालतमा पुगेकाले अदालतले के भन्छ त्यो पनि महत्वपूर्ण हुने बताएका थिए । उनले अदालत, सडक संघर्ष र चुनाव तीनवटै विकल्पमा जान सकिने बताएका थिए । अर्का केन्द्रीय सदस्य महेश आचार्यले भने सडक संघर्ष गर्नुपर्ने बताएका थिए । तर, उनले यसमा नेकपाको दाहाल–नेपाल समूहसँग सहकार्य गर्न नहुने बताएका थिए । ‘संसद् विघटन उनीहरुको आन्तरिक कलहले गर्दा भएको हो । त्यसैले नेकपालाई नै साथ लिएर संघर्ष गर्नुको अर्थ छैन । कांग्रेसले एक्लै संघर्ष गर्नुपर्छ’ आचार्यको भनाई थियो ।

संसद् विघटनविरुद्ध जनता समाजवादी पार्टीद्वारा आन्दोलन घोषणा
जनता समाजवादी पार्टीले संसद विघटनविरुद्ध आन्दोलन घोषणा गरेको छ । मंगलबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पुस ८ देखि १२ गतेसम्मको आन्दोलन कार्यक्रम घोषणा गरेको हो । पुस ८ गते सबै जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने, १० गते सबै जिल्ला सदरमुकाममा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ गते सबै जिल्ला सदरमुकाममा मसाल जुलुस निकाल्ने र १२ गते काठमाडौंमा केन्द्रिकृत जनप्रदर्शन गर्ने निर्णय भएको संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले जानकारी दिए ।जसपाले संसद् अझै जीवित रहेको निश्कर्ष निकाल्दै अधिवेशन आह्वान गर्न सभामुखलाई आग्रह गर्ने निर्णय पनि गरेको छ । बैठकपछि पार्टीको संघीय परिषद्का अध्यक्ष डा.भट्टराईले संसद् अहिले पनि जीवित रहेको निश्कर्षसहित सभामुखलाई बैठक आह्वान गर्न आग्रह गर्ने निर्णय भएको बताए ।
 

प्रकाशित मिति: मंगलबार, पुस ७, २०७७  १९:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार