सोसल मिडिया
Contact Us
युनिकोड
जर्मनी । युरोपेली संघ (ईयू) को औषधिसम्बन्धी नियामक निकायले सो समूहमा आबद्ध २७ राष्ट्रमा फाइजर–बायोएनटेकले बनाएको कोरोना भाइरसविरुद्धको खोप प्रयोग गर्न सिफारिस गरेको छ । युरोपियन मेडिसिन्स एजेन्सी (ईएमए) ले संयुक्त राज्य अमेरिका र ब्रिटेनमा प्रयोगमा आइसकेको फाइजर–बायोएनटेकद्वारा निर्मित खोप ईयूका ४४ करोड ६० लाख बासिन्दामा प्रयोग गर्न सिफारिस गरेको हो । त्यसको केही घण्टापछि युरोपेली आयोगले त्यसलाई औपचारिक रूपमा अनुमोदन गरेको छ । ईयूका केही सदस्य राष्ट्रहरूमा आगामी आइतवारदेखि फाइजर–बायोएनटेकले बनाएको खोप वितरण गर्न थालिनेछ । ईयूका सदस्य राष्ट्रहरूमा कोभिड–१९ सँग सम्बन्धित कारणले हालसम्म ३ लाख ११ हजार व्यक्तिको मृत्यु भइसकेको छ । क्रिसमस र नयाँ वर्ष २०२१ को बिदाका बेला हुने मानिसहरूको जमघटलाई लिएर सङ्क्रमण थप फैलिन सक्ने त्रास बढेको छ । सङ्क्रमण थप फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै जर्मनी र द नेदरल्यान्ड्स जस्ता देशले आंशिक लकडाउन नै गरिसकेका छन् । यूकेमा देखिएको कोरोना भाइरसको नयाँ प्रकारलाई लिएर ईयूका सदस्य राष्ट्रहरूले ब्रिटेनबाट हुने यात्रामा प्रतिबन्ध लगाइरहेका छन् । नयाँ प्रकारको भाइरस पुरानोभन्दा झन् तीव्र गतिमा फैलिरहेको ब्रिटिश अधिकारीहरूले बताएका छन् ।
ईएमएले खोपको रेटिङ्ग कसरी ग¥यो ? फाइजर–बायोएनटेकले बनाएको खोप १६ वर्ष र सोभन्दा माथि उमेर भएका मानिसमा ९५ प्रतिशत प्रभावकारी देखिएको ईएमएले जनाएको छ । ‘आजको सुखद समाचार भनेको धेरैका लागि पीडा र कठिनाइ निम्त्याएको कोरोना भाइरस महामारी विरुद्धको लडाइँमा यो एउटा महत्वपूर्ण खुड्किलो हो’ ईएमएकी कार्यकारी निर्देशक इमा कुकले भनिन् । उनले अगाडि थपिन् ‘हाम्रो बृहत् मूल्यांकनको अर्थ हामी ईयूका नागरिकहरूलाई यो खोपको सुरक्षा र प्रभावकारिताबारे ढुक्क भएर आश्वस्त तुल्याउन सक्छौँ । खोपले आवश्यक मापदण्डहरू पनि पूरा गरेको छ ।’ ‘यद्यपि हामीले हाम्रो कामलाई यहीँ रोक्नेछैनौँ । ईयूमा यो खोप लिने मानिसहरूको सुरक्षाका लागि हामीले खोपको सुरक्षा र प्रभावकारितासम्बन्धी विवरणहरू संकलन तथा तिनको विश्लेषण गर्ने काम हामीले गरिरहनेछौँ’, उनले भने । कोरोना भाइरसको नयाँ प्रकारलाई लिएर चिन्ता बढ्दो छ जर्मनीले थुप्रै खोप केन्द्रहरू खडा गरिरहेको छ । शुरूमा जोखिममा रहेका नागरिकलाई आइतवार खोपको पहिलो मात्रा दिने उसको अपेक्षा छ । कोरोना भाइरसविरुद्धको यो खोपको दुई मात्रा दिइन्छ । पहिलो मात्रा दिइएपछि रोगप्रतिरोधी क्षमता विकास हुन शुरू हुन्छ, तर दोस्रो मात्रा दिइएको सात दिनपछि मात्र त्यसले पूर्ण प्रभाव देखाउने बताइन्छ ।–बीबीसी