सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट केन्द्रीय सदस्यहरूको भेलामा राखेको प्रस्ताव अनुसार पार्टीको केन्द्रीय कमिटीमा मनोनित ५५६ जनाको नाम अनुमोदन भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुकमा राखेको जानकारी अनुसार नेकपाको कुल केन्द्रीय सदस्यको संख्या १ हजार १९९ बनाउने निर्णय भएको छ । यसअघि नेकपामा झन्डै साढे चार सयजनाको केन्द्रीय कमिटी थियो । त्यसमा तत्कालै ५५६ जना थपिएका छन् । रिक्त रहेका १९६ जना पछि थप्ने तयारी ओली पक्षको छ ।
‘हटाइए’ नारायणकाजी सल्लाहकार थापाका अनुसार मनोनित सदस्यहरूको नाम बैठकले अनुमोदन गरेको र उनीहरूलाई ओलीले शपथग्रहण गराएका छन् । बिस्तार गरिएको केन्द्रीय कमिटीमा प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठलगायत सबै केन्द्रीय सदस्यहरू यथावत् रहेको थापाले जानकारी दिए । तर श्रेष्ठलाई प्रवक्ताबाट हटाएर प्रदीप ज्ञवालीलाई दिइएको छ । उक्त भेलामा पूर्व माओवादी पक्षबाट टोपबहादुर रायमाझी, लेखराज भट्ट सहितका नेताहरू सहभागी भएको बताइएको छ ।
‘बालुवाटारमा सानो गुट भेला भयो’ नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरुको बैठक आधिकारिक भएको दाबी गरेका छन् । मंगलबार बबरमहलमा आयोजित केन्द्रीय कमिटी बैठकमा बोल्दै नेता नेपालले बालुवाटारमा सानो गुटको भेला भएको उल्लेख गर्दै आफूहरुको बैठक नै आधिकारिक रहेको दाबी गरेका हुन् । बालुवाटारमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षका केन्द्रीय सदस्यहरुको बैठक बोलाएका थिए । नेता नेपालले मंगलबारको बैठक स्मरणीय समते हुने बताए । उनले भने, ‘अध्यक्ष ओली सचिवालय र स्थायी कमिटीको बैठकमा उपस्थित हुनुहुन्न । तर आगामी बैठकमा उहाँहरु हुनुहुनेछ ।’ नेता नेपालले नेकपाका केन्द्रीय सदस्यहरुको वास्तविक संख्या ४४१ भएको बताउँदै आफूहरुको बैठकमा दुई तिहाइ केन्द्रीय सदस्य रहेको बताए । उनले बालुवाटार बैठकको वैधता समेत नरहने बताए । यस्तै, नेता नेपालले वरिष्ठ नेतासामू पनि न्यूनतम मर्यादा पनि नराखेको बताउँदै वरिष्ठ नेताहरुलाई पटकपटक अपमान गरेको बताए । उनले नेकपाको ‘कुर्सी विवाद’ को प्रसंग पनि उल्लेख गर्दै पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई ओलीले पटकपटक अपमान गरेको बताए । नेता नेपालले भने,‘अध्यक्ष दाहालको अपमानको विष गज्जब गरी पिउनुहुने रहेछ । दाहाल भएको हुनाले सहज भएको हो नत्र म भएको भए कुर्सी लिएर छेउमा बस्थे भनेको थिएँ ।’ नेता नेपालले पूर्व एमाले र माओवादीको विघटन भइसकेको बताए । उनले निर्वाचन आयोगमा वैधताको बारेमा हल्ला फैलाए पनि त्यसमा कुनै सत्यता नरहेको बताए । सचिवालय बैठक राख्दा पनि ओलीले धेरै सर्तहरु राख्ने गरेको बताए । ‘सचिवालय बैठक बस्न आग्रह गर्दा उहाँले अनेक शर्त राख्नुभयो, एजेन्डा र निर्णयको टुंगो लागेमात्रै बैठक बस्छु भन्नुभयो’, नेता नेपालले भने, ‘बैठकको हलमा लगेर तेजोबध गर्ने, समस्यामा पार्ने र ठूलो कारबाही गर्ने भन्ने कुरा गर्नुभयो । उहाँको जवाफ सुन्दा अचम्म लाग्छ ।’