सर्वदलीय बैठकको निष्कर्ष : संसद् विघटन अलोकतान्त्रिक र असंवैधानिक

साझा रूपमा प्रतिकार गर्ने
सोमबार, पुस ६, २०७७

काठमाडौं । कांग्रेस मुख्यालय सानेपामा बसेको सर्वदलीय बैठकले प्रतिनिधिसभाको विघटन गर्ने सरकारको असंवैधानिक कदमको साझा प्रतिकार गर्ने भएका निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रतिनिधिसभाको विघटन गरेकी थिइन् । त्यसको प्रतिरोधका लागि कांग्रेसले सर्वदलीय बैठक बोलाएको थियो । 
बैठकले संसद् विघटन गर्ने सरकारको अलोकतान्त्रिक र असंवैधानिक कदमका विरुद्धमा साझा प्रतिकार गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रमुख ३ दलको बैठकले संसद विघटन संविधानमाथिको आक्रमण भएको निश्कर्ष निकालेको छ ।
बैठकले संसद् विघटन संविधानमा हुँदै नभएको प्रावधानमा टेकेर गरिएको भन्दै यो संविधानमाथिको आक्रमण भएको निश्कर्ष निकालेको हो ।
बैठकमा नेकपाका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहसहित कांग्रेस र जनता समाजवादी पार्टीका नेता सहभागी थिए । सरकारको असंवैधानिक कदमविरुद्ध विरोधका कार्यक्रम र पार्टीका थप रणनीति बनाउन मंगलबार तीनवटै दलले केन्द्रीय समिति बैठक बोलाएका छन् । ‘मंगलबार तीनवटै दलका केन्द्रीय समितिका बैठक बस्दै छन्, त्यसले थप रणनीति तयार गर्छ । त्यसपछि पुनः तीन दलको बैठक बसेर थप कार्यक्रम तयार गर्छौँ’, कांग्रेस नेता रमेश लेखकले भने । 
बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता वर्षमान पुन सहभागी थिए । कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहित पदाधिकारी र शीर्ष नेता सहभागी थिए भने जसपाका तर्फबाट अध्यक्ष महन्थ ठाकुर र शरतसिंह भण्डारी सहभागी थिए ।
 

प्रकाशित मिति: सोमबार, पुस ६, २०७७  १८:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार