नेकपाको आधिकारिक बैठक आफैँले डाक्ने प्रधानमन्त्रीको भनाइ

सोमबार, पुस ६, २०७७

प्रधानमन्त्री केपी शर्मा ओली ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूपक्षीय नेता तथा विघटित प्रतिनिधि सभा सदस्यहरूलाई बालुवाटारमा डाकेर आफूविरुद्ध पार्टीका अर्का अध्यक्ष प्रचण्डले कारबाही गर्ने कुरा ‘हास्यास्पद भएको’ बताएको उक्त भेलामा सहभागी एकजना नेताले बताएका छन् ।
पूर्वमन्त्री तथा ओलीनिकट नेता महेश बस्नेतले प्रधानमन्त्री केपी ओलीले सोमबार बिहान भएको उक्त भेलामा ‘प्रचण्डले पार्टी एकता प्रक्रिया भङ्ग गर्दै गरेको तर आफूले एकता जोगाउन अन्तिमसम्म कसरत गर्ने’ बताएको जानकारी दिए ।
‘सरकारका हरेक काममा अवरोध गरिएका कारण पार्टीको भविष्य जोगाउने अन्य विकल्प नभएपछि भारी मनका साथ आफूले ताजा जनादेश लिने निर्णय गरेको’ प्रम ओलीले बताएका छन् ।
‘जनताले जुन आदेश दिएर पठाएका थिए त्यसलाई पूरा गर्न अवरोध खडा गरेपछि जनतामा जानु उच्च लोकतान्त्रिक कदम हो’, उनको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीको निजी सचिवालयले पठाएको विज्ञप्तिमा भनिएको छ । भेलामा विघटित प्रतिनिधि सभाका ९३ जना नेकपा सदस्य सहभागी भएको बस्नेतले बताएका छन् ।

कारबाही ‘हास्यास्पद’ 
नेकपाको आइतबार बसेको स्थायी समितिको बैठकले प्रधानमन्त्री ओलीविरुद्ध कारबाही गर्न मङगलबार केन्द्रीय कमिटीको बैठक डाकेको प्रति इङ्गित गर्दै उनले त्यो ‘हास्यास्पद भएको’ उल्लेख गरेको नेता बस्नेतले बताए ।
ं‘वहाँहरू (प्रचण्ड समूह) एकता भङ्ग गर्न खोज्दै हुनुहुन्छ । तर म पार्टी एकता जोगाउन अन्तिम कसरत गर्छ’, भनेर प्रधानमन्त्रीले भनेको बस्नेतले बताएका छन् । साथै अब पार्टीका आधिकारिक बैठक आफैँले डाक्ने पनि उनले जानकारी दिएको बस्नेतले बताए । प्रधानमन्त्री निकट अर्का नेकपा नेता राजन भट्टराईले पनि पार्टीले उनीमाथि कारबाही गर्ने विषयको विरोध गर्दै भने, ‘पार्टीको पहिलो अध्यक्ष जसले पार्टीलाई एकताबद्ध बनाएर यहाँसम्म लिएर आयो त्यसका विरुद्ध कारबाही गर्न उहाँहरूसँग केही अधिकार नै छैन । हाम्रो पार्टीको अहिलेको विधानले के भन्छ भने सबै चिज सर्वसम्मत निर्णयबाट हुन्छ । दुईवटा अध्यक्षको सहमति बेगर केन्द्रीय कमिटीको बैठक बस्न सक्दैन ।’ 
यसैबीच प्रचण्ड पक्षका नेकपा नेताहरूको भेला सोमबार दिउँसो नै बोलाइएको छ । 
प्रधानमन्त्री ओलीले सोमवारको भेलामा बोलेको विषयलाई उद्धृत गर्दै उनको निजी सचिवालयले एक वक्तव्य प्रेषित गरेको छ । त्यसमा उनले निर्वाचन, पार्टी एकता र तयारीबारे बोलेका थिए । 

निर्वाचन किन ?
‘संसद् विघटन मेरो निजी रोजाइ होइन, पार्टीको आन्दोलन र भविष्य जोगाउन अरू कुनै विकल्प नभएपछि भारी मनका साथ ताजा जनादेशका लागि जनतामा जाने निर्णय गर्नु प¥यो’, ओलीले भनेका थिए । अप्ठेरोमा जनतासमक्ष जानुलाई निरंकुश कदम भन्ने ‘न्यारेटिभ’ चलाइएको छ, त्यो गलत छ । जनताले जुन आदेश दिएर पठाएका थिए, त्यसलाई पूरा गर्न अवरोध खडा गरेपछि जनतामा जानु उच्च लोकतान्त्रिक कदम हो ।’
एकताको समस्या के ? 
‘एकतापछि पार्टीको सचिवालयका ७५ वटा बैठक भए । कुनै बैठकमा पनि देश, जनतासँग सम्बन्धित विषयमा छलफल गर्न उहाँहरू कहिल्यै राजी हुनु भएन, मेरा मान्छेलाई खोई, मलाई खोई, उधारो होइन हाताहाती चाहिन्छ भन्ने उहाँहरूको स्वार्थपूर्तिले घेरिनुप¥यो’ उनले भने । 
चुनावको तयारीमा लाग्न निर्देशन
‘तपाईंहरू अब निर्वाचन क्षेत्र जानुहोस्, हामीले गरेका अभूतपूर्व कामहरूलाई रोक्न भएका षडयन्त्रबारे जनतालाई बुझाउनुहोस् । कसले काम ग¥यो, कसले काम गर्न अवरोध गरेर षडयन्त्र तिकडम मात्र ग¥यो, जनतालाई बुझाउनु पर्छ’ उनले भने । 
 

प्रकाशित मिति: सोमबार, पुस ६, २०७७  १४:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार