९० सांसदले बुझाएको अविश्वास प्रस्तावमा गरिएको थियो दाहाललाई प्रधानमन्त्री प्रस्ताव

आइतबार, पुस ५, २०७७

काठमाडौं । आइतबार बिहान नेकपाका ९० सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद सचिवालयमा दर्ता गराएको अविश्वास प्रस्तावमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरिएको थियो । संविधानमा प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउँदा प्रस्तावित प्रधानमन्त्रीको नाम उल्लेख गर्नुपर्ने प्रावधान राखिएको छ । 
९० सांसदले हस्ताक्षर गरेको प्रस्तावको पहिलो नम्बरमा नेकपा अध्यक्ष दाहालले हस्ताक्षर गरेका छन् भने उनीपछि वरिष्ठ नेता झलना खनाल र माधव कुमार नेपालले हस्ताक्षर गरेका छन् । मन्त्रीहरु गिरिराजमणि पोखरेल, वर्षमान पुन, विना मगर, शक्तिबहादुर बस्नेत र रामेश्वर राय यादवले पनि प्रस्तावमा हस्ताक्षर गरेका छन् । यी सबै मन्त्रीले आइतबार नै पत्रकार सम्मेलन गरी पदबाट राजीनामा दिइसकेका छन् । 
प्रस्तावमा प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारिस गरेको सूचना सञ्चार माध्यमबाट सुन्नमा आएको भन्दै यसले नेपालको संविधानलाई आघात पु¥याएको भन्दै ‘प्रतिनिधिसभामा बहुमत हुँदाहुँदै जनताका प्रतिनिधिप्रति अविश्वास गर्नुभई प्रधानमन्त्री पदबा बसिरहन नसक्ने स्थिति स्वयंले स्वीकार गर्नुभएको’ उल्लेख गरिएको छ । प्रस्तावमा संविधानको धारा ९३ को उपधारा ३ बमोजिम संसद बैठक बोलाउन माग गरिएको छ । यो प्रस्ताव दर्ता भएलगत्तै राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा संसद विघटन गरेकी थिइन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा २०७८ वैशाख १७ र २७ गते दुई चरणमा प्रतिनिधिसभा निर्वाचनको घोषणा पनि गरेकी छन् ।
 

प्रकाशित मिति: आइतबार, पुस ५, २०७७  १९:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार