सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याइएकै दिन गत मंसिर ३० गते साँझ बसेको उक्त परिषद्को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित अन्य संवैधानिक आयोगका पदाधिकारी सिफारिस गरेको खुलेको छ । परिषद्का एकजना सदस्यले दिएको जानकारी अनुसार अख्तियारको प्रमुख आयुक्तमा भूतपूर्व गृहसचिव प्रेमकुमार राई सिफारिस भएका छन् । उनी प्रधानमन्त्री ओलीको ’विश्वासपात्र कर्मचारी’को रूपमा चिनिन्छन् । त्यस्तै आयुक्तमा जयबहादुर चन्द र किशोरकुमार सिलवाल सिफारिस भएको ती सदस्यले जानकारी दिए । चन्द संवैधानिक परिषद्मा सदस्य रहने प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवानिकट भनेर चिनिएका व्यक्ति हुन् । देउवा प्रधानमन्त्री रहेका बेला चन्दलाई प्रहरी प्रमुख बनाइएको थियो तर पछि सर्वोच्च अदालतले उनको नियुक्ति बदर गरिदिएको थियो । यद्यपि अध्यादेश राष्ट्रपतिले स्वीकृत गर्नुअघि सोही दिन गणपूरक संख्या नपुग्दा स्थगित भएको बैठकमा सहभागी भएका देउवा उक्त सिफारिस हुने बैठकमा सहभागी थिएनन् । पदाधिकारी सिफारिस गर्ने बैठकमा परिषद्का अध्यक्ष प्रधानमन्त्री ओलीसहित सदस्यद्वय प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना मात्र सहभागी थिए । अख्तियारमा आयुक्त सिफारिस भएका किशोरकुमार सिलवाल पोखरा उच्च अदालतका कामु मुख्य न्यायाधीश हुन् । परिषद्का सदस्य सभामुख अग्निप्रसाद सापकोटा पनि उक्त बैठकमा सहभागी थिएनन् ।
अन्य आयोगमा को–को सिफारिस भए ? ती सदस्यका अनुसार निर्वाचन आयोगका रिक्त आयुक्तहरूमा अधिवक्ता रामप्रसाद भण्डारी र डा. जानकी तुलाधरलाई सिफारिस गरिएको छ । त्यस्तै राष्ट्रिय मानवअधिकार आयोगमा अध्यक्ष र सदस्यहरूको सिफारिस पनि उक्त बैठकले गरेको छ । आयोगको अध्यक्षमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश तपबहादुर मगर र सदस्यहरूमा मनोज दुवाडी, सूर्य ढुङ्गेल, लिली बस्नेत, मिहिर ठाकुर सिफारिस भएका छन् । त्यस्तै वित्त आयोगको रिक्त सदस्य पदमा जुद्धबहादुर गुरूङ र अमरबहादुर मिश्र सिफारिस भएका छन् । महिला आयोगको अध्यक्षमा कमला पराजुली र सदस्यमा कृष्णकुमारी पौडेल खतिवडा र विद्याकुमारी सिन्हा सिफारिस भएका छन् । परिषद्ले मधेशी आयोग रिक्त सदस्यहरूमा जिवछ शाह, रेणुदेवी शाह र विजय गुप्तालाई सिफारिस गरेको छ । यसैगरी आदिवासी जनजाति आयोगको अध्यक्षमा रामबहादुर थापालाई सिफारिस गरिएको छ । थारू आयोगमा रिक्त सदस्यहरूमा विकास चौधरी, बबिता चौधरी, सुबोधसिंह चौधरी र भोलाराम थारूलाई सिफारिस गरिएको ती सदस्यले बताए ।