सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभा विघटन भएपछि त्यसप्रति असन्तुष्टि व्यक्त गर्दै केपी ओली नेतृत्वको सरकारका सातजना मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन् । राजीनामा दिने मन्त्रीहरूमा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, कृषि मन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, श्रममन्त्री रामेश्वर राय यादव र खानेपानीमन्त्री बिना मगर छन् । उनीहरूले सिंहदरबारमा सामूहिक पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गरेका हुन् । राजीनामा घोषणा गर्नेक्रममा मन्त्रीहरूले केपी ओलीको कदम जनभावनाविपरीत भएको आरोप लगाए । तर पूर्व माओवादीका गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्ट उक्त घोषणा कार्यक्रममा सहभागी थिएनन् । राजीनामा बुझाउने मन्त्रीहरूमध्ये पूर्व माओवादीतर्फका पुन, बस्नेत, मगर र पोखरेल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल निकट मानिन्छन् । मन्त्री मगर पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल दाहालकी बुहारी हुन ्। त्यस्तै पूर्वएमालेतर्फका भट्टराई र भुसाल नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल निटकका हुन् । तीन वर्षअघि मंसिरमा नेपालको नयाँ संविधानअन्तर्गत पहिलो निर्वाचन गरिएको थियो । उक्त निर्वाचनमा तात्कालिक नेकपा एमाले र माओवादी केन्द्रले गठबन्धन बनाएका थिए । निर्वाचनपश्चात् पार्टी एकीकरण भएको थियो र नयाँ दलको नाम नेपाल कम्युनिस्ट पार्टी राखिएको थियो । जसअनुसार हाल संसद्को तल्लो सदनमा दलीय हिसाबमा नेकपाको खातामा एक स्वतन्त्र सांसद मिसिएपछि १७५ सदस्य रहेका थिए भने दोस्रोमा नेपाली कांग्रेससँग ६३ र जनता समाजवादी पार्टीसँग ३४ जना सदस्य रहेका थिए । त्यस्तै राष्ट्रिय जनमोर्चासँग १, राष्ट्रिय प्रजातन्त्र पार्टीसँग १ र नेपाल मजदुर किसान पार्टीसँग १ जना सदस्य रहेका थिए । आइतवार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संघीय संसद्को प्रतिनिधिसभा विघटन गर्दै आगामी वैशाख १७ र २७ गते दुई चरणमा हुनेगरी निर्वाचनको घोषणा गरेकी छन् ।
पूर्वमाओवादीका तीन नेताले छाडे प्रचण्डको साथ संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णयप्रति असहमति जनाउँदै पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहका सात मन्त्रीहरुले सामूहिक राजीनामा दिँदा गृहमन्त्री रामबहादुर थापा र उद्योग मन्त्री लेखराज भट्टले भने राजीनामा दिएनन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको नोकझोकमा उनीहरुले ओलीको पक्ष लिएको प्रष्टै भयो । थापा र भट्ट पूर्व माओवादी समूहका नेता हुन् । त्यस्तै प्रचण्डको साथ छाड्ने नेतामा टोपबहादुर रायमाझी पनि छन् । प्रधानमन्त्रीविरुद्ध दर्ता गरिएको ९० सांसदको हस्ताक्षर सूचीमा उनको नाम छैन । पछिल्लो समय प्रचण्डप्रति असन्तुष्टि जनाइरहेका अर्का नेता हरिबोल गजुरेलले भने अन्तिम समयमा आएर प्रचण्डलाई नै साथ दिएका छन् । हस्ताक्षर सूचीमा गजुरेलको पनि नाम छ । सचिवालय सदस्य रामवहादुर थापा बादल र स्थायी कमिटी सदस्यद्वय लेखराज भट्ट तथा टोपवहादुर रायमाझीले केपी ओलीलाई साथ दिएका छन् । उनीहरु प्रचण्डसँग सधैका लागि छुटेका हुन् वा परिस्थितिको आँकलन गर्दैछन् ? प्रष्ट छैन । तर प्रचण्ड माधव नेपाल पक्षको बैठक बसिरहँदा बादल प्रधानमन्त्रीसँगै निर्वाचन आयोग र सुरक्षा निकायका छलफलमा थिए ।