सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सत्ताधारी नेकपाका ८९ जना सांसदहरूले आइतवार संसद् सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका छन् । संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार ती सांसदहरूले आइतवार दिउँसो साढे तीनबजे सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए । उनले भने, ‘आज दिउँसो साढे तीन बजे सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराउनुभएको छ ।’ यद्यपि संसद्मा दर्ता भएको भनी सार्वजनिक गरिएको अविश्वास प्रस्तावको पत्रमा भने समय आइतवार बिहान १०ः५० बजे लेखिएको छ । उक्त प्रस्ताव दर्ता गराउने मध्येकी एक सांसद पम्फा भुसालले चाहिँ आफूहरूले आइतबार बिहानै उक्त प्रस्ताव दर्ता गराएको बताइन् । उनले भनिन्, ‘त्यो निवेदनमा नै हेर्नुभए हुन्छ हामीले बिहानै दर्ता गराएका हौँ ।’ आइतवार नै राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । संसद्को हिउँदे अधिवेशन बस्न बाँकी नै थियो । राष्ट्रपति कार्यालयले आइतवार दिउँसो २ः२१ बजे विज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएको थियो । प्रतिनिधिसभा विघटन भएपछि त्यसप्रति असन्तुष्टि व्यक्त गर्दै केपी ओली नेतृत्वको सरकारका सातजना मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन् । उनीहरूले सिंहदरबारमा सामूहिक पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गरेका हुन् । राजीनामा घोषणा गर्नेक्रममा मन्त्रीहरूले केपी ओलीको कदम जनभावनाविपरीत भएको आरोप लगाए ।