प्रचण्डनिवास खुमलटारमा ओली–प्रचण्ड वार्ता 

वामदेव गौतमको ‘अर्थपूर्ण’ उपस्थिति
शनिबार, पुस ४, २०७७

काठमाडौं । पार्टी विवादका बीच नेकपाको कार्यकारी अध्यक्षको हैसियत पाएका पुष्पकमल दाहाल प्रचण्ड बारम्बार प्रधानमन्त्री निवास बालुवाटार पुग्ने गरेका थिए । तर शनिवार प्रधानमन्त्री केपी शर्मा ओली उनकै निवास पुगेर छलफल गरेका छन् । 
नेकपा गम्भीर सङ्कटमा परेको देखिएका बेला ओली र प्रचण्डबीच भएको छलफलमा नेकपा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका थिए । प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार सुरुको १०–१५ मिनेट दुई अध्यक्षबीच केहीबेर छलफल भएपछि उपाध्यक्ष गौतम पुगेका थिए । त्यसपछि दुवै अध्यक्षबीच भएको छलफलमा गौतम सहभागी थिए ।

ओली र गौतमपछि प्रचण्ड–नेपाल छलफल
करिब एक घन्टा भएको प्रधानमन्त्रीसँगको छलफल लगत्तै प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि छुट्टै परामर्श गरेका छन् । प्रचण्डलाई भेट्न नेता नेपाल उनकै निवास पुगेका थिए । उनीहरूबीचको छलफल पनि सकिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । पार्टीमा देखिएको विवादबारे जारी छलफलको निरन्तरताको रूपमा दुवै अध्यक्षबीच वार्ता भएको थियो । पहिले बालुवाटारमा छलफल हुन्थ्यो आज खुमलटारमा भएको हो । विषय र अडान उही हो । सहमति भइसकेको छैन प्रचण्डका प्रेस संयोजक सापकोटाले बताए । प्रधानमन्त्रीले पार्टी बैठकमा प्रचण्डले प्रस्तुत गरेको दस्तावेज फिर्ता लिन आग्रह गरेका छन् भने प्रचण्ड त्यसबारे बैठकमै छलफल गरेर टुङ्गो लगाउने अडानमै छन् । पार्टीभित्रको विवाद निकै गहिरिएको देखिएका बेला दुई अध्यक्षबीच भएको छलफल निर्णायक मोडमा पुगेको ठानिएको छ । कतिपयले उपाध्यक्ष गौतमको उपस्थितिलाई त्यसैको सङ्केत मानेका छन् ।

‘वामदेव गौतमको सहजीकरण’
प्रधानमन्त्री ओलीले हालैको स्थायी कमिटी बैठकमा नेता गौतमलाई प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरेका थिए । 
उनले यसअघि पनि त्यस्तै प्रस्ताव गरेका थिए । तर राष्ट्रिय सभाका सदस्य रहेका गौतमको निम्ति प्रधानमन्त्री बन्न संविधान बाधक छ । 
त्यसैले उनलाई कसरी र कहिले प्रधानमन्त्री बनाउने भन्ने विषयमा गौतमलाई नै साक्षी राखेर प्रधानमन्त्री ओलीले प्रचण्ड समक्ष ‘निर्णायक प्रस्ताव’ राखेका हुन् सक्ने अनुमान गरिएको छ । तर गौतमका सहयोगी पत्रकार विश्वमणि सुवेदीले ‘त्यसबारे केही कुरा नभएको र दुई अध्यक्षबीच देखिएको विवाद हल गर्न सहजीकरण गरेको’ जानकारी गौतमले दिएको बताए ।
खुमलटारबाट निस्किएर प्रधानमन्त्री विवादमा तटस्थ रहेका भनिएका गृहमन्त्री एवम् नेकपा सचिवालय सदस्य रामबहादुर थापाको सरकारी निवास पुगेका थिए । ‘जबरजस्ती सरकार परिवर्तन गर्दा त्यसले अस्थिरता निम्त्याउँछ’ भन्ने पक्षमा रहेका भनिएका गृहमन्त्री थापाले पार्टी बैठकमा प्रधानमन्त्रीलाई नै सहयोग पुग्ने खालको मत राख्ने गरेका छन् । पछिल्लो विवादमा गौतम भने खुलेर प्रचण्डलाई साथ दिएको देखिएको छ । बैठक बोलाउन हस्ताक्षर गर्ने पाँचजना सचिवालय सदस्यमा उनी पनि छन् ।
 

प्रकाशित मिति: शनिबार, पुस ४, २०७७  १५:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार