नेकपामा गुटगत ‘भेला–भेटघाट’ तीब्र 

दुवै पक्षले एकताको ‘माया मारेकै हुन् ?’
शुक्रबार, पुस ३, २०७७

काठमाडौं । नेकपा अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले एक महिनाअघि विज्ञप्ति जारी गर्दै ‘पार्टीमा देखापरेका अनुशासन र पद्धतिहीनता, गुटबन्दी र अराजकता’ जस्ता विद्यमान विकृति र विसङ्गतिलाई सघन वैचारिक संघर्षद्धारा परास्त गर्न’ नेतृत्वलाई आग्रह गरेका थिए । उनी अहिले बनेको प्रचण्ड र माधव नेपाल पक्षका नेताको रूपमा चिनिन्छन् । उक्त समूहले काठमाडौं पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा शुक्रबार प्रदेश नं १ को आफू पक्षीय समूहको भेला आयोजना गरेको समाचार बाहिर आयो । यसअघि प्रचण्ड पक्षले प्रधानमन्त्री केपी शर्मा ओली पक्षमाथि गुटगत भेला गरेको आरोप लगाउँदै त्यो रोक्न आग्रह गर्ने गरेको थियो ।

‘नगरिदिए हुन्थ्यो’
पछिल्ला दिनमा उक्त समूहले नै लगातार आफ्नो पक्षको ‘भेला’ गरिरहेका छन् । त्यसो भए प्रचण्ड–नेपाल पक्षले आयोजना गरेको भनिएका भेला के अनुशासन आयोगका प्रमुख बोहराले ठम्याएको ‘अनुशासन र पद्धतिहीनता, गुटबन्दी र अराजकता’ भित्र पर्दैन ? बोहरा भन्छन्, ‘त्यो सबैलाई भनेका छौँ, बैठकमा हामीले पर्याप्त भनेका छौँ, जे छ समस्या खुलेरै छलफल गरौँ ।’ तर सिधै त्यसलाई अनुशासन विपरीतको कदम भन्ने अवस्थामा नरहेको उनको भनाइ छ । ‘नगरिदिए हुन्थ्यो’, बोहराले भने, ‘तर एकथरीले ग¥या ग¥यै गर्ने त्यसो भएपछि अर्कोथरी पनि चुप लागेर बस्ने स्थिति भइदिएन । बालुवाटार पक्षले पनि यस्तैयस्तै ग¥या छ ।’

पेरिसडाँडामा ‘भेटघाट’
तर उनले प्रचण्ड–नेपाल पक्षबाट भइरहेका भनिएका भेलाहरूबारे औपचारिक जानकारी नरहेको बताए । कसैलाई पनि त्यस्ता भेला नगर्न बैठकमा आफूले नभनेको बोहराको भनाइ छ । नेकपा प्रदेश नं १ का इन्चार्ज भीम आचार्य लगायतका नेताहरूसँग सम्पर्क हुन सकेन । केहीले बैठकमा रहेको भन्दै प्रतिक्रिया दिएनन् । नेत्री पम्फा भुसालले भने पेरिसडाँडास्थित कार्यालयमा भेला नभई ‘भेटघाट’ आयोजना गरिएको बताइन् । यसअघि इन्जिनियरिङ क्याम्पसमा पनि प्रचण्ड–नेपाल पक्षका विद्यार्थीहरूको भेला थियो । भुसालले (विद्यार्थीहरूले पार्टीभित्रको विवाद) के हो भनेर आयोजना गरेको र आफू पनि गएको बताइन् ।

आशा मरेकै हो ?
‘यो पार्टीभित्रको विचार संघर्ष हो, अन्तरसंघर्ष हो र जसरी पनि तपाईंहरू पार्टी एकताका निम्ति लाग्नूस्, दबाव दिनूस् भनेर आयौ’, उनले भनिन् ।
एकताको कुरा गरे पनि प्रचण्ड–नेपाल पक्षले पनि एकता जोगिएला भन्ने कुरामा माया मारिसकेको हो कि ?
अनुशासन आयोग प्रमुख अमृत बोहराको ठम्याइ छ, ‘त्यस्तै त छैन होला, कमिटीमा छलफल गरौँ भनेर प्रस्ताव ल्याएकै छ नि, खाली त्यसलाई तन्काएर लैजाने कुरा गरेकाले यस्ता अनेक समस्या उत्पन्न भएका न हुन् ।’ नेत्री भुसालले पनि माया नमारेको बताइन् ।
प्रधानमन्त्री ओली पक्षले पनि एकताका निम्ति प्रयास भइहेको बताउने गरेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, पुस ३, २०७७  २०:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार