सांसद रेशमलाल चौहरीसहित ८ जनालाई जन्मकैदको सजाय 

टीकापुर घटना क्रुर, निर्मम र मानवता विरोधी भएको उच्च अदालतको फैसला
शुक्रबार, पुस ३, २०७७

 काठमाडौं । सांसद रेशमलाल चौधरीसहित आठ जनालाई उच्च अदालत दिपायलले जन्मकैदको फैसला सुनाएपछि जनता समाजवादी पार्टी (जसपा) ले त्यसप्रति असन्तुष्टि व्यक्त गरेको छ ।
पूर्व उप–प्रधानमन्त्री तथा जसपा केन्द्रीय कार्यकारिणी समितिका एकजना अध्यक्ष उपेन्द्र यादवले ‘राजनीतिक समस्यालाई अपराधका रूपमा हेरिएको’ बताए । उनले सरकारसँग उक्त घटनामा संलग्न भनेर कारबाही गरिएकाहरूलाई ‘तत्काल रिहा गर्न’ पनि माग गरे ।
पार्टीको संघीय परिषद्का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले बिहीवार ट्वीट गर्दै उक्त फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।
उक्त अदालतले बिहीवार कैलाली जिल्लास्थित टीकापुरमा पाँच वर्षअघि नौ जनाको ज्यान जानेगरी भएको एउटा घटनामा दोषी ठहर गर्दै सांसद चौधरीसहित अन्य सात जनालाई जन्मकैदको सजाय सुनाएको हो । यसअघि कैलाली जिल्ला अदालतले पनि रेशमलाल चौधरीसमेत सात जनालाई जन्मकैदको फैसला सुनाएको थियो । उच्च अदालतले भने जिल्ला अदालतबाट तीन वर्षको कैद सजाय पाएर कैद भुक्तान गरिसकेका लक्ष्मण थारुलाई पनि जन्मकैद फैसला सुनाएको छ । 

अदालते फैसला गर्दा लिएका २८ आधार 
वारदात (घटना) सम्बन्धमा महत्वपूर्ण तथ्यको आधारमा कसूर र सजाय ठहर गर्दा लिइएका आधारहरू

  • प्रस्तुत मुद्दामा प्रतिवादीहरुको कसूरमा संलग्नताको मात्राको आधारमा साविक मुलुकी ऐनमा भएको कानूनी व्यवस्था अनुसार ३ बर्ष ५ बर्ष १० बर्ष र जन्मकैद (२० बर्ष) ठहर गरिएको छ ।केही प्रतिवादीले सफाई पाउने ठहरेको छ ।
  • घटना योजनाबद्ध रुपमा घटाइएको
  • केही प्रतिवादी सो घटनाको रचनाकार रहेको देखिएको
  • घटना घटाउन योजना, तयारी, मनसाय र कार्यको संगठित तरिकाले संयोजन गरेको पाइएको
  •  विशेषगरी सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई हत्या गर्ने टार्गेट गरी घटना घटाइएको
  • नेतृत्वकर्ताको निर्देशन अनुसार गाउँगाउँमा चिराकी(चौकिदार) खटाई भिड जम्मा गरेको
  • तोकिएको ठाउँमा उपस्थित नभएमा प्रतिव्यक्ति रु.ज्ञण्ण्ण्र(जरिवाना गर्ने उर्दी जारी गरेको
  • प्रत्येकले घर घरमा भएको घरेलु हतियार लगायत अन्य हतियार लिई आउन अनिवार्य गरेको
  • पूर्व योजना बमोजिम फलामे काँडायुक्त घरेलु हतियार बनाएको
  • भाला, बन्चरो, खुँडा, फलामे रड, तरवार, खुकुरी, पलामे पाइप, बाँसको लाठी, फलामे काँडा भएको गदा, छिनि, चक्कु, दाउद जस्ता हात हतियारहरु बरामद भएको
  • प्रहरीसंग भएको संचार सेट, बन्दुक, एस एल आर समेत खोसेको
  • बन्चरो समेत प्रहार गरी मृतकलाई ढलाई मट्टितेल हाली जलाएको
  • अधिकांस प्रतिवादीहरु अनुसन्धानहरु समक्ष सावित भई बयान गरेको
  • केही प्रतिवादीहरुले आफू सावित रही सह(अभियुक्तलाई पोल गरी बयान गरेको
  • घटना देख्ने प्रत्यक्षदर्शीहरुले कागज र बकपत्र गरेको
  • मृतकको शव क्षतविक्षत पारिएको, जलाई खरानी पारिएको, भाला रोपी क्रुर हत्या गरिएको
  • घटना घटाई सकेपछि नेतृत्वकर्ताले प्रहारकर्तालाई स्यावासी दिएको
  • नेतृत्वकर्ताको कल डिटेल्सले घटनास्थल वरीपरी नै रहेको देखाएको
  • सुरक्षाकर्मीलाई सी आकारको घेरा हाली नियन्त्रणमा लिएको
  • भागी लुकी बसेका सुरक्षाकर्मीलाई समेत आक्रमण गरी घिसार्दै वाहिर ल्याई विभत्स तरिकाले हत्या गरेको
  • घटनामा २ बर्षको नाबालक समेत मृत्यु भएको
  • नेतृत्वकर्ताले घटना जिम्मा लिई चुनौतिपूर्ण बिज्ञप्ति निकालेको
  • नेतृत्वकर्ताले सर्ब साधारण आम नागरिकलाई उक्साई घटनामा सहभागी बनाएको
  • नेतृत्वकर्ताले निर्देशन गरे अनुसार नै घटना घटाइएको
  • घटनालाई राजनीतिक रंग दिन खोजिएपनि विशुद्ध रुपमा गम्भिर फौजदारी अपराध देखिन आएको
  • घटना संगठित रुपमा घटाइएको, कामको बाँडफाँड गरिएको, निर्देशन दिने कार्य भएको र सो को कार्यान्वयनको अनुगमन गरेको देखिएको
  • पोलिग्राफ टेस्टमा नेतृत्वकर्ताले झूठा बोलेको देखिन आएको
  • सुनियोजित रुपमा घटना घटाइएको
  • घटनाको : मोटिभ, मोडुस, ओपेरन्डी, सिन अफ क्राइम र बरामद दशीका सामानबाट अपराध ः मास मर्डरको रुपमा देखिन आएको
  • दोहोरो भिडन्त नभई आक्रमणकारीहरुले योजनाबद्ध रुपमा महिला र बालबालिका समेत प्रयोग गरी वारदात घटाएको यो एउटा क्रुर, निर्मम र अमानवीय हिंसाको रुपमा देखिई मानवता विरोधी अपराधको रुपमा लिन सकिने घटना देखिएको

जसपा नेताको प्रतिक्रिया
जसपा संघीय परिषद्का अध्यक्ष भट्टराईले ट्वीट गर्दै ‘यथास्थितिको रक्षार्थ कानुन र अदालत बन्ने भएकाले रेशम चौधरीलगायत थारु नेतालाई अदालतले दोषी ठान्नु नौलो नभएको’ बताएका छन् । उनले लेखेका छन्, ‘विडम्बना ! झापा विद्रोह र जनयुद्धका नायकहरूको राजमा थारु विद्रोह अपराध ठहरियो ! यो अन्याय सह्य छैन । थारु नायकहरूलाई सलाम ।’
जसपा केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष यादवले चाहिँ कैलाली घटना राजनीतिक घटना भएकाले यसलाई अपराधिक मुद्दा बनाउनु गलत भएको बताए । उनले उक्त मुद्दा अघि नबढाउनका लागि पटक–पटक सरकारलाई आग्रह गरिएको तर सरकारले त्यसलाई नसुनेको बताए ।
उनले भने, ‘एउटा समुदायलाई दबाएर राज्य गर्नु भनेको अपराध हो यो अहिलेको युगमा यो एक किसिमले भन्ने हो भने नस्लवादी हो । नस्लवादको सोचबाट मुक्त हौँ, सबैलाई समावेशी गरेर अगाडि बढौँ र राजनीतिक समस्याको हल गरौँ भनेर हामीले पटक टक भनेको हो । त्यो पहल निरन्तर रूपमा जारी नै रहन्छ ।’ उनले अहिले मुद्दा लगाएकाहरूलाई रिहा गर्न माग गरे । यस्तो मुद्दा लगाएर राजनीतिक समस्या समाधान नहुने यादवको तर्क छ ।
उनले भने, ‘यो लडाइँ भनेको राजनीतिक लडाइँ हो त्यसलाई राजनीतिक रूपमा समाधान गर्ने कि व्यक्तिलाई फौजदारी कानुन लगाएर जेलमा राख्ने ?’
‘राजनीतिक रूपमा जसपाले यो मुद्दालाई उठाइरहन्छ । आगामी दिनमा आन्दोलन पनि हुन्छ ।’

टीकापुर घटनामा के भएको थियो ?
थरूहटको आन्दोलन चर्किंदा विसं २०७२ भदौमा भएको विरोधप्रदर्शन हिंसात्मक बनेपछि भिडले आक्रमण गरेर नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मीलाई मारिदिएको थियो । सो घटनामा एक बालकको पनि ज्यान गएको थियो । सो घटनामा ५८ जनाविरुद्ध मुद्दा चलेको थियो । घटनापछि फरार रहेका रेशम चौधरी विसं २०७४ मंसिरमा भएको निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट सहभागी भएर कैलालीबाट सांसद निर्वाचित भएका थिए । अहिले राजपा र अन्य पार्टीहरू मिलेर जसपा गठन भइसकेको छ । सो घटनामा मुख्य योजनाकार भएको अभियोग खेपेका चौधरीलाई पछि पक्राउ गरेर पुर्पक्षका लागि कारागारमा राखिएको थियो । कारागारबाटै गएर उनले करिब दुई वर्षअघि सांसद पदको शपथग्रहण गरेका थिए । त्यसअघि सर्वोच्च अदालतले रेशम चौधरीलाई पुर्पक्षका लागि थुनामा राख्न तल्लो अदालतले दिएको आदेशलाई सदर गरिदिएपछि तत्कालका लागि उनलाई संसद् प्रवेशको बाटो बन्द भएको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, पुस ३, २०७७  १८:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार