सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध जित दर्ता गर्दै रोयल च्यालेन्जर्स बेंगलूरु (आरसिबि) ले प्लेअफ सम्भावना कायम राखेको छ । घरेलु मैदानमा भएको खेलमा दिल्ली विरुद्ध ४७ रनको जित निकाल्दै आरसिबि प्लेअफ पुग्ने दौडमा जीवित नै रहेको छ । आरसिबिले दिएको १८८ रनको लक्ष्य पछ्याएको दिल्ली १९।१ ओभरमा अलआउट हुँदै १४० रन मात्र जोड्न सक्यो । दिल्लीका लागि यस खेलमा कप्तानी गरेका अक्षर पटेलले ३९ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ५७ रन बनाए । यस्तै साई होपले २३ बलमा २९ रन जोडे । जेक फ्रेजर(मक्गर्कले ८ बलमा २१ रन जोडे । आरसिबिका लागि यश दयालले ३ विकेट लिए भने लोकी फर्गुसनले २ विकेट लिए । स्वप्निल सिंह, मोहम्मद सिराज र क्यामरन ग्रीनले समान १–१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आरसिबिले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १८७ रन बनायो । आरसिबिका लागि रजत पतिदरले ३२ बलमा ३ चौका र ३ छक्का सहित ५२ रन बनाए । यस्तै विल ज्याक्सले २९ बलमा ४१ रन जोडे । ग्रीनले ३२ रनको योगदान गर्दा विराट कोहलीले १३ बलमा २७ रन बनाए । दिल्लीका खलिल अहमद र रशिख सलामले २(२ विकेट लिए भने इशान्त शर्मा, मुकेश कुमार र कुलदीप यादवले समान १–१ विकेट लिए । जित पछि पाँचौं स्थानमा उक्लिएको आरसिबिको १३ खेलमा १२ अंक भएको छ । तेस्रो स्थानमा रहेको चेन्नाईको १३ खेलमा १४ अंक रहेको छ भने चौथो हैदराबादको १२ खेलमा १४ अंक नै रहेको छ । दिल्ली र लखनऊ पनि १२ अंकमा नै रहेका छन् । तेस्रो र चौथो स्थानका लागि पाँच टोलीको सम्भावना कायमै रहेको छ । पहिलो स्थानमा रहेको कोलकत्ता प्लेअफमा पुगिसकेको छ भने दोस्रो रहेको राजस्थानको पनि सम्भावना उच्च रहेको छ ।
राजस्थानविरुद्ध जित पछि चेन्नाईको प्लेअफ सम्भावना बलियो
राजस्थान रोयल्स विरुद्ध सहज जित दर्ता गरेको चेन्नाई सुपर किंग्सको प्लेअफ पुग्ने सम्भावना बलियो बनेको छ । चेन्नाईको घरेलु मैदानमा भएको खेलमा राजस्थान रोजल विरुद्ध ५ विकेटको जित दर्ता गरेको चेन्नाईले शीर्ष चारमा रहने सम्भावना बलियो बनाएको छ । राजस्थानले दिएको १४२ रनको मध्यम लक्ष्य चेन्नाईले १० बल बाँकी रहँदै ५ विकेट गुमाएर भेटायो । चेन्नाईका लागि कप्तान रुतुराज गाईक्वाडले ४१ बलमा ४२ रन बनाएर अविजित रहे । रचिन रवीन्द्रले २७ तथा ड्यारील मिचेलले २२ रन जोडे । शिभम दुबेले १८ रन जोडे ।
राजस्थानका रविचन्द्रण आश्विनले २ विकेट लिए भने नान्द्रे बर्गर र युजभेन्द्र चाहलले १-१ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेटको क्षतिमा १४१ रन बनायो । राजस्थानका रियान परागले ३५ बलमा सर्वाधिक ४७ रन बनाए । यस्तै ध्रुव जुरेलले २८, यशस्वी जैसवालले २४ तथा जोस बटलरले २१ रन जोडे । चेन्नाईका सिमरजित सिंहले ३ विकेट लिँदा तुशार देशपाण्डेले २ विकेट लिए । जित पछि एक खेल खेल्न बाँकी रहेको चेन्नाईको १४ अंक सहित तेस्रो स्थानमा छ । शीर्ष दुई टोली: कोलकत्ता नाइट राइडर्स र पराजित राजस्थानको समान १२ खेलमा १६-१६ अंक रहेको छ । सनराईजर्स हैदराबादको पनि १४ अंक रहेपनि दुई खेल खेल्न बाँकी रहेको छ । समान १२-१२ खेल खेलेका दिल्ली क्यापिटल्स र लखनउ सुपर जाएन्ट्सको १२-१२ अंक रहेको छ भने १२ खेलमा १० अंक रहेको रोयल च्यालेन्जर्स बेंगलूरुको पनि प्लेअफ सम्भावना कायम नै रहेको छ । आईपिएलमा जारी खेलमा दिल्ली र बेंगलूरु भिडिरहेका छन् ।