निर्मल लामा असल राजनीतिज्ञ हुनुहुन्थ्यो- प्रधानमन्त्री

बिहीबार, वैशाख २७, २०८१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट नेता निर्मल लामा एक असल राजनीतिज्ञ भएको बताएका छन् । बिहीबार बिहान माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित २४ औँ स्मृति दिवस कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । कार्यक्रममा प्रधानमन्त्रीले भने, 'निर्मल लामा नेपाली कम्युनिस्ट आन्दोलनको एक प्रेरणादायी व्यक्तित्व हो। मुख्यतः २०३३०३४ सालतिर नेपालमा जनवादी क्रान्तिको बहसका सन्दर्भमा उहाँले प्रस्तुत गर्नुभएको विचार महत्वपूर्ण छन्। कम्युनिस्ट आन्दोलनको विकास र रणनीति एवं कार्यदिशामा उहाँ आदर्श नेता हुनुहुन्थ्यो।' प्रधानमन्त्रीले निर्मल लामाको जीवनबाट नेपालका कम्युनिस्ट नेताहरूले प्रेरणा लिएकोसमेत बताए । उनले भने, 'उहाँ पारदर्शी नेता हुनुहुन्थ्यो, खुला हुनुहुन्थ्यो, आफ्नो निष्ठामा दृढ र गरिखाने वर्गप्रति प्रतिवद्ध हुनुहुन्थ्यो। राम्रो विचार र स्पष्टवक्ता नेता हुनुहुन्थ्यो। समग्रमा उहाँ एक असल राजनीतिज्ञ हुनुहुन्थ्यो ।' कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ लगायतका नेताहरूले समेत सम्बोधन गरेका थिए ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १४:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार