सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । ओपनर जोनसन चार्ल्सको शतकीय इनिङको मद्दतमा वेस्ट इन्डिज ‘ए’ ले जारी टि २० सिरिजको तेस्रो खेलमा नेपाल सामू विशाल लक्ष्य पेश गरेको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २२७ रन बनायो । चार्ल्सले अविजित रहँदै ६१ बलमा १३ चौका र ७ छक्का प्रहार गर्दै ११९ रन बनाए । १७औ ओभरको पाचौँ बलमा एक रन लिँदै उनले शतक पूरा गरेका थिए । दोस्रो विकेटका लागि उनले आन्द्रे फ्लेचरसँग मिलेर १४५ रनको विशाल साझेदारी समेत गरेका थिए । ओपनर एलिक अथान्जेको विकेट सस्तैमा लिएको नेपालले दोस्रो विकेटका लागि भने धेरै समय कुर्नु पर्यो । चौथो ओभरको पहिलो बलमा नेपालले पहिलो सफलता पाएको थियो । एक रन लिने क्रममा जोनसन चार्ल्सले नन-स्ट्राइकर एन्डमा फर्काइदिएपछि अथान्जे १० बलमा १७ रन बनाएर रनआउट भए । तर त्यसपछि चार्ल्स र आन्द्रे फ्लेचर मिलेर विशाल साझेदारी गरेसँगै वेस्ट इन्डिज विशाल योगफल तर्फ अग्रसर भएको थियो ।
सो साझेदारी १६औ ओभरमा सागर ढकालले फ्लेचरको विकेट लिएर तोडेका थिए । फ्लेचर ३३ बलमा ४ चौका र ३ छक्का सहित ५३ रन बनाएर दीपेन्द्र सिंह ऐरीद्वारा लङ(अनमा क्याच आउट भएका थिए । चौथो नम्बरमा क्रिजमा पुगेका फाबिएन एलेन ९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १९ रन बनाएर करण केसीको बलमा दीपेन्द्रद्वारा नै क्याच आउट भए । किमो पल ७ बलमा १३ रन बनाएर नटआउट रहे । नेपालका लागि करण केसी र सागर ढकालले एक–एक विकेट लिए । नेपालले ६ वटा बलरको प्रयोग गरेको थियो । गुलशन झाले ४ ओभरमा २४ रन दिनुबाहेक अन्य बलर महँगो सावित हुन पुगे । करणले ४ ओभरमा ५४ रन खर्चिए भने कमल सिंह ऐरीले ४ ओभरनै बलिङ गर्दै ५३ रन दिए । यस्तै सागर ढकालले ४ ओभरमा ४१ रन दिए । विवेक यादव र कुशल मल्लले समान दुई(दुई ओभरमा क्रमसस् २८ र २६ रन खर्चिए ।
नेपालले आज टोलीमा ४ परिवर्तन गरेको छ । कप्तान रोहित सँगै कुशल भुर्तेल, सोमपाल कामी र आकाश चन्द पनि बेन्चमा छन् । करण केसी, विवेक यादव, विनोद भण्डारी र कमल सिंह ऐरी टिममा आएका छन् । वेस्ट इन्डिजले पेस बलर ओसेन थोमस बाहिर राख्दै अलराउन्डर फाबियन एलनलाई पहिलो पटक टोलीमा राखेको छ । सिरिज हाल १-१ को बराबरीमा छ । नेपालले शनिबार भएको पहिलो खेलमा ४ विकेटको जित निकालेको थियो । कप्तान रोहित पौडेलको शानदार शतकमा नेपालले पहिलो खेल जितेको थियो । दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले १० रनको जित निकाल्यो । उक्त खेलमा पनि कप्तान रोहित बाहेक अन्य ब्याटर खास चल्न सकेनन् ।
नेपाली टोली :
अनिल शाह, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी (कप्तान), कुशल मल्ल, गुलशन झा, करण केसी, विवेक यादव, कमल सिंह ऐरी, लोकेश बम, सागर ढकाल, विनोद भण्डारी
वेस्ट इन्डिज ‘ए’ टोली :
रोस्टन चेज (कप्तान), एलिक अथान्जे (उपकप्तान), फाबिएन एलेन, केसी कार्टी, जोनसन चार्ल्स, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, हेडन वाल्स