यूएई एसीसी मेन्स प्रिमियर कपको फाइनलमा 

शुक्रबार, वैशाख ७, २०८१

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत यूएई फाइनलमा प्रवेश गरेको छ ।   पहिलो सेमिफाइनलमा नेपाललाई ६ विकेटले पराजित गर्दै युएई फाइनल प्रवेश गरेको हो । नेपालले दिएको १ सय २० रनको सामान्य लक्ष्य युएईले १७.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको छ ।   फाइनल पुग्न असफल भएसँगै नेपालको एसिया कप खेल्ने सम्भावना भने सकिएको छ । नेपालले अब शनिबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ । तेस्रो हुने टोली फाइनल खेल्ने टोलीसँगै एमर्जीङ कपका लागि छनोट हुनेछन् । यता यूएई भने आइतबार हुने फाइनलमा ओमान र हङकङको विजेतासँग खेल्नेछ ।  यूएईको सहज जितमा आलिशान शराफुले अर्धशतक प्रहार गरे । उनले ४१ बलमा ४ चौका र २ चक्का सहित ५५ रन जोडे ।विष्णु सुकुमारनले २८ बलमा २८ रन जोड्दै रनगति घट्न दिएका थिएनन् । कप्तान मोहमद वासिमले ११ र आसिफ खानले १० रन जोडे । सायद हैदरले १४ तथा आयन खानले ३ रन बनाए ।अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपालले टस हारेपछि ब्याटिङको निम्तो पाएको थियो । शीर्षक्रमले संघर्ष गर्दा नेपालले तल्लोक्रमका ब्याटरको सहयोगमा २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रन जोड्यो । नेपालका लागि सन्दीप जोराले ४ चौका र २ छक्कासहित सर्वाधिक ५० रनको योगदान दिए । इनिङको पहिलो बलमा नै कुशल भुर्तेल कट बिहाइन्ड भएपछि नेपाल दबाबमा पर्यो ।

Image

जुनेद सिद्दिकी र ओमिद रहमानले उत्कृष्ट बलिङ गर्दै नेपाललाई पावरप्लेमा चल्न दिएनन् । ओमिदले आसिफ शेखलाई एलबीडब्लु धरापमा पार्दा नेपाल ११.२ को अवस्थामा पुग्यो । कप्तान रोहित पौडेल विकेट जोगाउने धुनमा रक्षात्मक हुँदा १८ बलमा ५ रन जोड्दै कट बिहाइन्ड भए ।
चौथो नम्बरमा ब्याटिङ गर्न आएका सन्दीप जोराले इनिङ सम्हालेर रन जोड्दा अर्कोतर्फ भने निरन्तर विकेट पतन जारी रह्यो । कुशल मल्ल ३ रनमा बसिल हमिदबाट बोल्ड भए । दीपेन्द्र सिंह ऐरी पनि ५ रनमा आयान खानको एलबीडब्लू धरापमा परे । त्यसपछि सन्दीप जोरा लेग स्पिनर मोहमद फारुकको बलमा क्याच आउट भए । ५० रन जोडेका उनी आउट हुँदा नेपाल ८०.६ को स्थितिमा पुगेको थियो । सोमपाल कामी पनि २ रन जोड्दै बसिलको बलमा क्याचआउट भए ।

Image
तल्लोक्रममा गुलशन झा र करण केसीले नेपाललाई सम्मानजनक स्कोरसम्म पुर्याए । करण ११ बलमा २ छक्कासहित १७ रनमा बोल्ड भए । गुलशनले अन्तिम ओभरमा आउट हुनुअघि १५ बलमा १ चौका र १ छक्कासहित २० रन जोडे । यूएईका लागि प्रयोग भएका सबै ६ बलरले विकेट लिए । जुनेद सिद्दिकी, अलि नासिर र बसिल हमिदले २(२ तथा ओमिद रहमान, आयन खान र मुहमद फारुकले १–१ विकेट हात पारे । आज हुने अर्को सेमिफाइनलमा ओमान र हङकङ खेल्नेछन् । फाइनल जित्ने टोली एसिया कपमा छनोट हुनेछ । फाइनल आइतबार तथा तेस्रो स्थानको खेल भोलि शनिबार हुनेछ । नेपालले तेस्रो स्थानका लागि खेल्नेछ । 

Image

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १५:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार