कोटेश्वरका व्यवसायीहरूको भनाई, ‘व्यवसाय पनि चलोस्, घरबेटी पनि मर्कामा नपरुन्’ 

शनिबार, वैशाख १, २०८१

काठमाडौ । कोटेश्वरका व्यवसायीहरूको छाता संगठन कोटेश्वर व्यवसायी संघमा आवद्ध व्यवसायीहरूले कोरोना महामारीदेखि पछिल्लो समयमा भएको आर्थिक मन्दीका कारण व्यवसायी धेरै मर्कामा परेको गुनासो गरेका छन् ।  संघले २०८० सालको विदाई तथा नयाँवर्ष २०८१ को अवसरमा शुक्रबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा व्यवसायीहरूले चर्काे ब्याजदरमा बैंक र सहकारी संस्थाबाट ऋण लिएर व्यवसाय सञ्चालन गर्दैआए पनि आर्थिक मन्दीका कारण व्यापार नहुँदा साँवा र ब्याज तिर्न हम्मेहम्मे भएको गुनासो गरे । त्यसमाथि व्यापार नभएको बेलामा पनि घरबेटीहरूले घरभाडा बढाईदिँदा आफूहरू दोहोरो मारमा परेको पनि उनीहरूको गुनासो थियो । 
पसल कवलको भाडा बढाएर कोठा खाली गर्नुभन्दा व्यवसाय पनि चलोस् र घरभाडा पनि समयमै उठोस् भनेर घरधनीहरू कानूनी भन्दा पनि व्यवहारिक हुनुपर्ने उनीहरूको भनाई थियो । ‘घरभाडा बढाएपछि बसिराखेको पसल उठेर जाँदा, नयाँ आउने व्यवसायीले आर्थिक मन्दीको समयमा समयमै तोकेजति भाडा तिर्छन भन्ने कुनै ग्यारेन्टी छैन’, व्यवसायीको भनाई थियो । 

kotes-busi-1712963037.jpg
‘कोटेश्वरमा गुणस्तरीय सामान सुलभ मूल्यमा पाइन्छ’ भन्ने बनाउन संघ कटिवद्ध रहेको उल्लेख गर्दै संघमा आवद्ध व्यवसायीहरूले पूर्वी नाकाको प्रवेशद्वारको रुपमा रहेको कोटेश्वरमा किनमेल गर्न आउने ग्राहकका लागि सवारी साधन पार्किङ्गको व्यवस्थाको साथै सार्वजनिक शौचालयको लागि स्थानीय सरकारसँग माग गरेका थिए । 
संघका पूर्वअध्यक्ष सरोज थापाले सरकारको कर नीति अव्यवहारिक रहेको, आन्तरिक राजस्व कार्यालयको अनुगमन कार्य व्यवसायीलाई सहयोग गर्नेभन्दा पनि आतंकित गर्ने खालको भएको उल्लेख गर्दै करको दर होइन, दायरा बढाउन सरकारलाई सुझाव दिए । 
संघका अध्यक्ष गोरखबहादुर थापाले आर्थिक मन्दीका कारण व्यापार नहुँदा शहरका अन्य व्यस्त ठाउँमा झैं कोटेश्वरमा पनि सटरहरू दिन प्रतिदिन खाली हुँदै गएकोमा चिन्ता व्यक्त गरे । 
सरस्वती युवा क्लवका उपाध्यक्ष उत्तम भण्डारीले कोटेश्वर व्यवसायी संघ, कोटेश्वरको स्थापित र सक्रिय संस्था भएको उल्लेख गर्दै पूर्वका विभिन्न जिल्लाबाट काठमाडांै प्रवेश गर्ने नाका कोटेश्वरको छुट्टै पहिचान बनाउन संघले आर्थिक क्रियाकलाप आयोजना गर्नुपर्ने कुरामा जोड दिए । 
काठमाडांै महानगरपालिका वडा नं. ३२ का अध्यक्ष नवराज पराजुलीले कोटेश्वर व्यवसायी संघले प्रकाशन गरेको नयाँ वर्ष २०८१ को क्यालेण्डर विमोचन गर्दै वडाले स्वावलम्वी बनाउनका लागि विभिन्न तालीम दिएका वडावासी महिलाले उत्पादन गरेका घरेलु उत्पादनको विक्रीको लागि व्यवसायी संघले सहयोग गर्नुपर्ने बताए । 

koteshor-bu-1712963037.jpg
वडामा सार्वजनिक जग्गाको अभावका कारण सार्वजनिक शौचालय र सवारी पार्किङ्गस्थल बनाउन कठिन भइरहेको पनि उनले बताए ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्कीले बढ्दो आर्थिक मन्दीका कारण व्यवसायीहरू मात्रै नभई घरबेटीहरू पनि मर्कामा परेको उल्लेख गर्दै दुवै पक्ष बाँच्न पाउनुपर्ने बताए । 
सरकारले व्यवसाय गरेर स्वदेशमै केही गरौं भन्ने व्यवसायीहरूलाई चर्काे ब्याज लगाउनाले व्यवसायीहरू ठूलो मर्कामा परेको बताए । 
त्यस अवसरमा प्रहरी प्रभाग कोटेश्वरका प्रहरी निरीक्षक विनोद सुवेदीले समग्र कोटेश्वरको शान्ति सुरक्षाको बारेमा जानकारी गराए भने करदाता सेवा कार्यालय कोटेश्वरका प्रमुख गणेशप्रसाद अर्यालले कुनै पनि व्यवसाय बाणिज्य विभाग, सम्वन्धित वडा कार्यालय र आन्तरिक राजस्व कार्यालयमा सूचिकृत हुनुपर्ने प्रष्ट पारे । 
कार्यक्रममा राष्ट्रिय मोवाइल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराई, नेकपा एमाले ३२ वडा कमिटीका सचिव राजेन्द्र न्यौपाने, नेकपा माओवादी वडा कमिटीका अध्यक्ष रामसुन्दर श्रेष्ठ, वडासदस्य भगवान बुढाथोकी तथा संघका महासचिव अर्जुन बस्नेत लगायतले बोलेका थिए । 

प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  ०४:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार