आयोजकलाई स्तब्ध पार्दै पुलिस सेमीफाइनलमा

बिहीबार, चैत २९, २०८०

सिमरा । विभागीय टोली नेपाल पुलिस क्लब १४ औं जीतपुर सिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । बुधबार राति सिमरा रङ्गशालामा भएको क्वाटरफाइनलमा पुलिसले आयोजक नवजनजागृति युवा क्लब सिमरालाई घरेलु मैदानमा २–१ गोल अन्तरले पराजित गरेको हो । पुलिसको जितमा दुबै गोल उज्वल राईले गरेका थिए भने आयोजक टिमका लागि मोहित गुरुङले पेनाल्टी गोल गरेका थिए । 
खेलको तेश्रो मिनटमै आयोजकविरुद्ध पुलिसले अग्रता बनाएको थियो । आयोजकको समर्थनमा सिमरा रङ्गशालामा उपस्थित करिब ८ हजार घरेलु दर्शकलाई निराश पार्दै पुलिसका लागि उज्वल राईले उत्कृष्ट सुुरुवात गरेका थिए । राईट कर्नर एरियाबाट आयोजकका डिफेण्डर बिट गर्न सफल सुजन मगरको पासमा उज्वलले गोल गरेका थिए । 
सुरुवाती दबाबमा परेको आयोजक खेलको पाँचौ मिनटमा पेनाल्टी मार्फत गोल गर्दै खेलमा फर्कियो । पुलिस क्लबका निरज खड्काले आयोजक टिमका मोहित गुरुङलाई डिबक्स भित्र फाउल गरेपछि फिफा रेफ्री प्रज्वल थापामगरले आयोजकलाई पेनाल्टी अवसर प्रदान गरेका थिए । पेनाल्टी मार्फत गोल गर्दै मोहित गुरुङले आयोजकलाई बराबरीमा ल्याएका थिए ।
खेलको १९ औं मिनटमा उज्वल राईलेनै गोल गर्दै पुलिसको अग्रता दोब्बर पारे । डिबक्स बाहिरबाट आयोजकका डिफेण्डर बिट गर्दै बल अघि बढाएका उज्वलले उत्कृष्ट गोल गर्दै टिमको अग्रता दोब्बर पारे । 
प्रतिष्पर्धात्मक खेलको पहिलो हाफमा भएको गोलनै पुलिसको जितमा निर्णायक बन्यो । दुबै टिमले अन्तिमसम्म संघर्ष गरेका थिए । खेलमा दुबै टिमले आकर्षक अवसरहरु सिर्जना गरेपनि गोल हुन सकेन । खेलको ११ औं मिनटमा पुलिसका उज्वल राईले पेनाल्टी एरियामा पाएको अवसर खेर फाले । सुजन मगरको पासमा उज्वलले गरेको प्रहार फस्टबार नजिकबाट बाहिरिएको थियो । 
खेलको १२ औं मिनटमा आयोजकले गोल गर्ने सुन्दर अवसर गुमायो । निरज कार्कीले पुलिसका गोलरक्षक समेत विट गरिसकेको अवस्थामा गरेको प्रहार पुलिसका डिफेण्डर शिशिर चौधरीले उत्कृष्ट हेडिङ गर्दै गोललाईनबाट क्लिएर गरेका थिए । 
खेलको ८८ औं मिनटमा पुलिसका आशिष राईले वन भर्सेन वनको अवसर खेर फाले । सेन्टर लाईनबाट एक्लै बल अघि बढाएका आशिष फिनिसिङमा चुक्दा आयोजकका डिफेण्डरले रोक्न सफल भए । 
दोेश्रो हाफको इन्जुरी समयमा बराबरी गर्ने अवसर आयोजकले सदुपयोग गर्न सकेन । विबेक गुरुङको पासमा मोहित गुरुङको हेडिङ बल क्रसबार माथिबाट बाहिरीयो । खेलमा आकर्षक अवसरहरु बनाएपनि फिनिसिङमा चुक्दा आयोजक नवजनजागृति युवा क्लब घरेलु मैदानमा निराश बन्यो ।
खेलको म्यान अफ दि म्याच पुलिसका उज्वल राई घोषित भए । उनले शुभारम्भ कलेज अफ म्यानेज्मेन्टले प्रायोजन गरेको १० हजार नगद सहित ट्रफी प्राप्त गरे । 
प्रतियोगिता अन्तर्गत आज बेलुका नेपाल एपिएफ क्लब र फ्रेण्ड्स क्लबको बिचमा अन्तिम क्वाटरफाइनल खेल हुनेछ । 

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  ११:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार