ललितपुर महानगर २२ मा बन्यो चुनदेवी भागवत भवन 

चिरीबाबुले गरे उद्घाटन 
बुधबार, चैत २८, २०८०

ललितपुर । ललितपुर महानगरको वडा नं. २२ स्थित चुनदेवी मन्दिर परिसरमा निर्माण गरिएको चुनदेवी भागवत भवन निर्माण सम्पन्न भएको छ ।  ललितपुर महानगरले निर्माण गरेको उक्त भवनको महानगर प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरे । ८७ लाखको लागतमा उक्त भवन निर्माण भएको हो । भवनमा मंगलबारदेखि ३८ औं वार्षिक सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । 
भवन उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख महर्जनले महानगरले सम्पदा संरक्षणमा उल्लेख्य काम गरेको बताए । महानगरले मठमन्दिर, देवालय, शिवालय, फल्चा धेरै धेरैवटा बनाएको उल्लेख गरे । उनले भने, ‘यसको पछिल्लो उदाहरण ग्वार्को बालकुमारीको बालकुमारी मन्दिर हो, यो मन्दिर चिटिक्क छ ।’ 

WhatsApp-Image-2024-04-10-at-11.21.15-1712727649.jpeg

चुनदेवी भागवत भवननजिकै रहेको चुनदेवी मन्दिर पुनर्निर्माण आउँदो आर्थिक वर्षमा गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘ यो मन्दिर दुई तल्ला बनाउनु हुँदैन, एक तल्ला नै बनाउनुपर्छ, त्यसका लागि आवश्यक तयार गर्नुस्।’ बुङमतिमा रहेको रातो मच्छिन्द्रनाथको मन्दिरको पुनर्निर्माणको बाँकी काम महानगरले गर्ने बताए । रातो मच्छिन्द्रनाथ मन्दिर पुनर्निर्माणका लाग महानगरले एक करोड विनियोजन गरेको उनले बताए । 
महानगर वडा नं.२२ का वडाअध्यक्ष सागर तुलाधरले चुनदेवी मन्दिर परिसरमा निर्माण भएको भागवत भवन निर्माणले सम्पदा र संस्कृति संरक्षणमा महानगरको संवेदनशील र गम्भीर रहेको पुष्टि भएको बताए । भौतिक विकास मात्रै विकास नभएको बताउँदै धार्मिक कार्यक्रमले व्यक्तिलाई सकारात्मक बनाउने बताए । उनले भने, ‘मान्छेसँग अहिले पैसा भएर पनि आनन्द छैन,खुशी छैन, यी सबैको कारण मान्छेमा सकारात्मक भाव नभएर हो, त्यसैले कार्यक्रमको महत्व धेरै छ ।’

WhatsApp-Image-2024-04-10-at-11.20.07-1712727652.jpeg

महानगरको सम्पदा शाखा प्रमुख तथा वरिष्ठ इन्जिनियर रुद्रप्रसाद अधिकारीले संस्कृति र सम्पदाको संरक्षण इतिहासको संरक्षण भएको बताए । इतिहासको संरक्षण गर्न नसक्नेले नवनिर्माण गर्न नसक्ने बताए । महानगरले संस्कृति र सम्पदा संरक्षणको क्षेत्रमा महानगरको प्रमुख पदमा चिरीबाबु महर्जन निर्वाचित भएपछि धेरै काम भएको दाबी गरे । उनले भने, ‘ पहिलो पाँच वर्ष र दोस्रो कार्यकालको दुई वर्ष गरी सात वर्षमा धेरै काम भएको छ, सम्पदा संरक्षणको क्षेत्रमा । ’चुनिदेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जयराम केसीले ललितपुर महानगरमा भएका कामको प्रशंसा गरे । चुनदेवी मन्दिर पुनर्निर्माण गर्न नगर प्रमुखले व्यक्त गर्नु भएको प्रतिबद्धताप्रति आभार व्यक्त गर्दै उनले धन्यवाद दिए । 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  ११:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार