ट्रम्प निकट नेताले बाइडनलाई दिए बधाई

बुधबार, पुस १, २०७७

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको रिपब्लिकन पार्टीका एक उच्च नेता सिनेट मेजरिटी लिडर मिच मक्कोनेलले गत महिना भएको राष्ट्रपति निर्वाचनमा विजयी बनेका जो बाइडनलाई बधाई दिएका छन् । इलेक्टोरल कलेजहरूको मतदानले ट्रम्पविरुद्ध बाइडनको जित पुष्टि गरेको एक दिनपछि सिनेटर मक्कोनेलले उनलाई बधाई दिएका हुन् । अहिले रिपब्लिकनहरूको नियन्त्रणमा रहेको सिनेटसँगको सम्बन्ध बाइडनको कार्यकालका लागि निकै महत्वपूर्ण हुनेछ । आउँदो महिना सिनेटका लागि हुने चुनावी अभियानका लागि बाइडनले जोर्जिआ राज्यको भ्रमण गरेका छन् । आउँदो जनवरी ५ मा सिनेटका दुई सदस्यबारे निर्णय हुनेछ र त्यसैले उनको पार्टीले सदनमा आफ्नो नियन्त्रण कायम गर्छ कि गर्दैन भन्ने तय हुनेछ । हाउस अफ रिप्रिजेन्टेटिभ्समा डेमोक्रयाटहरूकै नियन्त्रण रहेको छ । 
सोमवार बाइडनको जितको आधिकारिक पुष्टि भएपछि विश्वका तीन नेताले पनि बाइडनलाई बधाई दिएका छन् । यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, ब्राजिलका राष्ट्रपति जइर बोल्सोनारु र मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुअल लोपेज ओब्राडोरले राष्ट्रपति निर्वाचित भएपछि बधाई दिन अनकनाएको भन्दै व्यापक टिप्पणीहरू भएका थिए ।

मक्कोनेलले कसरी तोडे मौनता ?
सिनेटमा बोल्दै मक्कोनेलले नोभेम्बर ३ मा भएको चुनावमा आफूले ‘फरक परिणाम’ को आशा गरेको तर इलेक्टोलर कलेजले जितको पुष्टि गरेको बताए । ‘त्यसैले म राष्ट्रपति निर्वाचित जो बाइडनलाई आज बधाई दिन चाहन्छु’, उनले भने ।
उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई पनि बधाई दिँदै मक्कोनेलले भने, ‘पहिलोपटक उपराष्ट्रपतिमा महिला निर्वाचित हुनु सबै अमेरिकीको लागि गर्वको कुरा हो ।’ बाइडनले पछि आफूले मक्कोनेलसँग टेलिफोनमा कुरा गरेको र बधाईका लागि धन्यवाद दिएको बताए । ‘ढिलो नगरी मिलेर काम गर्न’ पनि दुवै सहमत भएको बाइडनले बताए । राष्ट्रपति ट्रम्प भने आफ्नो अडानबाट पछि हट्ने देखिएका छैनन् ।
ट्रम्पले राष्ट्रपति निर्वाचित बाइडनको जितलाई कसरी लिएका छन् भन्ने प्रश्नमा ह्वाइट हाउसकी प्रेस सेक्रेटरी केली म्याकेननीले राष्ट्रपति अझै पनि चुनावसँग सम्बन्धित जारी मुद्दामै संलग्न रहेको मात्रै बताइन् । ट्रम्पले ह्वाइट हाउस छोडेपछि सिनेटका शीर्ष नेताका हिसाबले पदमा रहने रिपब्लिकनको तर्फबाट सबैभन्दा शक्तिशाली व्यक्ति मक्कोनेल नै हुनेछन् ।
त्यसैले पनि राष्ट्रपति निर्वाचित बाइडनलाई उनले बधाई दिनु अर्थपूर्ण रहेको विश्लेषण गरिएको छ । 
मक्कोनेलले बाइडनको विजय स्वीकार्नुले जनवरी ६ मा संसद्मा उनको हारलाई चुनौती दिने ट्रम्पको अन्तिम तीर पनि अर्थहीन भएको छ । अब भने ट्रम्पको प्रतिक्रियाको प्रतीक्षा सुरु भएको छ ।–बीबीसी 
 

प्रकाशित मिति: बुधबार, पुस १, २०७७  ०८:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार