काठमाडौँ महानगरपालिकाको ‘टिचर कलेज कार्यक्रम’ सुरु 

शिक्षकको क्षमता बढाउँदै शैक्षिक गुणस्तर सुधार गरिने 
आइतबार, चैत २५, २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘टिचर कलेज कार्यक्रम’ सुरु गरेको छ । सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरुलाई तालिमबाट क्षमता विकास गराउने, यसबाट शिक्षकहरुले प्राप्त गरेको योग्यतालाई विश्वविद्यालयबाट प्रमाणीकरण गराएर वृत्ति विकाससँग जोड्न काठमाडौँ विश्वविद्यालयसँगको सहकार्यमा कार्यक्रम सुरु गरेको हो । 
शिक्षकहरुको क्षमता र वृत्ति विकास हुने भएपछि शैक्षिक क्रियाकलापहरु सिर्जनात्मक, एकीकृत, सिप र व्यवहारमा आधारित हुनेछन् । यसको नतिजा विद्यार्थीहरुको शैक्षिक प्रमाण पत्र र व्यवहारिक सिपमा प्राप्त हुनेछ । महानगरपालिकाको गौरव योजना ‘गरी खाने शिक्षा, महानगरको इच्छा’ मार्फत यो कार्यक्रम सञ्चालनमा आएको हो । कार्यक्रम शुभारम्भ गर्दै काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भनिन्, ‘यसबर्ष शैक्षिक सुधार पूर्वाधार, शिक्षण सामग्री, प्रविधि र उपकरणसहित कार्यक्रमका लागि करिब ३१ करोड रुपैयाँ बिनियोजन गरेका छौँ । यसमध्ये पुस्तकरहित शुक्रबार, शिक्षामा सिप, प्रारम्भिक बाल विकास कक्षाको स्तरोन्नति, शिक्षण र सिकाइ पद्धतिसहितका कार्यक्रम सञ्चालन गर्न विद्यालयहरुलाई करिब २८ करोड रुपैयाँ छ । यी कार्यक्रमको साझेदार विश्वविद्यालयलाई २ करोड ९५ लाख रुपैयाँ प्रदान गर्दैछौँ ।’


शिक्षकहरुमा गरिएको लगानी सामुदायिक विद्यालयका विद्यार्थीहरुको शैक्षिक प्रमाण पत्र, सीप र आचरणबाट फिर्ता हुने अपेक्षा गरिएको उनले बताइन् । ‘शैक्षिक क्षेत्रमा देखिएका कमजोरी सुधार गर्न गएको बर्ष शिक्षक र पूर्वाधार केन्द्रीत कार्यक्रम चलाएका थियौँ । यस बर्ष गएको बर्षका कार्यक्रमसँगै विद्यार्थी र शिक्षक केन्द्रीत कार्यक्रम थपेर चलाएका छौँ,’ उनले भनिन् । 
स्नातक तह उत्तीर्ण शिक्षकले तालिमबाट २७ क्रेडिट पाएपछि पोष्ट ग्राजुएट डिप्लोमा र कुनै विषयमा स्नातकोत्तर उत्तीर्णलाई मास्टर इन एजुकेसन (एमएड) को प्रमाण प्राप्त दिइनेछ । कार्यक्रममा विश्वविद्यालयको स्कूल अफ एजुकेसनका डीन प्रा. बालचन्द्र लुइटेलले भने, ‘शिक्षकहरुबाट पीएचडी सम्म पुग्ने अवसर खोज्नु भएको छ । हामी पनि चाहन्छौँ, महानगरपालिकासँगको सहकार्यमा यसप्रकारको कार्यक्रम सञ्चालन गर्न सकियोस् ।’ 
तालिमको पहिलो चरणमा भाग लिनुभएका ३४ जनालाई कार्यक्रममा प्रमाण पत्र प्रदान गरिएको थियो । उनीहरूले १ क्रेडिट प्राप्त गरेका छन् । हानगरपालिकाभित्र वैकल्पिक र धार्मिकसहित ९० वटा सामुदायिक विद्यालय छन् । यी विद्यालयहरुको शैक्षिक पूर्वाधार, शिक्षण विधि तथा शैक्षिक क्रियालापमा सुधार ल्याउन महानगरपालिकाले ‘पुस्तकरहित शुक्रवार तथा बाल सञ्जाल’, ‘विद्यार्थी नतिजा सुधार कार्यक्रम’, ‘शिक्षामा सिप’, ‘प्रारम्भिक बाल विकास कक्षाको स्तरोन्नति’, ‘शिक्षण र सिकाइ’, ‘शिक्षामा प्रविधि’ जस्ता कार्यक्रम सञ्चालन गरेको छ ।  

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  ०७:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार