ललितपुरले जडान गर्‍यो उपत्यकामा नै पहिलो पटक अर्ली वार्निङ प्रणाली 

नदीमा पानीको वहाव बढेपछि घण्टीले दिन्छ सूचना 
आइतबार, भदौ ८, २०८२
Global Ime Bank

ललितपुर । ललितपुर महानगरपालिकाले बाढीजन्य प्राकृतिक विपद्को पूर्व जानकारी दिन अर्ली वार्निङ प्रणाली जडान गरेको छ ।  महानगरले पालिका भित्रका दुई ठाउँमा यो प्रणाली जडान गरेको हो । यो प्रणाली जडान गर्ने ललितपुर महानगर पहिलो स्थानीय तह हो ।  वडा नं. २८ हरिसिद्धीस्थित कर्मनाशा पुल र वडा नं. ४ नख्खु खोला नजिकै यो प्रणाली जडान गरिएको महानगर विपद् व्यवस्थापन शाखाले जनाएको छ ।  ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महानगरभित्र पर्ने मुख्य दुई नदी नजिकै यो प्रणाली जडान गरिएको बताए । उनले भने, ‘यी दुईवटा नदी वरपरका अन्य वडाहरुलाई पनि सचेत हुन यो प्रणालीले मद्दत गर्छ ।’ नदीमा पानीको बहाब बढेपछि घन्टी बज्छ , यो घन्टीले सचेत हुन र आवश्यक सावधानी अपनाउन मद्दत गर्छ । आवश्यक भए अन्यत्र पनि जडान गर्ने महानगर प्रमुख महर्जनले बताए । महानगर विपद् व्यवस्थापन शाखाका अनुसार झण्डै दुई किलोमिटरसम्म घण्टीको आवाज सुनिन्छ । बाढीको अवस्था बारे नगर प्रहरी र अन्य सरोकारवालालाई जानकारी दिन समेत संयन्त्र जडान गर्ने तयारी महानगरले गरेको छ । अर्ली वार्निङ सिस्टम जडान गर्नुको मुख्य उद्देश्य जनधनको क्षति हुन नदिनु भएको नगर प्रमुख बताए ।  ललितपुर महानगरले विपद् व्यवस्थापनका लागि एउटै छानामुनि विपद् व्यवस्थापनमा आवश्यक जनशक्ति र सामग्रीहरुको व्यवस्थापन गरेको छ । पुल्चोक दमकलस्थित नगरप्रहरी बल कार्यालयमा नगरप्रहरी, दमकल, शववहान, डुङाको व्यवस्थापन गरेको छ । यसैगरी विपद्को बेलामा प्रयोग गर्नुपर्ने अन्य सामग्रीहरुमा पनि त्यहाँ राखिएको छ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले विपद् भइहाले आवश्यक पर्ने सबै संयन्त्र एकै पटक पुगोस् भन्ने हेतुले एकै छानामुनि सबै संयन्त्रको व्यवस्था गरेको बताए । उनले भने,‘ अन्तर्राष्ट्रिय अभ्यास अनुसार विपद् व्यवस्थापनका बेला जनशक्तिसँगसँगै  एम्बुलेन्स पनि सँग जानुपर्छ, हामीले यो अभ्यासलाई ललितपुर महानगरमा प्रयोग गरेका छौँ । महानगरले अघिल्लो वर्ष असोजको दोस्रो साता आएको बाढीमा उद्धारका लागि डुङ्गाको सक्त अभाव भएपछि महानगरले केही महिना अघि डुङ्गा खरिद गरेको छ । यसका साथै साना ठूला गरी ६ वटा दमकल महानगरसँग छ । नगर प्रमुख महर्जनले भने, ‘गल्लीभित्र पसेर आगो निभाउन सक्ने दमकल पनि महानगरसँग छ । ’ महानगरले विभिन्न कारणले हुने विपद्बाट जोगिन वडास्तर सम्म पुगेर सचेतना कार्यक्रम पनि आयोजना गरेको छ । महानगरको वन, वातावरण तथा विपद् व्यवस्थापन समितिकाले वडै पिच्छे विपद् व्यवस्थापन र सचेतनाका लागि वडा स्तरीय स्वयंम सेवक समूह गठन गर्ने तयारी समेत गरेको छ ।
 

प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२  ०८:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार