सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल टेलिभिजन र नेपाल पर्यटन बोर्डले संयुक्त रूपमा तयार पारेको चन्द्रागिरि नगरका पर्यटकीय स्थल लगायतका विषय समावेश गरिएको डकुमेन्ट्रीबारे भालेश्वर मन्दिर संरक्षण समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । चन्द्रागिरि भालेश्वर मन्दिर संरक्षण समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल टेलिभिजन र नेपाल पर्यटन बोर्डले संयुक्त रूपमा तयार पारेको चन्द्रागिरि नगरपालिकाको प्रमुख पर्यटकीय स्थललगायतका विषय समावेश भएको भनिएको डकुमेन्ट्रीमा प्राचीन भालेश्वर महादेवको सांस्कृतिक एवं धार्मिक महत्वको प्रचलित मान्यता विपरीत भ्रम फैलाउने गरी सामाग्री प्रसारण गरेको भन्दै ध्यानाकर्षणसहित चेतावनी दिएको हो । ६४ लिंग मध्ये २ ओटा पिठ गोलोकेश्वर र चन्दन भराटेश्वर मात्रै चन्द्रागिरि नगरपालिकाभित्र रहेको तर विभिन्न वेद, पुराण र महात्म्यहरूमा जनिएको तथ्य तथा आधिकारिक प्रामाणिकताहरूको उपहास हुने र वास्तविक भालेश्वरको महिमा खण्डित हुनेगरी गलत, कपोकल्पित र प्रायोजित ढंगबाट सामाग्री तयार गरिएको भन्दै समितिले प्रसारित डकुमेन्ट्रीको विरोध गरेको हो । हिमवत खण्ड, चन्द्रागिरि पर्वत शृङ्खला अन्तर्गत भालेश्वर डाँडामा अवस्थित भालेश्वर महादेवको ऐतिहासिक, धार्मिक महत्त्व स्थानीय लोक परम्परा, क्षेत्रगत मान्यता र विविध स्थानीय पर्व तथा पुजा विधिहरूमा सन्दर्भित एवं निहित रहेको तर, प्रस्तुत सामाग्रीले थाहा नगरपालिका, ईन्द्रसरोवर गाउँपालिका र सिङ्गै चन्द्रागिरि नगरपालिकाका स्थानीय बासिन्दाहरूको सांस्कृतिक भावना र मर्ममाथि प्रहार गर्ने दुरुत्साहनपूर्ण कार्य गरेको समेत चन्द्रागिरि भालेश्वर मन्दिर संरक्षण समितिले उल्लेख गरेको छ । त्यस्तै, चन्द्रागिरि भालेश्वर महादेवको वास्तविकता र त्यसको सनातन धार्मिक निरन्तरतामा आधारित रहेर स्थानीय बासिन्दाहरूले गर्दै आईरहेका सांस्कृतिक गतिविधि, पर्व, पुजा र क्षेत्रगत मान्यताकाबारे थाहा पाएर, नपाएर चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले व्यक्त गरेको, गर्दै आईरहेको भ्रामक अभिव्यक्तिले नगरबासी लज्जित हुनुपरेको समेत समितिको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
इतिहास, धर्म, संस्कृति तथा पुरातत्त्व सम्बन्धी विश्वव्यापी स्थापित मान्यता रहेको र त्यस्ता गम्भीर र संवेदनशील विषयहरूमा यदि कसैले नियोजित, प्रायोजित एवं बद्नियतपूर्ण आशयले कार्य गरेको हो भने आफुहरू कानूनी उपचारमा जाने समितिले जनाएको छ ।