विराट गोल्डकपको उपाधि मच्छिन्द्रलाई 

आइतबार, चैत २५, २०८०

काठमाडौं । आठौं विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि ए डिभिजन टोली मछिन्द्र क्लबले  जितेको छ । विराटनगरको सहिद मैदानमा शनिबार राति भएको फाइनलमा घरेलु टिम सांग्रिला मोरङ एफएलाई २–० ले हराउँदै मच्छिन्द्र पहिलो पटक विराट गोल्डकप च्याम्पियन बनेको हो । निर्धारित ९० मिनेट गोलरहित बराबरीमा टुंगिएपछि थप ३० मिनेटमा मछिन्द्र २ गोल गर्न सफल भएको थियो । छिरिङ गुरूङ र हिसुब थपलियाले गोल गरेपछि मछिन्द्रले वर्षको तेस्रो उपाधि जितेको हो । ७ वटा गोल्डकपमा भाग लिएको मछिन्द्रले यसअघि केपी ओली कप र बागमती गोल्डकपको उपाधि जितेको थियो । थप समयको २३ औं मिनेटमा छिरिङले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । सांग्रिलाका गोलकिपर विशाल सुनारको कमजोरीको फाइदा उठाउँदै छिरिङले गोल गरेका हुने । हिसुबको कर्नरमा आएको बललाई सांग्रिलाका गोलकिपर विशाल पन्च गरेपछि राम्ररी क्लियर गर्न सकेनन् । त्यहि रिबाउन्डमा छिरिङले हेडमार्फत गोल गरे । थप समय सकिन १ मिनेट बाँकी रहँदा हिसुबले लामो दूरीबाट गोल गर्दै टोलीको जित निश्चित गरे । मछिन्द्रका लकेन लिम्बु फाइनलको प्येलयर अफ दी म्याच चुनिए र उनले ११ हजार रुपैयाँ प्राप्त गरे । सांग्रिलाका महेन्द्र कार्की सर्वोत्कृष्ट खेलाडी चुनिए र उनले मोटरसाइकल प्राप्त गरे । मच्छिन्द्रका विशाल श्रेष्ठ उत्कृष्ट गोलकिपर, सन्तोष न्यौपाने उत्कृष्ट प्रशिक्षक घोषित भए । मछिन्द्रकै स्टेफन सर्वाधिक गोलकर्ता रहे । उनीहरुले समान २१ हजार रुपैयाँ पुरस्कार पाए ।
सांग्रिला मोरङका प्रशिक्षक रानु राना मगरले खेलाडी चोटग्रस्त हुँदा अन्तिम समयमा गोलको सामना गर्नुपरेको बताए । ‘कप्तान अभिषेक लिम्बु बाहिरिएपछि डिफेन्स लाइन फितलो भयो,’ उनले भने, ‘जसको कारणले पराजय भोग्नुपर्यो ।’ सांग्रिलाका कप्तान अभिषेकले मच्छिन्द्र बलियो टोली रहेको र आफूहरुले सक्दो प्रयास गर्दागर्दै पनि सफल हुन नसकेको बताए ।
मच्छिन्द्रका कप्तान विशाल श्रेष्ठले घरेलु टोलीसँग खेल्न मानसिक रुपमा तयार भएरै उत्रिएको बताए । मच्छिन्द्रले ट्रफीसहित ११ लाख र सांग्रिलाले ५ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्बाङ्ग, विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोर शाहीलगायतले विजेता, उपविजेता टोलीका खेलाडीलाई पुरस्कृत गरे ।

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  ०७:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार