लेखा समितिले हुलाकी राजमार्गबारे अर्थमन्त्रालयसँग जवाफ माग्ने

बिहीबार, चैत २२, २०८०

काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले हुलाकी राजमार्गको अहिलेसम्मको भौतिक प्रगतिबारे अर्थमन्त्रालयसँग जवाफ लिने भएको छ ।  सिंहदरबारमा बिहीबार बसेको समितिको बैठकमा हुलाकी राजमार्गको सम्बन्धमा छलफल गर्दै यस योजनाबारे अर्थ समितिले उठाएका प्रश्नहरूको अर्थमन्त्रालयसँग जवाफ माग्ने निर्णय गरेको समिति सभापति ऋषिकेश पोखरेल बताए । 
उनले भने, ‘हुलाकी राजमार्गसँग अर्थले उठाएका जति पनि प्रश्नहरू छन्, भौतिक पूर्वाधार मन्त्रालय र हुलाकीका बारेमा अर्थसँग जोडिएका जे जति प्रश्नहरू छन्, यस बीचको विवाद के हो, हामी अर्थमन्त्रालयलाई सोध्नेछौं ।’

सरकारले घोषणा गरेका राष्ट्रिय गौरवका योजनाहरू सम्पन्न गर्ने दायित्व सरकारकै रहेको उल्लेख गर्दै उनले घोषणा गरेका योजनाहरू पूरा नगरी नयाँ योजना नथप्न  सुझाव दिने बताए ।  सभापति पोखरेलले राष्ट्रिय गौरवका योजनाहरूका सम्बन्धमा उजुरीको चाङ रहेको उल्लेख गर्दै व्यक्तिगत उजुरीहरू संसद सचिवालयमा पठाउने र संस्थागत उजुरीहरूमाथि समितिको आउँदो बैठकमा छलफल गर्ने जानकारी दिए ।  उनले भने, ‘यस समितिमा गौरवका योजनादेखि विभिन्न विकास निर्माणका योजनाका सम्बन्धमा उजुरीको चाङ छ । व्यक्तिगत र संस्थागत उजुरी छन् । व्यक्तिगत उजुरीहरू सचिवालयमा पठाउँछौं । संस्थागत उजुरीका सम्बन्धमा आउँदा बैठकहरूमा  विवरणसहित छलफल गर्छौं ।’ त्यस्तै समितिले सुन तस्करी प्रकरण र दुरसञ्चार कम्पनी ऐनसेलको खरिदबिक्री सम्बन्धी अनुसन्धान गर्न गठित समितिले बुझाएको प्रतिवेदन मागि थप अध्ययन गर्ने निर्णय गरेको छ । 

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १८:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार