आइपिएल

आरसिबिको तेस्रो हार

चर्चामा तीव्र गतिका बलर मयंक यादव
बुधबार, चैत २१, २०८०
Global Ime Bank

काठमाडौं । इंडियन प्रिमियर लिग (आईपिएल) को जारी संस्करणमा रोयल च्यालेन्जर्स बेंगलूरुले तेस्रो हार बेहोरेको छ । बैंगलोरमा नै भएको खेलमा घरेलु टोली लखनऊ सुपर जाएन्ट्स विरुद्ध २८ रनले पराजित भएको हो । १८२ रनको लक्ष्य पछ्याएको आरसिबि १९.४ ओभरमा १५३ रनमा समेटियो । घरेलु टोलीका लागि महीपाल लोम्रोरले १३ बलमा ३ चौका र ३ छक्का सहित सर्वाधिक ३३ रन बनाए । यस्तै रजत पतिडरले २९ तथा विराट कोहलीले २२ रन जोडे । फ्याफ डु प्लेसिसले १९ रन बनाए । लखनऊका मयंक यादवले ३ विकेट लिँदा नभिन उल-हकले २ तथा मनिमरण सिद्धार्थ, यश ठाकुर र मार्कस स्टोइनिसले समान १-१ विकेट लिए ।


त्यसअघि बेंगलूरुकक घरेलु मैदान चिन्नस्वामी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनऊले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८१ रन जोड्न सफल रह्यो । लखनऊका लागि ओपनर क्विन्टन डीककले ५६ बलमा ८ चौका र ५ छक्का सहित सर्वाधिक ८१ रन बनाए ।
यस्तै निकोलास पुरनले २१ बलमा १ चौका र ५ छक्का सहित ४१ रनको विष्फोटक इनिङ खेले । मार्कस स्टोइनिसले २४ रन बनाउँदा कप्तान केएल राहुलले २० रन जोडे ।
आरसिबिका लागि ग्लेन म्याक्सवेलले २ तथा रिस टोप्ली, यश दयाल र मोहम्मद सिरजले समान १-१ विकेट लिए । आरसिबि हार पछि ४ खेलमा २ अंक सहित पुछारमाबाट दोस्रो छ । लखनऊ भने ३ खेलमा ४ अंक सहित चौथो छ ।आईपिएलमा आज हुने खेलमा दिल्ली क्यापिटल्स र कोलकत्ता नाइट राइडर्स भिड्ने छन् ।

चर्चामा तीव्र गतिका बलर मयंक यादव 
आइपिएलले भारतीय क्रिकेटमा नयाँ प्रतिभालाई विश्व क्रिकेटसामु स्थान दिँदै आएको छ । उक्त सुचिमा यस सिजन तीव्र गतिका बलर मयंक यादवको नाम थपिने पक्का भएको छ ।
लखनउ सुपर जायन्टसका लागि शनिबार पन्जाब किंग्सविरुद्ध डेब्यु गरेका युवा बलर मयंकले छोटो समयमै प्रभाव जमाएका छन् । डेब्युमै ३ विकेट लिएर प्लेयर अफ द म्याच घोषित उनले मंगलबार रोयल च्यालेन्जर्स बेंगलुरुविरुद्ध आफ्नो उच्च लयलाई कायम राखे ।


ग्लेन म्याक्सवेललाई आउट गरेका उनले क्यामरन ग्रीनलाई बोल्ड गरे । उनले ग्रीनको विकेट आफ्नो लागि उत्कृष्ट रहेको पनि बताए । मयंक लगातार दोस्रो खेलमा प्लेयर अफ द म्याच घोषित भए ।
शनिबार १ सय ५५ किलोमिटर प्रति घण्टा बलिङ गरेका उनले आफूलाई यस सिजन आइपिएलमा सबैभन्दा तीव्र गतिमा बल फ्याँक्ने बलरको रुपमा स्थापित गरे । मंगलबार उनले १ सय ५६ को आँकडा छुँदै आफ्नै रेकर्ड सुधारे ।
उनले मंगलबारको खेलमा १० पटक १ सय ५० किमी प्रति घण्टाको गति पार गरे । नियमित रुपमा तीव्र गतिको बल फाल्ने उनले आफ्नो लाइन र लेन्थमा पनि पकड जमाउन सकेका छन् । विगतमा भारतले गति भएका बलर पाए पनि उनीहरुले आफ्नो बलिङमा नियन्त्रण राख्न सकेका थिएनन् । तर मयंक फरक देखिएका छन् ।
मयंकले आफ्नो प्रदर्शनको कारण आफ्नो खानपिन, निन्द्रा र प्रशिक्षणको मिहिनेत रहेको बताए । ‘तीव्र गतिमा लगातार बल फाल्न सहज छैन । तर मैले मेरो खानपिनमा निकै ध्यान दिएको छु । त्यसपछि निन्द्रा र प्रशिक्षणमा पनि समय मिलाएको छु । यसले गर्दा नै यो सम्भव भएको छ,’ बेंगलुरुविरुद्ध जितपछि उनले भने ।
लखनउले सन् २०२२ को मेगा अक्सनमा मयंकलाई न्यूनतम २० लाख भारतीय रुपैयाँमा खरिद गरेको थियो । त्यसबेला टोलीको सहायक प्रशिक्षक रहेका विजय धैयले उनलाई नेटमा बलिङ गरेको देख्दा प्रभवित भएर अनुबन्ध गर्न टोलीमा भनेका थिए । उनले भविष्यमा राम्रो हुने सम्भावना देखेर मयंकलाई टोलीमा राखेको बताए ।
तर सन् २०२२ मा अवसर नपाएका मयंकले २०२३ मा चोटका कारण खेल्न पाएनन् । २०२४ मा दोस्रो खेलमा डेब्युको अवसर पाएका मयंकले पहिलो खेलमै प्रभाव जमाए । पछिल्लो सिजन घरेलु क्रिकेटमा पनि राम्रो प्रदर्शन गरेका उनलाई लखनउले अवसर दिएको थियो । बलिङ प्रशिक्षक मोर्ने मोर्केलसँग मयंकले काम गरिरहेका छन् ।
दिल्लीको सोनेट क्लबबाट आफ्नो करिअर सुरु गरेका उनलाई स्वर्गीय तारक सिन्हा र देवेन्द्र शर्माले सुरुवाती प्रशिक्षण दिएका थिए । दिल्लीमा सुरुवातमा अवसर नपाए पनि उनले पछिल्लो घरेलु सिजनमा भने राम्रो प्रदर्शन गरेका थिए ।


मयंकको प्रदर्शनबाट विश्व क्रिकेटमा तीव्र गतिका बलरमा उत्कृष्ट मानिने ब्रेट ली र डेल स्टेनले पनि सामाजिक संजालमार्फत प्रशंसा गरेका छन् । मंगलबार विपक्षी कप्तान फाफ डु प्लेसिसले पनि मयंकको गति र बलमा नियन्त्रणको प्रशंसा गरे ।
निरन्तर १ सय ५० किमी प्रति घन्टाको गति । लाइन र लेन्थमा सटिक नियन्त्रण । पेस बलिङ खेल्न माहिर अष्ट्रेलियाका ब्याटरलाई समस्या दिन सक्ने खुबी । र लगातार दुई खेलमा प्लेयर अफ द म्याच । मयंक भारतीय क्रिकेटका उदियमान स्टार हुन् ।
जसप्रित बुमराहमा निकै निर्भर रहेको भारतीय तीव्र गतिको बलिङले यसपटक आइपिएलमार्फत अर्को प्रतिभा भेटेको छ । यस्तै प्रदर्शन निरन्तर रहे मयंकले आगामी जुनमा हुने टि२० विश्वकप खेल्ने चर्चा सर्वत्र छ । सम्भावना पनि बलियो देखिन्छ ।

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  ०४:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार