खोकनामा बिहीबारदेखि १२ वर्षे सिकाली जात्रा

मंगलबार, चैत २०, २०८०

काठमाडौं । ललितपुरको खोकनामा १२ वर्षे सिकाली जात्रा बिहीबारदेखि सुरु हुने भएको छ । सिकाली जात्रा अजिमा जात्रा व्यवस्थापन तथा समन्वय समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ऐतिहासिक जात्राको तयारी पुरा भएको जनाएको छ ।  ललितपुरको खोकनो लिच्छविकालीन इतिहास बोकेको १२ वर्षे ‘रुद्रायणीदेवी मेला’को तयारी पुरा भएको समितिका अध्यक्ष पञ्चनारायण महर्जनले जानकारी दिए ।  जात्रा यही चैत २२ गते सिकाली देवगणसहित काठमाडौंमा प्रवेश गरी हनुमान ढोकाभित्र सिकाली देवीनाच प्रदर्शन गर्दै आरम्भ हुने उनले बताए ।  


उनले भने, ‘यस वर्ष सिकाली जात्रा परम्पराको १२ वर्षे मेला अवधि परेको छ । जात्राको अवसरमा परम्पराअनुसार खोकनासहितका छिमेकी गाउँहरूमा र जिल्लाहरूमा पनि देवीनाच प्रदर्शन हुनेछ ।’ देवगण काठमाडौंमा प्रवेश भएपछि हनुमान ढोकाभित्र नासः चोक, तलेजु भगवानको अगाडी त्रिशूल चोक र कालभैरव पछाडि डबलीमा सिकाली देवीनाच गर्ने परम्पराअनुसार तयारी गरिरहेको उनले जानकारी दिए । ‘रुद्रायणी मेला’ को  नामले समेत चिनिने उक्त जात्रालाई देश र जनताको रक्षार्थ देखाइने भएकाले यसको छुट्टै महत्व छ ।  जात्राले देश तथा विदेशका पर्यटन भित्र्याउने तथा पुरातात्विक सम्पदाको संरक्षण हुने आयोजकले जनाएका छन् । 

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १६:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार