क्षमता अभिवृद्धि कार्यक्रम सुरु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्तरतर्फबाट जहाज अवतरणमा रोक

मंगलबार, चैत २०, २०८०

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमवारदेखि रनवेको उत्तरी बिन्दु (टूजीरो) बाट विमान अवतरणमा रोक लगाइएको छ ।  क्षमता अभिवृद्धिका काम भइहेकाले बौद्धतर्फको उक्त बिन्दुबाट आगामी तीन महिनासम्मका लागि विमानहरू अवतरण गर्न दिइने छैन । “पूर्वाधार निर्माणका काम जारी रहुञ्जेल रनवेको दक्षिणी बिन्दु (जीरोटू) बाट जहाजहरू अवतरण गर्न पाउनेछन्,” विमानस्थलका प्रवक्ता सुवास झाले भने । एशियाली विकास बैंक (एडीबी) को सहयोगमा हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धि परियोजनाअन्तर्गत विभिन्न काम भइरहेका छन् । त्यसै सिलसिलामा एकातर्फबाट अवतरणमा रोक लगाइएको हो ।

कस्तो असर पर्छ ?
एउटा बिन्दु बन्द गरिने भएपछि रनवे छोटो हुँदा त्यसको असर पर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले बताएका छन् ।
प्राधिकरणका उपप्रबन्धक ज्ञानेन्द्र भुलका अनुसार उत्तरी बिन्दु (टूजीरो) बाट अवतरण बन्द भएपछि आन्तरिक र बाह्य दुवैतर्फ असर पर्न सक्छ ।
निर्माण कार्यले गर्दा रनवे टूजीरोको केही हिस्सा बन्द गरिएपछि पहिलाको भन्दा रनवे छोटो हुने उनले बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
“रनवे टूजीरोबाट अवतरण गर्ने जहाजहरूलाई समस्या भयो । माउन्टेन फ्लाइटहरू रनवे जीरोटूबाट उडान गर्नुपर्ने हुन्छ । साना जहाजलाई ग्राउन्ड होल्डिङ र एअर होल्डिङको समय बढ्न सक्छ,” भुलले भने । त्यसका अतिरिक्त ठूला जहाजले बोक्ने वजन साबिकको भन्दा अब घटाउनुपर्ने हुन्छ । “रनवे छोटो भएपछि जहाजको प्रकृति हेरेर करिब १५ देखि ३० प्रतिशत लोड पेनाल्टी हुन सक्छ,” उपप्रबन्धक भुलले थपे, “त्यो भनेको ती जहाजले पहिला जति लोड बोक्न सक्थे त्यति यात्रु र कार्गो लोडभन्दा अब केही कम बोक्नुपर्ने हुन्छ।”
उनका अनुसार रनवे विस्तारसम्बन्धी कामले गर्दा एउटा वाइड बडी विमानलाई छदेखि आठ टनसम्म लोड पेनाल्टी हुन सक्छ । ठूला विमानहरूले अब सोहीअनुसार अधिकतम वजन कायम गर्नुपर्ने छ । 
अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता झाका अनुसार हवाई सेवा प्रदायक कम्पनीहरूलाई एक महिनाअगाडि नै जानकारी गराइसकिएको र तिनीहरूले सोहीअनुसार सेवा सञ्चालन गर्ने भएका छन् । शरद्‌यामको तुलनामा बढी पर्यटक भित्रिने वसन्तयाममा हवाई आवागमन बढी हुने गरेको छ। तीन महिनाअघि नै विस्तारका काम सकेमा निर्धारित समय अगावै नै रनवे टूजीरो प्रयोगमा आउन सक्ने छ । 
“सामान्यतया आन्तरिक सेवा प्रदायक जहाजहरूले टूजीरोबाट अवतरण गर्ने गरेका थिए । आन्तरिकतर्फ केही असर पर्छ। अवतरणमा ५र१० प्रतिशतसम्म असर पर्न सक्ला,” प्रवक्ता झाले थपे ।

पछि के फरक हुन्छ ?
अहिले विमानस्थल विस्तार तथा सुदृढीकरणसम्बन्धी कामहरू अगाडि बढिरहेका छन् । त्यसअन्तर्गत उत्तर वा बौद्धतर्फको रनवे टूजीरोको अन्त्यसम्म अन्तर्राष्ट्रिय पार्किङ विस्तार भइरहेको छ । टूजीरोको अन्त्यसम्म ट्याक्सीवे जोडिएपछि रनवेभित्र छिरेर जहाजले लिने गरेको चार मिनेटको समय अब लाग्दैन । अब रनवेमा छिरेर बढीमा दुई मिनेमा जहाजहरू उड्न सक्ने प्राधिकरणका उपप्रबन्धक भुल बताउँछन् ।
“यसको मतलब ठूला जहाज जसको चार मिनेटसम्म रनवे अक्युपेन्सी हुन्थ्यो, त्यो दुई मिनेटमा झरेपछि हामीले प्रतिघण्टा पहिला १५ वटा जहाजको मुभमेन्ट गराउन सकिरहेका थियौँ भने अब ३० वटा गराउन सक्छौँ,” उनले थपे ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
“हाल जारी विस्तार कार्य सम्पन्न भएसँगै रनवे अकुपेन्सी समय घट्छ जसले गर्दा प्रतिघण्टा उड्ने जहाजहरूको सङ्ख्या वृद्धि हुन्छ ।” “यसको अर्थ रनवेको ट्राफिक होल्डिङ क्यापासिटी वृद्धि हुन्छ। रनवेको क्षमता वृद्धि हुनु भनेको विमानस्थलको कुल अवतरण र उडान गर्ने क्षमतामा वृद्धि हुन्छ,” भुलले  भने ।
विमानस्थलका प्रवक्ता झा पनि विस्तार कार्यले आगामी दिनमा अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता बढाउने बताउँछन् । “यो भएपछि रनवे अक्युपेन्सी कम हुन्छ । पहिला तपाईँले आन्तरिकतर्फ हेर्नुभएको होला। त्यहाँबाट रनवेमा छिरी बल्ल रनवे टूजीरोमा गएर विमानहरू उड्थे। त्यतिबेर रनवे अक्युपाई भइरहन्थ्यो त्यो अब हुँदैन,” उनले थपे, “त्यसैले रनवेमा सीधै जान पाइने भएपछि रनवे बढी प्रयोग गर्न पाइनेछ ।”-बीबीसी

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  ०४:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार