भरतपुरमा मेयर्स कप अन्तर्राष्ट्रिय ब्याडमिन्टन सुरु हुँदै

बिहीबार, चैत १५, २०८०

चितवन । भरतपुरमा प्रथम भरतपुर मेयर्स कप अन्तर्राष्ट्रिय आमन्त्रण ब्याडमिन्टन प्रतियोगिता–२०८० सुरु हुने भएको छ । प्रतियोगिता भरतपुर–१० स्थित कभर्डहलमा बिहीबारदेखि सुरु हुने भएको हो । 
भरतपुर भ्रमण वर्ष २०२४ को अवसर पारेर भरतपुर महानगरपालिका नगर खेलकुद विकास समितिको आयोजना हुने प्रतियोगितामा चितवन जिल्ला खेलकुद विकास समिति र जिल्ला ब्याडमिन्टन संघ सहआयोजक छन् । नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिता तीन दिनसम्म चल्ने आयोजकले जनाएका छन् । 
बुधबार भरतपुरमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पुरा भइसकेको जानकारी दिइएको छ । नगर खेलकुद विकास समितिका संयोजक विकास श्रेष्ठले प्राविधिक रुपमा सबै तयारी पुरा भइसकेको बताए ।  प्रतियोगिता सञ्चालनका लागि करिब १८ लाख रुपैयाँ खर्च लाग्ने मूल समिति संयोजक यमबहादुर गुरुङले जानकारी दिए । 
उनका अनुसार ५ इभेन्ट्स रहने प्रतियोगितामा भारतलगायत छिमेकी देशसहितका ३ सय ७२ खेलाडीको सहभागिता रहने छ । ओपन मेन्स डबल, ओपन्स वुमन डबल, ओपन मेन्स डबल (टस २१ र्‍याङकिङ खेलाडीहरु), ओपन मेन्सड डबल ४५ प्लस, ओपेन मेन्स डबल ५५ प्लस र मेन्स डबल सी लेभलको प्रतिस्पर्धा रहने छ । पुरुष र महिला गरी दुई क्याटेगोरीमा खेल हुनेछन् । प्रतियोगिताका सबै खेल अन्तर्राष्ट्रिय नियमअनुसार गराउने तयारी छ ।  चितवन ब्याडमिन्टन संघका अध्यक्ष बुद्धि चौधरीका अनुसार सबै राष्ट्रिय खेलाडीहरुको समेत उपस्थिति रहेकाले प्रतियोगिता महत्वपूर्ण छ । पहिलो पटक भरतपुर मेयर्स कप ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्न पाउँदा गर्व लागेको उनले बताए । 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  ०७:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार