इण्डो–नेपाल टी–२० मा भारतीय दुवै टोली विजयी  

सोमबार, चैत १२, २०८०

चितवन । चितवनको भरतपुरमा जारी इण्डो–नेपाल टी–२० च्याम्पियनसीप क्रिकेट प्रतियोगितामा भारतका दुवै क्षेत्रीय टोलीहरु पीएसआर ग्रुप लखनउ र तालतला इन्स्टिटाइट कोलकाता विजयी भएका छन् । 
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आइतबारको पहिलो खेलमा लखनउले लगातार तेस्रो जित निकाल्ने क्रममा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटको फराकिलो अन्तरले पराजित ग¥यो । 
सुदूरपश्चिमले दिएको १०९ रनको झिनो लक्ष्य लखनउले ११ ओभरमा १ विकेटको क्षतिमा लक्ष्य पुरा ग¥यो । लखनउको जितमा ओपनर शुभम चौधरीले नटआउट ३४ बलमा ८१ रनको विस्फोटक पारी खेले । उनले ९ छक्का र ४ चौका प्रहार गरे । उनले युवराज खत्रीको बलमा लगातार ५ छक्का प्रहार गर्दै टिमलाई जित दिलाए । यस्तै सहिम हसनले १९ रन बनाए भने र मोहम्मद सरिम ६ रनमा नटआउट रहे । 
सुदूरपश्चिमका लागि दीपक बोहोराले २ ओभरमा १४ रन खर्चिदै एक विकेट लिए । 
यसअघि पहिले ब्याटिङ गर्दै सुदूरपश्चिमले १८ ओभरमा अलआउट हुँदै १०८ रन बनाएको थियो । उसका लागि अभिषेक पालले सर्वाधिक ३४ रन बनाए । दीपक बोहोराले २७ र खडक बोहोराले ८ रन बनाए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । 
लखउनका अर्पित शुक्ला र प्रिन्स शाहीले समान ३ विकेट लिए । शुक्लाले ४ ओभरमा १८ रन खर्चिए भने शाहीले ४ ओभरमा २० रन खर्चिन पुगे । मोहम्मद सरिमले ३ ओभरमा १५ रन खर्चिदै २ विकेट लिए ।  
यस्तै आजै भएको दोस्रो खेलमा घरेलु टोली भरतपुर मेयर्स ११ लाई ५ विकेटले पराजित गर्दै भारतको तालतला इन्स्टिटाइट कोलकाता प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । 
भरतपुरले दिएको १६३ रनको लक्ष्य कोलकाताले १५।५ ओभरमा ५ विकेट गुमाउँदै १६८ रन बनाएर भेट्टायो । कोलकतालाई जिताउन सौरभ यादवले विस्फोटक पारी खेल्दै ९ बलमा अविजित ३८ रन बनाए । उनले ५ छक्का र २ चौका प्रहार गरे । यस्तै सन्दीप गुप्ताले ३८, रमन कदायन ३५ र कुनल नगकले २२ अविजित रहे । 
भरतपुरका लागि कृजन गुरुङले ४ ओभरमा ४० रन खर्चिदै २ विकेट लिए भने गौतम केसी, जेनिस महत र सौगात ढकालले समान एक–एक विकेट लिए । 
यसअघि पहिले ब्याटिङ गरेको भरतपुरले गौतम केसीको अर्धशतकको मद्दतमा ८ विकेटको क्षतिमा १६२ रन बनाएको थियो । गौतमले ४ छक्का र ३ चौका प्रहार गर्दै २८ बलमा ५३ रन बनाए । कप्तान दिपेश श्रेष्ठले ३ छक्का प्रहार गर्दै ४३ बलमा ४१ रनमा अविजित रहे । रोशन झाले २० रन बनाए । भरतपुरलाई मध्यम स्कोरमा रोक्न कोलकाताका प्रशान्त श्रीवास्तवले ४ ओभरमा ३३ रन खर्चिदै ६ विकेट लिए । यस्तै सौरभ यादवले १ विकेट लिए । 
आजको जितसँगै लखनउ ३ खेलमा ३ जितका साथ ६ अंक बटुल्दै प्रतियोगिताको शीर्ष स्थानमा कायमै रहेको छ भने कोलकता २ खेलमा २ जितका साथ ४ अंक बटुल्दै दोस्रो स्थानमा उक्लिएको छ । प्रतियोगिताका शीर्ष चार टोलीले सेमीफाइनल खेल्ने छन् भने उपाधिका लागि चैत १७ गते प्रतिस्पर्धा हुनेछ ।  

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  ११:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार