भलिबल च्याम्पियनिसपमा महिलातर्फ एपीएफको विजयी सुरुवात

आइतबार, चैत ४, २०८०

काठमाडौं । आठौं संस्करणको आरबीबी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा विभागीय क्लब एपीएफले महिलातर्फ विजयी सुरुवात गरेको छ ।  राष्ट्रिय खेलकुद परिषद् राखेपको कर्भडहलमा आइतबार विहान भएको पहिलो खेलमा एपीएफले मधेश प्रदेशलाई ३–० को सहज जित निकालेको हो । 
राष्ट्रिय खेलाडी रहेको एपीएफमाथि मधेश प्रदेशले कुनै पनि बेला चुनौती दिन सकेन । एपीएफले पहिलो सेट २५–८ ले आफ्नो पक्षमा पारेको थियो भने दोस्रो सेट २५–७ ले जित्दै आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेटमा एपीएफले एकतर्फी जित निकाल्न सफल भयो । एपीएफले मधेशलाई १ अंकमा छाडेर २४ अंक बनाएको थियो । अन्त्यमा एपीएफले २५–२ को सेटमा जित निकाल्दै पहिलो खेल आफ्नो पक्षमा पार्न सफल भयो ।


प्रतियोगिता अन्तर्गत आज महिलातर्फ साढे १० बजे नेपाल पुलिस क्लब र कर्णाली प्रदेशबीच प्रतिस्प्र्धा हुने छ । यसैगरी पुरुषतर्फ भने आज चार खेल हुने छन् । साढे १२ बजे जावलाखेल भलिबल ट्रेनिङ सेन्टर र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुँदा साढे २ बजे कर्णाली प्रदेश र बुढानिलकण्ठ भलिबल क्लबबीचको खेल हुने छ । यसैगरी, साढे ४ बजे मणीमुकुन्द भलिबल क्लब र न्युटन चिल्ड्रेन एकेडमी र अन्तिम खेलमा साढे ६ बजे टिपटप हेल्प नेपाल आमने सामने हुने छन् । 
नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा चैत १० गतेसम्म संचालन हुने प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ १३ गरि कुल २० टोलीको सहभागिता रहेको छ ।
महिलातर्फ समूह ए मा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश र एभरेष्ट भलिबल क्लब रहदा समूह बि मा चन्द्रागीरि नगरपालिका न्यु डायमण्ड भलिबल क्लब, नेपाल एपीएफ क्लब र मधेश प्रदेश रहेका छन् ।


पुरुषतर्फ समूह ए मा टीपटप हेल्प नेपाल कोशी प्रदेश र ढोरपाटन क्लब, समूह बि मा नेपाल एपीएफ क्लब, जावलाखेल भलिबल ट्रेनिङ क्लब र सुदूरपश्चिम प्रदेश, समूह सि मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश र बुढानिलकण्ठ भलिबल क्लब तथा समूह डि मा त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, मणिमुकुण्ड भलिबल क्लब र न्युटन भलिबल क्लब रहेका छन् ।
प्रतियोगिताको  महिला र पुरुष दुवै विजेताले ५ लाख प्राप्त गर्दा उप विजेता हुनेले २ लाख ५० हजार तेस्रो हुने टोलीले १ लाख २५ हजारमा चित्त बुझाउने छन् ।
यसैगरी, सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले ४०–४० हजार, व्यक्तिगत विधातर्फ उत्कृष्ट सेटर, ब्लकर, सर्भर, स्पाइकर, लिवेरो र प्रशिक्षकले १५–१५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने नेपाल भलिबल संघले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  ११:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार