प्राडा सूर्य सुवेदीको पुस्तक लोकार्पण, अन्तर्राष्ट्रिय ख्याति पाएकोमा प्रशंसा

शनिबार, चैत ३, २०८०

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रा.सूर्य सुवेदी महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म’ पुस्तक लोकार्पण गरेका छन् ।  उक्त कार्यक्रममा प्रधानमन्त्री दाहालले प्राडा सुवेदीले नेपालको संविधान निर्माण, नेपालले विगतमा विश्वका विभिन्न मुलुकहरूसँग गरिएका सन्धि सम्झौताहरूको पुनरावलोकन र एमसीसी परियोजनामा देखाएको कुशलता र विज्ञताको स्मरण गरे । 
‘प्राडा सूर्य सुवेदीले नेपालको संविधान निर्माण, नेपालले विगतमा विश्वका विभिन्न मुलुकहरूसँग गरिएका सन्धि सम्झौताहरूको पुनरावलोकनबारे मैंले सहयोग मागेको थिए । उहाँले त्यसमा निकै राम्रो सहयोग गर्नुभयो । पछिल्लो एमसीसी सम्झौतामा पनि उहाँले मध्यमार्गी विकल्प दिनुभयो र हामीले व्याख्यात्मक घोषणापत्र नै लागू  गर्यौं । त्यसले हाम्रो स्वतन्त्रा, सार्वभौमिकता, वैधानिकता पनि कायम रह्यो र सम्झौता कार्यान्वयनको प्रकृयामा लैनान सहज सहज वातावरण बन्यो ।’ 
दाहालले नेपालको समग्र राष्ट्र हित र नेपालको विकासमा सुवेदीको नलेजले धेरै ठूलो सहयोग पुर्याउने विश्वास व्यक्त गरे । दाहालले नेतृत्वमा हुँदा सुवेदीबाट पटकपटक  लिएको सल्लाह, सुझाव र सहयोगलाई दाहालले कार्यान्वयन गर्ने गरेको उल्लेख गर्दै सुवेदीको ज्ञान र लोकतान्त्रिक प्रतिबद्धताप्रति प्रश्न उठाउनु वा शंका गर्नु अन्याय हुने बताए । 


‘कतिपयले उहाँ (सुवेदी) को पोलिटिकल कमिटमेन्ट अन्तै छ । उहाँ डेमोक्रेटिक व्यक्ति होइन भन्ने गर्दा रहेछन् । त्यसलाई मैंले अस्वीकार गर्ने गरेको छु । मेरो आफ्नै अनुभवले उहाँको लोकतान्त्रिक आउटलुक र लोकतन्त्रप्रतिको कमिटमेन्टको बारेमा कुनै शंका गर्नु छैन । राष्ट्रिय राजनीतिको नेतृत्वले चाह्यो भने राष्ट्रहितका निम्ती उहाँ जसलाई पनि सहयोग गर्न तत्पर हुनुहुन्छ । त्यसैको आधारमा भन्दैछु उहाँको लोकतन्त्रप्रतिको विश्वसनियता र कमिटमेन्टप्रति प्रश्न उठाउनु उहाँप्रति न्याय हुँदैन भनेर मैंले आफैंले डिवेट गर्ने गरेको छु,’ दाहालले भने । 
दाहालले विदेशमा पुगेर नेपालीहरुले आ–आफ्नो क्षेत्रमा राम्रो काम गरेको चर्चा गर्दै त्यसको एउटा उदाहरणको रुपमा सुवेदी रहेको बताए । 
‘विश्वव्यापीकरणसँगै विश्वका विभिन्न मुलुकमा नेपालीहरू जाने गरेका छन् । त्यहाँ गएकामध्ये कैयौं नेपालीहरूले राम्रो प्रगति पनि गरेका छन् । त्यसको उदाहरण डा. सूर्य सुवेदी पनि हो ।’
पुस्तकमा सुवेदले कानून क्षेत्र र व्यक्तिगत जिवनमा भोगेका उत्तारचढाव र सफलताको मार्गमा अगाडि बढ्दा अन्तर्राष्ट्रिय क्षेत्रमा व्यक्तिले कस्तो सकस व्यहोर्नुपर्छ भन्ने जीवन भोगाइका वृत्तान्त समेटिएको छ । 


कार्यक्रममा प्राडा सुवेदीले पुस्तकमा नेपालको लोकतान्त्रिक आन्दोलन, कम्बोडियाको शान्ति प्रक्रिया र अन्तर्राष्ट्रिय कानुनका विषयमा पुस्तकको सारसंक्षेपबारे विवरण उल्लेख गरेको बताए । सुवेदीको उक्त पुस्तकलाई अग्रज पत्रकार भगीरथ योगी र युवा पत्रकार नविन पोखरेलले सम्पादन गरेका छन् । 
सुवेदीको पुस्तकबारे पूर्व उप–सभामुख पुष्पा भुसाल गौतमले नेपाल र नेपालीको हितको लागि अन्तर्राष्ट्रिय जगतमा सुवेदीले नेपाल र नेपालीको नाम राखेको उल्लेख गर्दै उनलाई सरकारले सम्मान गर्नुपर्ने धारणा राखिन । उनले युवाका लागि समेत पुस्तक प्रेरक बन्ने बताइन । कार्यक्रममा पूर्वमन्त्री अग्नि खरेलले प्राडा सुवेदीको ज्ञानबाट नेपालले लाभ लिनुपर्ने बताए ।  

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  १३:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार