नामिबियामाथि नेपालको जित

शुक्रबार, फागुन १८, २०८०

काठमाडौं । त्रिकोणात्मक टि २० सिरिजको चौथो खेलमा नेपालले नामिबियालाई पराजित गरेको छ । टियु क्रिकेट मैदानमा ३ रनको जित दर्ता गर्दै नेपालले फाइनलमा पुग्ने सम्भावना जीवित राखेको छ । नेपालले प्रस्तुत गरेको १ सय ८१ रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७७ रन जोड्न सक्यो । यो जितसँगै नेपालले २ अंक जोडेको छ । नामिबियाको पनि समान २ अंक छ । नेदरल्यान्ड्स २ खेलमा ४ अंक जोड्दै शीर्षस्थानमा छ । अब नेपालले शनिबार नेदरल्यान्ड्सको सामना गर्नेछ । आइतबार नामिबिया र नेदरल्यान्ड्स खेल्नेछन् । फाइनल मंगलबार हुनेछ ।
नामिबियाले कमजोर सुरुवात गरेपनि मध्यक्रममा कप्तान स्मिट र फ्रिलिंकको साझेदारीसँगै खेलमा फर्केको थियो । तर दीपेन्द्र सिंह ऐरी र अभिनाश बोहोराले १६ औं र १७ औं ओभरमा दुवैलाई आउट गर्दै कसिलो बलिङ गरेपछि नेपाल खेलमा फर्कियो । अन्त्यमा ग्रीन र ट्रम्पलम्यानले बाउन्ड्री प्रहार गर्दै खेल रोमान्चक मोडमा पुर्याए ।

Imageअन्तिम ओभरमा नामिबियालाई जितको लागि १२ रन चाहिएको अवस्थामा करण केसीले बलिङ गरेका थिए । सुरुवाती २ बलमा सिंगल दिएपछि करणले तेस्रो बलमा ग्रीनलाई बिट गरे । चौथो बल फ्याँक्ने क्रममा वाइड भयो । त्यसपछि ग्रीनले सिंगल लिए । पाँचौ बलमा करणले ट्रम्पलम्यानको विकेट लिए । अन्तिम बलमा स्कोल्जले चौका प्रहार गरेपनि नेपाल जित निकाल्न सफल भयो । समग्रमा ग्रीनले १३ बलमा ४ चौकासहित नटआउट २३ रन जोडे । ट्रम्पलम्यानले १२ बलमा १४ रन बनाए । त्यसअघि दोस्रो ओभरमा सोमपाल कामीले मलान क्रुगरलाई ३ रनमा आउट गरे । अर्का ओपनर माइकल भान लिगेंन १२ बलमा १० रन जोड्दै करण केसीको बलमा बोल्ड भए । उनी आउट हुँदा नामिबिया ३५/२ को स्थितिमा थियो ।
आठौं ओभरमा जेपी कोट्जे २२ बलमा २५ रन जोडेर पेभेलियन फर्किए । ४ चौका प्रहार गरेका उनी सोमपालको बलमा कट बिहाइन्ड भए । त्यसपछि जान फ्रिलिंक र जेजे स्मिटले चौथो विकेटका लागि ८३ रनको साझेदारी गर्दै नामिबियालाई जिततर्फ लम्काए । १७ औं ओभरमा नामिबिया १४९/४ को बलियो स्थितिमा थियो ।
कप्तान स्मिट अर्धशतक पूरा गर्नेबितिक्कै दीपेन्द्र सिंह ऐरीको शिकार बने । लङ अनमा अनिल शाहले डाइभ गरेर क्याच लिनुअघि उनले ६ चौका र २ छक्का प्रहार गरेका थिए । लगत्तै अर्को बलमा जान निकोल लफ्टि इटन गोल्डेन डक भए । डिप मिड विकेटमा सन्दीप जोराले राम्रो क्याच लिए ।

Image
अर्को ओभरको पहिलो बलमा अभिनाश बोहोराले फ्रिलिंकलाई बोल्ड गर्दै नेपाललाई खेलमा फर्काए । उनले २९ बलमा १ चौका र २ छक्कासहित ३७ रनको योगदान दिए ।
त्यसअघि पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८० रन जोड्यो । औसत सुरुवात गरेपनि मध्यक्रममा आरिफ शेख र कुशल मल्लले राम्रो साझेदारी गर्दै बलियो योगफलतर्फ पुर्याए ।
कुशलले ३६ बलमा १ चौका र ४ छक्कासहित नटआउट ५४ रनको योगदान दिए । आक्रामक सुरुवात गरेका उनको डेथ ओभरमा भने ठूलो सट खेल्ने प्रयास सफल हुन सकेन ।
ओपनर आसिफ शेख दोस्रो ओभरको पहिलो बलमा बेन शिकोंगोको शिकार बने । उनले २ बलमा १ रन जोडे । कप्तान रोहित ९ बलमा १० रन जोड्दै चौथो ओभरको चौथो बलमा क्याच आउट भए ।
ओपनर अनिल शाह सातौं ओभरको अन्तिम बलमा कट बिहाइन्ड भए । उनले १७ बलमा ३ छक्कासहित २३ रन बनाए । त्यसको २ बलपछि गुलशन झा पनि आउट भए । १६ बलमा १ चौका र ३ छक्कासहित २६ रन जोडेका उनी बर्नार्ड स्कोल्जको एलबीडब्लु धरापमा परे ।

Image
पाँचौ विकेटका लागि आरिफ र कुशलले ८५ रनको साझेदारी गर्दै नेपाललाई बलियो योगफलतर्फ लम्काए । आरिफ २४ बलमा ४ चौकासहित ३१ रन जोड्दै आउट भए । १७ औं ओभरमा ब्रेसलविरुद्ध ठूलो सट खेल्ने धुनमा उनी डिप मिड विकेट बाउन्ड्रीमा फ्रिलिंकको हातबाट समातिए ।
दीपेन्द्र ८ बलमा २ चौकासहित १६ रन जोड्दै शिकोंगोको एलबीडब्लु धरापमा परे । करण केसी ३ बलमा १ छक्कासहित ७ रन बनाएर पेभेलियन फर्किए ।

Image

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १६:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार