रोमाञ्चक खेलमा नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित 

बुधबार, फागुन १६, २०८०

काठमाडौं । दीपेन्द्रसिंह ऐरीको आक्रामक ब्याटिङको बाबजुद त्रिकोणात्मक टि२०आई सिरिजको दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपालमाथि २ रनको रोमान्चक जित दर्ता गरेको छ ।
नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २० ओभरमा ८ विकेट गुमाएर १ सय ८२ रनमा सिमित भयो । अन्तिम ३ ओभरमा ४८ रन चाहिएको अवस्थामा १८ औं ओभरमा आर्यन दत्तलाई १८ रन र १९ औं ओभरमा टिम भान डर गुग्टेनलाई १५ रन प्रहार गरेपछि नेपाल खेलमा फर्किएको थियो ।
अन्तिम ओभरमा नेपाललाई जितको लागि १५ रन चाहिएको थियो । दीपेन्द्रले भान डर मर्वको सुरुवाती दुई बललाई कभरको दिशामा चौका र छक्का प्रहार गरे । तेस्रो बलमा दोस्रो रन जोड्दा करण रनआउट भए ।


चौथो बलमा दीपेन्द्र बोल्ड भए । पाँचौ बलमा नयाँ ब्याटर प्रतिश जिसी बिट भए । अन्तिम बलमा ४ रन चाहिएको अवस्थामा लेग बाइमा १ रन जोड्दा नेपाल हार बेहोर्न पुग्यो ।
दीपेन्द्रले ३४ बलमा ६ चौका र ३ छक्कासहित ६३ रन जोडे । करण केसीले ७ बलमा १ छक्कासहित ११ रनको योगदान दिए । यी दुईले सातौं विकेटका लागि ५५ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए ।
ओपनर कुशल भुर्तेल इनिङको तेस्रो बलमा खाता नखोली कट बिहाइन्ड भए । दोस्रो विकेटका लागि आसिफ शेख र रोहित पौडेलले ६५ रनको साझेदारी गरे । आसिफ २३ बलमा ४ चौका र १ छक्कासहित ३४ रन जोडेर आउट भए । आठौँ ओभरको पहिलो बलमा भान डर मर्वलाई आक्रमण गर्ने धुनमा उनी स्टम्प आउट भए ।
१२ औं ओभरको दोस्रो बलमा कुशल मल्ल ७ बलमा ११ रन जोड्दै एंगलब्रेक्टको बलमा आउट भए । सोहि ओभरको अन्तिम बलमा रोहित पौडेल पनि पेभेलियन फर्किए । उनले ३६ बलमा ६ चौका र २ छक्कासहित ५० रन बनाए ।

Photo-(48)-1709109065.jpg

सन्दीप जोरा ८ रन जोड्दै भान डर गुग्टेनको एलबीडब्लु धरापमा परे । सोमपाल पहिलो बलमै क्याचआउट हुँदा नेपाल १२६(६ को स्थितिमा पुग्यो । त्यसपछि करण केसी र दीपेन्द्रसिंह ऐरीले बलियो साझेदारी गरेका थिए ।
त्यसअघि पहिलो ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन जोड्यो । नेदरल्यान्ड्सका ओपनर माइकल लेभिटले अर्धशतक प्रहार गरे ।
लेभिटले आक्रामक सुरुवात गर्दै नेपाललाई दबाबमा राखेका थिए । उनले ३६ बलमा ५ चौका र ३ छक्कासहित ५४ रन जोडे । नवौं ओभरमा कुशल मललाई आक्रमण गर्ने प्रयासमा उनी स्टम्पिङ आउट भए ।


त्यसअघि तेस्रो ओभरमा म्याक्स ओ डाउड ४ रन जोड्दै करण केसीको शिकार बने । स्कट एडवार्ड्सले १६ बलमा ५ चौकासहित ३३ रन जोडे । उनी रनआउट हुन पुगेका थिए ।
साइब्रान्ड एंगलब्रेक्टले ३८ बलमा नटआउट ४९ रन जोडे । उनले ४ चौका र १ छक्का प्रहार गरे । तेजा निदमनुरुले अन्तिम बलमा रनआउट हुनुअघि ३१ रन जोडे । उनले २४ बलको सामना गर्दै ३ चौका प्रहार गरे । नेपाल पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको थियो । अब तेस्रो खेलमा विहीबार नेदरल्यान्ड्स र नामिबिया खेल्नेछन् । त्यसपछि समूह चरणमा थप ३ खेल हुनेछन् ।
नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएका थिए । टोलीमा आज दुई परिवर्तन भएको छ । विवेक यादव र अभिनाश बोहोराको स्थानमा ललित नारायण राजवंशी र प्रतिश जिसी टोलीमा आएका छन् । नेदरल्यान्ड्सले टिम भान डर गुग्टेनलाई सिधै टि२० टोलीमा राखेको छ । उनी ओडीआई टोलीमा थिएनन् ।

नेपालको टोली  :
कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, ललित नारायण राजवंशी, प्रतिश जिसी

नेदरल्यान्ड्सको टोली  : 
म्याक्स ओ डाउड, स्कट एडवार्ड्स, आर्यन दत्त, साइब्रान्ड एंगलब्रेक्ट, नोआ क्रोस, वेस्ली बरेसी, भिभिएन किंग्मा, रोलफ भान डर मर्व, माइकल लेभिट, तेजा निदामानुरु, टिम भान डर गुग्टेन

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १८:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार