प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी

सोमबार, फागुन ७, २०८०

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । आइतबार राति भएको खेलमा युनाइटेडले लुटन टाउनलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।  युनाइटेडको जितमा दुवै गोल रासम होजलुन्डले गरेका हुन् । उनले खेल सुरु भएको पहिलो मिनेटमै गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । उनैले खेलको सातौं मिनेटमा एलेजेन्ड्रो ग्रान्चोको पासमा व्यक्तिगत दोस्रो गोल गरेपछि युनाइटेडले अग्रता दोब्बर बनाएको थियो ।
तर, खेलको १४ औं मिनेटमा कार्लटन मोरिसले लुटन टाउनका लागि गोल फर्काउँदै अन्तरकम गरेका थिए ।


पहिलो हाफको १५ मिनेट भित्र कुल ३ गोल निस्किए पनि बाँकी समयमा थप गोल नहुँदा अन्ततः युनाइटेड २–१ को जितका साथ तालिकामा ३ अंक थप्न सफल भयो । जितसहित युनाइटेड ४४ अंक बनाउँदै तालिकाको छैटौं स्थानमा रहेको छ भने पराजित भएको लुटन २० अंकका साथ १७ औं स्थानमा छ । प्रिमियर लिगकै अर्को खेलमा ब्राइटनले सेफिल्ड युनाइटेडमाथि ५–० को एकतर्फी जित दर्ता गरेको छ । पाँच मध्य एक गोल भने उपहार पाएको थियो ।  १३ औं मिनेटमा सेफिल्डका मेसन होलगेट रातो कार्ड पाउँदै मैदान छाडेपछि १० खेलाडीमा झरेको थियो ।
यसैगरी, फाकुन्डो बुओनानोटले २० औं मिनेटमा गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए । डेनी वेलब्याकले २४ औं मिनेटमा अग्रता दोब्बर बनाए । पहिलो हाफमा दुई गोल गरेको ब्राइटनले ७५ औं मिनेटमा एक गोल उपहार पायो । सेफिल्डका ज्याक रोविनसनले आफ्नै पोस्टमा गोल गरेपछि ब्राइटनले अग्रता तेब्बर बनायो । त्यस्तै, ७८ औं मिनेटमा सिमनो एडिंग्राले व्यक्तिगत पहिलो तथा टिमका लागि चौथो गोल गरे । उनैले व्यक्तिगत दोस्रो गोल ८५ औं मिनेटमा गर्दा ब्राइटनले सेफिल्डमाथि ५–० को सहज र फराकिलो जित निकाल्न सफल भयो । जितपछि ब्राइटन ३८ अंकका साथ तालिकाको सातौं स्थानमा छ । पराजित भएको सेफिल्डभने सबैभन्दा पुच्छारमा १३ अंकका साथ रहेको छ ।
प्रिमियर लिगको २५ औं चरणको खेल जारी रहँदा लिभरपुल ५७ अंकका साथ शीर्ष स्थानमा रहँदा दोस्रो स्थनमा रहेको आर्सनलको ५५ तथा तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ५३ अंक रहेको छ ।

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  ०७:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार