क्यानडामाथि नेपालको रोमान्चक जित

बिहीबार, माघ २५, २०८०

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडाविरुद्ध जारी एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा ७ रनको रोमान्चक जित निकालेको छ । 
कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको २ सय २५ रनको लक्ष्य पछ्याउने क्रममा क्यानडा ४८ औं ओभरमा २ सय १७ रनमा अलआउट भयो । ३३ औं ओभरमा १७४÷३ को स्थितिमा रहेको क्यानडाले अन्तिम ७ विकेट मात्र ४३ रनमा गुमायो ।

Image
मध्यक्रममा निकोलस किर्तन र पर्गत सिंहले अर्धशतक प्रहार गर्दै इनिङ सम्हालेपछि क्यानडाको जिततर्फ उन्मुख देखिएको थियो । तर नेपालका स्पिनरले अन्त्यतिर खेलमा फर्काउँदै रोमान्चक जित दिलाए । रोहित पौडेलले ४ विकेट लिँदै नेपालको जित पक्का गरेका थिए ।
यससँगै प्रशिक्षक मोन्टी देशाइको आगमनपछि नेपालले घरेलु ओडीआईमा अपराजित यात्रालाई कायम राखेको छ । नेपालले ३ खेलको सिरिजमा १–० को अग्रता पनि लिएको छ । दोस्रो खेल शनिबार र तेस्रो खेल सोमबार हुनेछ ।
नेपालले प्रस्तुत गरेको मध्यम लक्ष्य पछ्याउने क्रममा क्यानडाले सुरुवाती ६ ओभरमा २ विकेट गुमाए पनि त्यसपछि दुई ठूला साझेदारी गर्दै खेलमा पुनरागमन गरेको थियो । डेब्यु गरिरहेका बायाँ हाते बलर रिजन ढकालले नवनित धलिवललाई तेस्रो ओभरमा स्लिपमा क्याच गराए । उनले १० बलमा १ चौकासहित ६ रन जोडे ।

Image
छैटौं ओभरमा सोमपालले आरोन जोन्सनलाई एलबीडब्लु धरापमा पारे । उनले १५ बलमा ३ चौका र १ छक्कासहित २० रन बनाएका थिए । तर त्यसपछि तेस्रो विकेटका लागि निकोलस किर्तन र पर्गत सिंहले ७९ रनको साझेदारी गरे ।
२० औं ओभरमा पर्गत कप्तान रोहित पौडेलको बलमा क्याच आउट हुँदा साझेदारी तोडिएको थियो । तर त्यसपछि पुनः किर्तनले हर्ष ठाकरसँग बलियो साझेदारी निर्माण गर्दै जितको आधार तय गरे ।
ठाकरले ३३ औं ओभरमा कुशल मल्लको बलमा बोल्ड हुनुअघि ६० रनको साझेदारी गरे । उनले ४३ बलको सामना गर्दै ३२ रनको योगदान दिए । तर त्यसपछि नेपाली स्पिनरले लगातार विकेट लिँदै खेलमा फर्काए ।
हर्षको विकेट जानुअघि १७३÷३ को स्थितिमा रहेको क्यानडा त्यसपछि लगातार विकेट गुमाउँदा दबाबमा परेको थियो । ३८ औं ओभरमा श्रेयस मोभा १ रन जोड्दै रोहितको बलमा क्याच आउट भए । ४१ औं ओभरमा पवन सर्राफले किर्तनलाई बोल्ड गरेपछि नेपालले खेलमा फर्कने सम्भावना जगाएको थियो । किर्तनले ९९ बलमा ७ चौकासहित ६८ रन जोडे ।
४४ औं ओभरमा उदय भगवान रोहितको बलमा बोल्ड भए । त्यसपछि कप्तान साद बिन जफर ललित नारायण राजवंशीको एलबीडब्लु धरापमा पर्दा क्यानडा २०७÷८ को स्थितिमा पुगेको थियो ।
४७ औं ओभरमा ललितले हेलिगरलाई ३ रनमा एल्बीडब्लु आउट गर्दै जितनजिक पुर्‍याए ।  रोहितले ४८ औं ओभरको पाँचौ बलमा इश्वरजोत सोहीलाई बोल्ड गरेपछि नेपालले जित पक्का गरेको हो । 
नेपालका लागि कप्तान रोहितले ४ विकेट लिँदा ललित राजवंशीले २ तथा सोमपाल कामी, रिजन ढकाल, पवन सर्राफ र कुशल मल्लले १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० औं ओभरको अन्तिम बलमा अलआउट हुनुअघि २ सय २४ रनको योगफल खडा गरेको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ५८ बलमा ९ चौका र १ छक्का सहित सर्वाधिक ६२ रन बनाए । यस्तै आरिफ शेखले ३८ रनको योगदान गरे । 

Image
पहिलो विकेटका लागि ४८ रनको साझेदारी गरेपछि ओपनर आशिफ २४ बलमा ८ रन मात्र बनाएर १०औ ओभरको पहिलो बलमा उदय भगवानको बलमा थर्ड(म्यानमा क्याच आउट भए । कप्तान रोहित पौडेल पनि १७ बलमा ८ रन मात्र बनाएर १५औ ओभरमा इश्वरजोत सोहिको बलमा आउट भए ।
कुशल आउट हुने तेस्रो ब्याटर थिए । उनी १९औ ओभरमा  क्यानाडाका कप्तान साद बिन जफरको बलमा स्टम्प भएका थिए । भिम सार्की पनि सादकै बलमा १७ रन बनाएर २३औ ओभरमा पेभेलियन फर्किए ।
कुशल मल्लले मध्यम सुरुवात गरेपश्चात ३२ बलमा २० रन बनाएर हर्ष ठाकेरको बलमा लङ्ग(अनमा क्याच आउट हुन पुगे । आरिफ शेखले केही बेर इनिङ सम्हाल्दै ५० बलमा ४ चौका सहित ३८ रन बनाएर भगवानकै बलमा बोल्ड हुन पुगे । त्यसपछि आउट भएका र धेरै समय पछि राष्ट्रिय टोलीमा फर्किएका पवन सर्राफले १५ रन मात्र बनाउन सके ।  

Image
सोमपाल कामी २३ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २० रन बनाएर ४९औ ओभरमा ठुलो सट प्रहार  गर्ने क्रममा लङ(अनमा क्याच आउट भए । आज डेब्यु गरिरहेका रिजन ढकालले ४ रन बनाए ।  ललित नारायण राजबंशी १ रन बनाएर इनिङको अन्तिम बलमा रनआउट भए । डेब्यु गरिरहेका अर्का खेलाडी सुर्य तामाङ १० रनमा नटआउट रहे ।  
क्यानाडाका लागि उदय भगवानले ८ ओभरमा १ मेडनसहित ४० रन खर्चेर सर्वाधिक ३ विकेट लिए । कप्तान साद बिन जफरले १० ओभरमा ४४ रन खर्चेर २ विकेट लिए । यस्तै शाहिद अहमदजै, हर्ष ठाकेर र इश्वरजोत सोहीले समान १ विकेट लिए ।

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १८:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार