सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । तनहुँमा आफ्ना बरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको प्रहरीको धरपकडविरुद्ध प्रमुख प्रतिपक्षी कांग्रेसले सोमबार राजधानी उपत्याकासहित देशैभर शक्ति प्रदर्शन गरेको छ । दुई साता अगाडि कांग्रेस वरिष्ठ नेता पौडेललाई तनहुँमा एक पुल उदघाटनको क्रममा प्रहरीले नियन्त्रणमा लिएपछि सरकारविरुद्ध कांग्रेस तातिएको हो । नेता पौडेलले एउटा पुल उद्घाटन कार्यक्रम बिथोल्ने उद्देश्यसहित निषेधाज्ञा लगाएपछि त्यसको विरोधमा प्रदर्शनमा उत्रेका बेला पक्राउ गरी तीन घन्टा पछि छाडेको थियो । कांग्रेसले कोरोना भाइरस महामारीविरुद्ध सरकारको उपस्थिति फितलो बनेको तथा सरकार तथा उसका मन्त्रीहरु भ्रष्टाचारमा लिप्त भएको विषयलाई पनि विरोध प्रदर्शनका मागका रुपमा उठाएको छ । निकै लामो समयदेखि प्रमुख प्रतिपक्षी दल कांग्रेसमाथि एउटा प्रमुख आरोप लाग्दै आएको थियो सरकारविरुद्ध उसले विरोधको आवाज निकाल्न सकेन । कांग्रेस निस्क्रिय रहँदा सरकार एक पछि अर्काे गरी जनविरोधी गतिविधिमा सहभागी भएको जनताको गुनासोका बीच सोमबारको प्रदर्शन भएको हो । सोमवार उसले सरकारविरुद्ध देशभरै प्रदर्शन गरी आफ्नो उपस्थिति देखाएको छ ।
सोमवारको देशव्यापी प्रदर्शन तनहुँ घटनाका कारण मात्र नभइ उसले दशैँ अगाडि देखि नै सरकारविरुद्ध गर्दै आएको खबरदारीको परिणाम भएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए । कांग्रेसले तत्काल उठाएको माग चाहिँ सरकारलाई सत्तारुढ दलको घर झगडामा मात्र केन्द्रित नभइ देशका सामु तेर्सिएका समस्यामा ध्यान केन्द्रित गराउनु रहेको छ । ‘यत्रो ठूलो महामारी छ । यसबाट सिर्जित तमाम समस्या छन् । तर सरकारको ध्यान भने कता हो कता छ । हामी सरकारको ध्यान मूल विषयमा मोड्न चाहन्छौँ’ प्रवक्ता शर्माले भने । देशव्यापी प्रदर्शनको पूर्वसन्ध्यामा आइतबार विज्ञप्ति जारी गर्दै पार्टी सभापति शेरबहादुर देउवाले सोमवारको प्रदर्शन साङ्केतिक सुरुवात मात्र हुने र आगामी दिनमा सडकदेखि संसद्मा उनको दलले तीव्र दबाब दिने घोषणा गरेका थिए । ‘प्रतिपक्षका रूपमा कांग्रेसले निरन्तर शालीन, संवादमैत्री र जिम्मेवार भूमिका निभाउँदै आयो तर वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता ग¥यो भने अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकाङ्क्षामा आफूलाई केन्द्रित गर्दै लग्यो’ शर्माको आरोप छ । राजावादीको प्रदर्शनपछि कांग्रेसपनि सडकमा संसद्मा झण्डै दुई तिहाई निकटको बहुमतका साथ गठित वर्तमान सरकार अहिले आन्तरिक कलहको भुमरीमा परेको छ । आज फुट्ने हो कि भोलि फुट्ने हो भन्ने जस्तो स्थिति सत्तारुढ दलको देखिन्छ भने त्यसको प्रत्यक्ष चपेटामा सरकार परेको छ । अहिलेसम्म आन्तरिक कलह नै प्रधान चुनौतीका रूपमा बेहोरिरहेको सरकारलाई प्रमुख विपक्षी दल पनि सकडमै आएर प्रदर्शन थालेपछि अब विस्तारै बाह्य चुनौती पनि थपिँदै गएको देखिन थालेको छ । गत साता देशका विभिन्न ठाउँमा राजावादीहरूले प्रदर्शन गरेका थिए । यही समय वर्तमान व्यवस्थाको विरुद्ध विद्रोहमा उत्रिएको विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीले पनि गतिविधि तेज बनाइरहेको छ । प्रमुख प्रतिपक्षी दल पनि सडकतिर लम्किएको छ । तर यी घटनाहरू एकैपटक हुनुमा कुनै साइनो नभएको कांग्रेस प्रवक्ताको भनाइ छ । ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई सबैको विश्वासको थलो बनाउन सबै पक्षले रूपान्तरित ढङ्गले काम गर्नुपर्छ । सरकारले गर्नुपर्ने काम गरेन भने सरकारप्रतिको वितृष्णाको अतिरञ्जनापूर्ण दुरुपयोग हुनसक्ने खतराहरू हुन्छ । त्यसैले सरकारलाई दबाब दिनुपर्ने प्रतिपक्षको दायित्व हामीले निर्वाह गरिहेका छौँ’, उनले भने । महामारीको बेला कस्तो सावधानी ?
सरकार तथा विज्ञहरूले अहिले भिडभाड नगर्न र गरेमा कोरोनाभाइरसको सङ्क्रमण झनै फैलन सक्ने भन्दै चेतावनी दिँदै आएका छन् । यस्तो बेला सरकारलाई सङ्क्रमणसँग जुझ्न नसकेको भनेर औँला उठाउने दल स्वयंले ठूल्ठूला जुलुस र प्रदर्शन गर्न लागेको प्रति कतिपयले प्रश्न गरिरहेका छन् । तर कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो विज्ञप्तिमा प्रदर्शनका बेला सहभागीहरूलाई भौतिक दूरी कायम गर्न र मास्क लगाउन पनि आह्वान गरेका थिए । ‘प्रदर्शनमा जानुपर्ने हाम्रो जिम्मेवारी अनि कोरोना भाइरस महामारीको प्रतिकुलतालाई सन्तुलन गरेर सुरक्षित र सावधान तरिकाले प्रदर्शन गर्ने भनेका छौँ । यसको अनुगमन वा पालना गर्ने कर्तव्य भने हामी सबैको नै रहनेछ’ प्रवक्ता शर्माले भने ।