नेपाल भारतसँग १३२ रनले पराजित, सुपर सिक्सकाे यात्रा विना अंक समाप्त 

शनिबार, माघ २०, २०८०

काठमाडौं । आइसिसी यू–१९ विश्वकपमा नेपालले अन्तिम खेलमा भारतविरुद्ध फराकिलो हार बेहोरेको छ । दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा भएको सुपर सिक्स चरणको अन्तिम खेलमा नेपाल भारतसँग १ सय ३२ रनले पराजित भएको हो । २ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि कप्तान देव खनालले ५३ बलमा २ चौका सहित सर्वाधिक ३३ रन बनाए । उनी ३९औं ओभरमा नवौं विकेटका रुपमा पेभेलियन फर्किएका थिए । १०औं र ११औं नम्बरमा क्रिजमा आएका आकाश चन्द र दुर्गेश गुप्ताले अन्तिम विकेट बचाएर खेल्न सफल भए । आकाश चन्दले ३५ बलमा १८ रन बनाएर नटआउट रहे । यस्तै दुर्गेश गुप्ताले ४३ बलमा २ चौका र १ छक्का सहित २९ रनमा नटआउट रहे ।
यस्तै ओपनर अर्जुन कुमालले ६४ बलमा २६ रन बनाए । अर्का ओपनर दीपक बोहोराले ५२ बलमा २२ रन जोडे । अन्य ब्याटरले दोहोरो अङ्क समेत छुन सकेनन् । ४८ रनमा पहिलो विकेट खसेको नेपालले त्यसपछि नियमित अन्तरालमा विकेट गुमाउँदा सानो स्कोरमा इनिङ समाप्त गर्यो ।
भारतका लागि सौमी पाण्डेले १० ओभरमा २९ रन खर्चिदै सर्वाधिक ४ विकेट लिए । यस्तै अर्शिन कुलकर्नीले २ तथा राज लिम्बानी, आराध्य शुक्ला र मुरुगन अभिषेकले समान १ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ९७ रनको विशाल योगफल खडा गरेको थियो। भारतका लागि सचिन दासले सर्वाधिक १ सय १६ रनको शतकीय इनिङ खेले । उनले १ सय १ बल खेलेर ११ चौका र ३ छक्का प्रहार गरेका थिए । यस्तै कप्तान सहरानले पनि १ सय ७ बलमा ९ चौका सहित १ सय रनको शतकीय इनिङ खेले ।
चौथो विकेटका लागि कप्तान उदय साहारन र सचिन दास मिलेर २ सय १५ रनको साझेदारी गरेका थिए । सचिन दास ४८औं ओभरमा गुलशनको बलमा क्याच आउट भएपछि सो साझेदारी तोडिएको थियो । उदय भने अन्तिम ओभरमा गुलशनकै बलमा आउट भएका थिए ।
भारतका सुरुवाती ब्याटर आदर्श सिंह १८ बलमा २१ रन प्रहार गर्दै गुलशनको बलमा पाँचौं ओभरमा विकेटकिपर उत्तम मगरको हातबाट क्याच आउट भएका थिए ।
यस्तै त्यसपछि आउट हुनेमा तेस्रो नम्बरमा आएका प्रियंशु मोलिया थिए । उनी १४औं ओभरमा १९ रन बनाएर रनआउट भएका थिए ।
सोही ओभरमा आकाशले अर्का ओपनर अर्शिन कुलकर्नीलाई १८ रनमा आउट गरे । सो विकेटमा पनि उत्तमले क्याच आउट गराएका थिए । मुशिर खान ९ रनमा र अराभेली अवानिश शून्यमा नटआउट रहे ।
नेपालका लागि गुलशन झाले १० ओभरमा ५६ रन दिंदै ३ विकेट लिए । आकाश चन्दले ९ ओभरमा ६५ रन खर्चिदै १ विकेट लिए ।
हार सँगै नेपालले सुपर सिक्स चरणमा विना अंक यात्रा समाप्त गरेको छ । समूह चरणमा न्यूजिल्याण्ड र पाकिस्तान विरुद्ध हार बेहोरेको नेपाल तेस्रो खेलमा अफगानिस्तानलाई‌ हराउँदै सुपर सिक्समा पुग्न सफल भएको थियो । सुपर सिक्सको पहिलो खेलमा बंगलादेश विरुद्ध नेपाल पराजित भएको थियो ।

प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  ०५:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार