नेपाललाई भारतको विशाल लक्ष्य,  दुई ब्याटरले बनाए शतक

शुक्रबार, माघ १९, २०८०

काठमाडौं । कप्तान उदस सरन र सचिन दासको शतकको सहायतामा भारतले आईसीसी यू–१९ विश्वकपमा नेपाललाई २९८ रनको लक्ष्य दिएको छ । 
शुक्रबार दक्षिण अफ्रिकाको मनगंग ओभलमा टस जितेर ब्याटिङमा आएको भारतले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर २९७ रनको योगफल खडा गर्‍यो।
भारतका सचिनले ११६ रन बनाए । उनले १०१ बलमा ११ चौका र तीन छक्का प्रहार गरे । ६२–३ को कठिन अवस्थामा ब्याटिङका लागि आएका सचिनले कप्तान उदयसँग २१५ रनको कीर्तिमानी साझेदारी गर्दै भारतलाई बलियो योगफलसम्म पुर्‍याए । युवा विश्वकपमा भारतले चौथो विकेटका लागि बनाएको यो नै अहिलेसम्मकै उच्च साझेदारी हो ।
सचिनसँगै शतक बनाएका कप्तान उदयले १०० रन बनाए । उनले १०७ बलमा नौ चौका प्रहार गरे । यसबाहेक, आदर्श सिंहले २१, प्रियान्सु मोलियाले १९ र अर्सिन कुलकर्णीले १८ रन बनाए ।
नेपालका गुल्सन झाले तीन विकेट लिए । १० ओभर बलिङ गरेका उनले ५६ रन खर्चिए । आकाश चन्दले एक विकेट लिँदा नेपालले अर्को एक विकेट भने रनआउटबाट निकालेको थियो ।
जारी युवा विश्वकपमा अपराजित भारतले प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाइसकेको छ । यता, नेपालले भने प्रतियोगितामा हालसम्म एक खेलमा मात्रै जित निकालेको छ । यसअघि सुपर सिक्सको पहिलो खेलमा बंगलादेशसँग नेपाल पाँच विकेटले पराजित भएको थियो ।
समूह चरणको खेलमा भने नेपाल न्युजिल्यान्डसँग ६४ रन र पाकिस्तानसँग पाँच विकेटले पराजित भएको थियो । तर, अन्तिम खेलमा अफगानिस्तानविरुद्ध एक विकेटको जित निकाल्दै नेपालले सुपर सिक्समा स्थान बनाएको थियो ।

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १७:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार