बंगलादेशलाई नेपालको सामान्य लक्ष्य, जितका लागि बंगलादेशले १७० रन बनाउनु पर्ने

बुधबार, माघ १७, २०८०

काठमाडौं । आइसीसी यू १९ विश्वकप अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले बंगलादेशलाई १ सय ७० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले १ बल बाँकी हुँदा अलआउट हुँदै १ सय ६९ रन जोड्यो । नेपालका लागि मध्यक्रमका ब्याटर विशाल विक्रम केसीले सर्वाधिक ४८ रनको योगदान दिए । १ सय बलको सामना गर्दै ६ चौका प्रहार गरेका विशाल ४३ औं ओभरमा आठौं विकेटको रुपमा आउट भएका थिए ।
खराब सुरुवात गरेको नेपाललाई विशाल र कप्तान देव खनालको साझेदारीले उकासेको थियो । विपिन रावल चौथो ओभरको पाँचौ बलमा मरुफ मृधाको बलमा मोहम्मद रिजवान चौधरीको हातबाट स्लिपमा क्याच आउट भएका थिए । उनले १२ बल खेलेर २ रन बनाए ।


त्यसपछि आकाश त्रिपाठी १३ बलमा ३ रन बनाएर इक्बाल होसेन इमोनको बलमा आउट भए । आठौं ओभरको पाँचौ बलमा रिजवानकै हातबाट क्याच आउट भए ।
अर्जुन कुमाल भने रोहानत बोर्सोनको बलमा नवौ ओभरको तेस्रो बलमा २६ बलमा २ चौका सहित १४ रन बनाएर मृधाको बलमा क्याच आउट भए । तर चौथो विकेटका लागि विशाल र देवले ६२ रनको साझेदारी गरे ।
देव ६० बलमा ३ चौकासहित ३५ रनमा आउट भए । जिशन आलमको बलमा उनी कभरमा क्याच भएका थिए । त्यसपछि विशालले एकतर्फ रन जोड्दा अर्कोतर्फ लगातार विकेट खसेपछि नेपालको इनिङले गति लिन सकेन ।
गुलशन झा, दिपक बोहोरा र दीपेश कँडेल समान ३–३ रनमा आउट भए । आकाश चन्द पहिलो बलमै एलबीडब्लू धरापमा परे । सुभाष भण्डारीले ३४ बलमा १८ रनको योगदान दिए । दुर्गेश गुप्ताले १ बल बाँकी रहँदा क्याचआउट हुनुअघि १४ बलमा १ छक्कासहित ९ रन जोडे ।
बंगलादेशका लागि रोहनत बोर्सोन र शेख जिबोनले ३–३ विकेट लिए । इकबाल हुसेन, मरुफ म्रिधा र जिशान आलमले १–१ विकेट हात पारे ।

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १७:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार