मुगुको सोरुमा भाइरल ज्वरोको प्रकोप, एउटै वडाका ३ जनाको मृत्यु,पालिकाभर बिरामी 

शुक्रबार, माघ १२, २०८०

मुगु । हिमाली जिल्ला मुगुको सोरुगाँउपालिका–६ पुरुमुरु गाँउमा सिजनल भाइरल ज्वरोका कारण पछिल्लो एक सातामै ३ जनाको मृत्यु भएको छ ।  भाइरल ज्वरोका कारण एक सातामै ३ जनाको मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चरित्र धामीले बताए । उनका अनुसार भाइरल ज्वरोका कारण ७२ वर्षीय हरिबहादुर शाही, ७५ वर्षीया कृति छन्त्याल र २४ वर्षीया कुसुम ढोलीको ज्यान गएको हो ।  ‘सुरुमा रुघाखोकी लागेको थियो । नजिकै मेडिकलबाट औषधि ल्याएर खुवाउँदा पनि ज्वरो निको नभएपछि जिल्ला अस्पताल लैजाँदै थियौँ,’ कुसुमका ससुरा सलबहादुर ढोलीले भने, ‘अस्पताल पु¥याउनै पाएनौँ ।’कुसुम उनकी माइली बुहारी हुन् ।  मृतक तीनै जनामा एकै किसिमको लक्षण देखिएको छ । ज्वरो आउने,रुघाखोकी,जिउ दुख्ने,खाना खान मन नलाग्ने जस्ता लक्षण देखिएकोस्वास्थ्य शाखा प्रमुख धामीले बताए । 
उनका अनुसार गाउँपालिकाका ९ वटै वडामा उस्तै प्रकृतिका लक्षण देखिएका बिरामी बढ्न थालेका छन् । वडा नं. ६ र ७ मा प्राय सबै घरैपिच्छे भाइरल ज्वरोका बिरामी छन् । 
पुरुमुरु,जिमा,भिई,नार्थपु,सिप,ख्याल्च, वुम्च लगायतका दर्जनबढी बस्तीमा भाइरल ज्वरो फैलिएको छ । बिरामीहरुमा ज्वरो आउने,रुघा खोकी,जिउ दुख्ने,खाना खान मन नलाग्ने, श्वास फेर्न गारो हुने,टाउको दुख्ने र नाक मुख सुख्खा हुनेलगायतका लक्षण देखिएको छ ।  ‘सुरुमा हामीलाई पनि योबारे जानकारी आएन । सामान्य ज्वरो र रुघाखोकी त हो भनेर प्राय सबै घरमै बस्नुभएछ । हामीले ७ गतेमात्र पालिकामा विशेष गरी वडा नं. ६ र ७ मा धेरै जना एउटै प्रकृतिका लक्षण भएका बिरामी बढे भन्ने खबर पायौं,’स्वास्थ्य शाखा प्रमुख धामीले भने, ‘अहिलेगाउँभरि बिरामी परेका छन् । हामीले पनि उपचारलाई प्राथमिकतामा राखेर काम थालेका छौँ ।’ पालिकाले जिल्ला अस्पताल मुगुसँग सहकार्य गरेर डाक्टरसहितको टोलीलाई बोलाएर बिरामीको परीक्षण गराएको शाखा प्रमुख धामीले बताए ।


‘अहिले यही समस्या हो भनेर बोल्ने स्थिति छैन । परीक्षण भइरहेको छ । रिपोर्ट आउन बाँकी छ,’ टोलीमा संलग्न जिल्ला अस्पतालका डाक्टर कमल ढुंगानाले भने ।  उनले अघि थपे, ‘हामीले लक्षणको आधारमा कोभिड –१९, मलेरिया,औँलो, स्क्रब टाइफसलगायतसमेत चेक ग¥याँै। बिरामीमा त्योमध्ये कुनै पनि भाइरसदेखिएन । केहीबिरामीको रगत र स्वाब परीक्षणको लागि पठाएका छाँै,त्यसको रिपोर्र्ट आएपछि मात्र कुन भाईरस हो भन्न सकिन्छ ।तर, बिरामीका लक्षण हेर्दा मौसमी भाइरस हुन सक्छ ।’ मंगलबार मात्रै पुरुमुरु र जिमा गाउँमा ११८ जना बिरामीको परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ । उनीहरु मध्येबाट नमुना जाँचका लागि खकार,स्वाव र रगत परीक्षणका लागि नेपालगञ्ज पठाइएको डाक्टर ढुंगानाले बताए । 
उनका अनुसार अब थप चार जना बिरामीको अवस्था गम्भीर छ । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  ०५:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार