स्थायी कमिटि बैठकमा ओली सहभागी हुने

आइतबार, मंसिर २८, २०७७


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमतिको प्रयास सकारात्मक दिशातर्फ बढेको छ । पार्टी बैठकमै नआउने अडान लिएका ओली आइतबार बस्ने स्थायी कमिटी बैठकमा सहभागी हुँदैछन् । स्थायी कमिटी सदस्य सुवास नेम्वाङले आजको बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली सहभागी हुने जानकारी दिए । 
हिजो प्रचण्डलाई भेटेर ओलीनिकट स्थायी कमिटी सदस्य शंकर पोखरेलले सहमतिको बिन्दुका बारेमा छलफल गरेका थिए । ओलीको सन्देश लिएर पोखरेल प्रचण्डलाई भेट्न पुगेका थिए । प्रचण्डको जवाफपछि ओली बैठकमा आउन सकारात्मक भएको बुझिएको छ ।
यसअघि ओलीले पार्टी सचिवालयमा प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन फिर्ता लिनुपर्ने अडान राख्दै आएका थिए । उनले प्रस्ताव फिर्ता नलिएसम्म बैठकमा नजाने अडान राखेका थिए ।
ओली बैठकमा सहभागी हुने भएपछि नेकपा विवाद समाधानोन्मुख भएको अर्थ लगाउन थालिएको छ । पछिल्लो समय ओलीले प्रचण्डसँग सहमति निकाल्न प्रयास गर्दै आएका छन् । कतिपयले ओली बैठकमा सहभागी हुनुलाई उनीमाथि दबाब बढेकाले वाध्यता बनेको समेत विश्लेषण गर्न थालेका छन् ।
प्रधानमन्त्री ओली पार्टी स्थायी कमिटीको आइतवारको बैठकमा सहभागी हुनुका तीनवटा प्रमुख कारण रहेको उनी निकट नेताले बताएका छन् ।
कारण १ः   एजेन्डाको आवरण परिवर्तन ?
अघिल्लो स्थायी कमिटीले बैठकको ‘आन्तरिक समस्या’ भनेर छलफलको एजेन्डा निर्धारण गरेको ओली निकट नेता सुवास नेम्वाङले जानकारी दिए ।  यसअघि प्रचण्डले प्रस्तुत गरेको दस्तावेजलाई अभियोग पत्रको सङ्ज्ञा दिँदै त्यसमा छलफल हुन नसक्ने प्रधानमन्त्रीको अडान थियो । अब सिधै त्यसमा छलफल नभएर पार्टीको ‘आन्तरिक समस्या’ मा छलफल हुनेछ । त्यो भनेको प्रधानमन्त्रीले असहमति जनाएको विषय सिधै एजेन्डामा परेन ।

तर के त्यसमा अब छलफल हुँदैन? 
जति दस्तावेजहरू छन् ती सबै ‘सन्दर्भ–सामग्री’ बनेको नेता नेम्वाङको भनाइ छ । स्थायी कमिटीमा पनि सन्दर्भ सामग्री घोषणाको प्रसङ्ग उठेको उनले बताए ।
बैठकमा प्रचण्डले जनाएको प्रतिक्रिया सुनाउँदै उनी भन्छन्, ‘शब्द उताउतामा नजाऔँ, हाम्रो एजेन्डा आन्तरिक समस्या हो, यो सन्दर्भमा सबै कुरा आइहाल्छन्, स्थायी कमिटीले नयाँ प्रस्ताव पनि पास गर्न सक्छ भन्नुभएको थियो । अब कसरी छलफल हुन्छ हेरौँ ।’
ओलीको विपक्षमा रहेका नेताहरूले सबै दस्तावेजहरूमा छलफल हुने अडानमा छन् ।

कारण २: धुम्वाराहीबाट बालुवाटार
धुम्वाहारीमा रहेको पार्टी केन्द्रीय कार्यालयमा स्थायी कमिटीको अघिल्लो बैठकले फेरि त्यहीँ बस्ने गरी स्थगित भएको थियो । आइतवार त्यो बैठक धुम्वाराहीमा नबसेर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सारियो । यसअघि पनि धुम्वाराहीमा भएको नौ सदस्यीय सचिवालय बैठक वालुवाटारमा सार्ने गरिएको थियो । त्योभन्दा पाँच गुणा ठूलो आकारको स्थायी कमिटीका सदस्य र उनीहरूका सुरक्षाकर्मी लगायतको उपस्थिति हुने गरि धुम्वाराहीमा बैठक गर्न ठिक नहुने स्वास्थ्यकर्मीहरूको राय रहेको नेम्वाङले बताए । उनका अनुसार ‘त्यो समेतलाई ध्यानमा राखेर’ प्रधानमन्त्रीले ध्यानाकर्षण गराएका थिए र बैठक वालुवाटार सारियो ।

कारण ३ः लामाप्रति श्रद्धाञ्जली
नेकपाका नेता कमानसिंह लामाको निधन स्थायी कमिटी बैठकको नयाँ एजेन्डा बनेको छ । बैठकले उनको निधनमा शोक व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जली प्रकट गर्ने बताइएको छ ।
नेम्वाङ् भन्छन्, ‘त्यो मात्रै एजेन्डा राखौँ भन्ने हाम्रो भनाइ छ । यी सबै सन्दर्भलाई ध्यानमा राख्दा प्रधानमन्त्री बैठकमा नजाने त प्रश्नै छैन ।’ त्यसो भएमा बैठक औपचारिकतामा सीमित बन्न पुग्नेछ र विवाद समाधानको निम्ति थप परामर्श र तयारीको निम्ति समय थपिने छ । दुवै पक्षले आआफ्ना पक्षका भेलाहरू देशका विभिन्न ठाउँमा गर्न थालेका खबर आइरहेका छन् ।कतिपयले त्यसलाई नेकपा एकताभन्दा विभाजनतर्फ अघि बढेको सङकेत ठानेका छन् ।
 

प्रकाशित मिति: आइतबार, मंसिर २८, २०७७  १३:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार