चार अन्तर्राष्ट्रिय विमानस्थल ‘पीपीपी मोडल’मा सञ्चालन गरिने

मंगलबार, माघ ९, २०८०

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले निजगढसहित चार अन्तर्राष्ट्रिय विमानस्थललाई पीपीपी (पब्लिक प्राइभेट पार्टनरसीप) मोडलमा सञ्चालन गर्न दिनेबारे अध्ययन गर्ने तयारी भइरहको बताएका छन् ।  मंगलबार प्रतिनिधिसभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री किरातीले यस्तो बताएका हुन् । उनले भने, ‘चार वटालाई नै बण्डलिङ गर्ने र त्यसले निश्चित समयभित्र नयाँ एयरपोर्ट पनि बनाउने हो । सुरक्षाको प्रबन्ध नेपाल सरकारले गर्छ । अरु पीपीपी मोडलबाट सञ्चालन गर्दा कसो होला भनेर हामीले अध्ययन समिति बनाउँछौं ।’ 

भैरहवा, पोखरा विमानस्थलको व्यवस्थापन फरक फरक संस्थालाई दिँदा समन्वय गर्न सहज नभएको भन्दै उनले यसबारे मन्त्रालयगत नभइ राष्ट्रिय सहमति खोज्नुपर्ने बताए ।  नेपाल बाहेकका देशहरुमा समेत पब्लिक प्राइभेट पार्टनरसीपकै माध्यमबाट काम भइरहेको बताउँदै उनले भने, ‘जहाँसम्म नेपालमा सुरक्षाको प्रश्न देखाइन्छ, त्यो पुरानो कुरा हो । सबभन्दा थ्रेट त नेपाललाई भन्दा दिल्लीलाई छ नि । दिल्ली त चलाइराखेका छन् । सिंगापुर पनि त्यसरी नै चलेका छन् ।’ यसअघि समितिमा नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशका कयौं विमानस्थलहरु गौचरणका रुपमा परिणत भइसकेका भन्दै ती विमानस्थलहरुमा व्यवसायिक उडान सम्भव नभएको बताए ।  उनले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता नभएको बताए । साथै विमान किन्दादेखि व्यवस्थापनसम्ममा समस्या भइरहेको औंल्याए ।

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १६:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार